असार २४, २०८२ मंगलबार July 8, 2025

ज्वरोका बिरामी बढ्न थालेपछि विद्यालय ५ दिनका लागि बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मौसम परिवर्तन, गर्मी याम बढ्नु तथा अस्वस्थकर खानेकुराका कारण अछामका विभिन्न ठाउँमा बिरामीको सङ्ख्या बढ्न थालेको छ । समुदायमा बिरामीको सङ्ख्या बढ्नु तथा विद्यार्थीहरू नै बिरामीको चपेटामा परेपछि अछामका विद्यालय प्रभावित हुन थालेका छन् ।

समुदायका व्यक्ति तथा विद्यार्थी बिरामी पर्न थालेपछि जिल्लाको बान्निगढि जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा रहेको  ऐश्वर्य माध्यमिक विद्यालय ४ दिनका लागि बन्द गरिएको छ । विद्यालयमा विद्यार्थीमा एक्कासि अज्ञात देखिएपछि चैत्र  १६ गतेसम्मका लागि पठनपाठन बन्द गरिएको विद्यालयले जनाएको छ ।

विगत एक सातादेखि दैनिक जसो विद्यार्थीमा ज्वरो आउने, पेट दुख्ने, वान्ता गर्ने, टाउको दुख्ने, एक्कासि मुर्छा पर्ने लगायतका लक्षण देखिएपछि बान्नोगढी जयगढ गाउँपालिका, वडा सरकार, स्वास्थ्य शाखा, विद्यालय व्यवस्थापन समिति र अभिभावकको समन्वयमा चैत्र १२ गतेदेखि १६ गते सम्मका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक हिक्मत बहादुर थापाले बताउनु भयो ।
विद्यार्थीहरूमा देखिएको रोगको लक्षण कम नभएपछि र बिरामी बढ्दै गएपछि सबैको समन्वयमा विद्यालयको आन्तरिक प्रशासनिक तथा कार्यालयीय काम मात्रै सञ्चालन गर्ने गरी पठनपाठन बन्द गरिएको प्रधानाध्यापक थापाको भनाई छ ।
विद्यालयमा रोग देखा परेपछि दर्ना स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलीले चेकजाँच सहित बिरामीको उपचार समेत गरेको छ । स्वास्थ्यकर्मीको टोलीले विद्यालयमै गएर उपचार सहित चेकजाँच गर्नुका साथै आवश्यक औषधिको समेत व्यवस्था गरेको छ ।
यता गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीले विद्यालयका विद्याथीहरुमा एक्कासि यस्तो रोग देखा परेको खबर आउना साथ उनीहरूको उपचारका लागि स्वास्थ्य शाखा मार्फत आवश्यक र उपलब्ध औषधिको व्यवस्थापन गरी पठाएको जानकारी दिनुभयो ।
पालिकाले भ्याए सम्म गर्न सक्ने  सहयोग र समन्वय गर्दै रोग नियन्त्रणका लागि पहल गरिने बताउनु भयो । साथै उहाँले विद्यार्थीहरुलाई नआत्तिन, स्वास्थ्यकर्मीको सुझाव अनुसार स्वस्थ व्यवहार गर्न आग्रह समेत गर्नु भयो ।
यस अघि अछामको मङ्गलसेन नगरपालिका वडा नम्बर १० जुपुमा भाईरस ज्वरोको प्रकोप बढेपछि कालिका माध्यमिक विद्यालय पनि फागुन १७ गतेदेखि २१ गतेसम्म बन्द गरिएको थियो ।
यो बर्ष हिउँदमा पानी नपरेको, एक्कासि गर्मी बढेको र मौसम परिवर्तनको समय भएकाले स्वास्थ्य तथा सरसफाइमा ध्यान दिन चिकित्सकले आग्रह गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया