असार २२, २०८२ आइतबार July 6, 2025

‘उहाँहरू आफैं क्लियर हुनुहुन्‍न, हामीलाई जबर्जस्ती तान्‍न खोज्‍नुहुन्छ’ – महन्त ठाकुर (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाईं राजनीतिको केन्द्रमा देखिनुहुन्छ, छलफलहरू भइरहेका छन्, ती छलफल कसरी अगाडि बढेका छन् ?

अहिलेसम्म कुनै परिणाम आएको छैन, छलफल छलफलकै चरणमा मात्रै छन् ।

सरकार र सरकारबाहिरका नेताहरूसँगको समानान्तर छलफलमा कताको पल्ला भारी छ ?

सरकारसँग हाम्रा मुद्दामा केन्द्रित छौं । हाम्रा जनप्रतिनिधि, प्रदेश मन्त्री, केन्द्रीय सदस्यहरूमाथि मुद्दा छ, कतिपय तारिखमा छन्, कतिपय जेलमा छन् । रेशम चौधरीको मुद्दा सर्वोच्चमा छ । यी सबै विषयमा कुराकानी भएको छ । अहिले सरकारले मुद्दा फिर्ता लिन निर्देशिका तयार पारेको छ । हामीले त्यो भरेर सरकारलाई पठाउने हो । यी सबै मुद्दा टुंग्याऔं अनि बल्ल अरू विषयमा छलफल गरौंला भनिएको छ ।

अहिले सरकारसँग तपाईंहरूको संवाद मुद्दाकेन्द्रित हो कि अरू विषय पनि छन् ?

संविधान संशोधनको ड्राफ्ट आएपछि पश्चिमबाट आन्दोलन सुरु भयो । हामीले उठाएको जनआन्दोलनको एजेन्डा र अन्तरिम संविधानले स्वीकार गरेको व्यवस्थामा पनि सहमति भएन । हामीले उठाएको पहिचानको मुद्दा सम्बोधन गरिएन । त्यसपछि हामीले मधेसमा आन्दोलन उठायौं, धेरै मानिस सहिद भए । त्यसैले हाम्रो ध्यान नै त्यता छ ।

कांग्रेस र माओवादी नेताहरूसँग पनि तपाईं संवादमै हुनुहुन्छ । त्यतातिरको संवाद कस्तो चलिरहेको छ ?

नेताहरूसँग कुरा भएको छ । अहिले पनि कतिपय नेताहरूले कुराकानी गर्न समय माग्नुभएको छ । हिजो (आइतबार) रामचन्द्रजी आउनुभएको थियो । त्यस्तै प्रचण्डजीसँग पनि कुराकानी भएको छ । हाम्रो जुन एजेन्डा छ, त्यो सम्बोधन नभएसम्म चाहे वर्तमान सरकारसँग होस् वा गठबन्धनको सरकारसँग होस्, हामी जाने कुरा हुँदैन । उहाँहरूमा क्लियारिटी छैन ।

माओवादी केन्द्र आफूचाहिँ सरकारलाई समर्थन गरिरहेको छ, कांग्रेसका सभापति शेरबहादुर देउवाजीले कुनै किसिमको अविश्वासको समर्थन पनि गर्दैनौं, प्रधानमन्त्री बन्ने अफर आयो भने म विचार गर्छु भन्नुभयो । उहाँले जान्छु पनि भन्नुभएन, विचार गर्छु भन्नुभयो । अस्ति नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय भयो रे भन्ने सुनें । नेपाली कांग्रेसमा कसको नेतृत्वमा सरकार बनाउने भन्ने खुलेको छैन । उहाँहरूले आफ्नो बाटो क्लियर गर्नुभएको छैन तर हामीलाई त्यता तान्नुहुन्छ । त्यसकारण हामी त्यता जाने परिस्थिति बनेको छैन ।

तपाईंहरूको एजेन्डा सम्बोधन गर्न त एमालेभन्दा कांग्रेस–माओवादी नै सजिलो होइन र ?

हाम्रा एजेन्डाहरूमा सुशील कोइरालादेखि यताका सबै प्रधानमन्त्रीसँग सम्झौता भएको छ तर त्यो लागू भएन । उहाँहरू सबैजना मधेसका मुद्दामा सकारात्मक हुनुहुन्न ।

अहिले यो राजनीतिक गञ्जागोलका विषयमा तपाईंलाई प्रधानमन्त्रीको दाबेदारका रूपमा पनि हेरिएको छ नि ।

त्यो त मैले तपाईंहरूको मुखबाट सुनेको छु, बुद्धिजीवीहरू र शुभचिन्तकको मुखबाट सुनेको छु । अहिले त म सबैलाई सद्भावका लागि धन्यवाद दिन्न चाहन्छु ।

खास कुराचाहिँ के रै’छ, तपाईंको मुखबाट सुनौं न ।

हाम्रो दलमा अहिले त्यो विषयमा कुरा सुरु भइसकेको छैन । भेटघाट गर्न आउनेहरूले भन्नुहुन्छ ।

यही सरकारसँग संवाद अघि बढाउने भन्ने र यो सरकारसँग संवाद हुन्न भन्ने तपाईंहरूको पार्टीको दुई लाइन संघर्षले झन् अलमल भयो नि होइन ?

मलाई लाग्छ, तपाईंहरूले सुनेको जस्तो अप्ठ्यारो छैन । हामी चारैजना मिलेर गएर ओलीजीसित कुरा गरेको हो । भट्टराईजी अस्वस्थ भएकाले जान पाउनुभएन । प्रधानमन्त्रीजीले दुइटा प्रस्ताव आफ्नोतर्फबाट ल्याउनुभयो– म राजीनामा गर्दिनँ ।

अविश्वासको प्रस्ताव आयो र विश्वासको मत प्राप्त गर्नुपर्ने भयो भने संसद् फेस गर्छु । संसद्‍मा मेरो पक्षमा मत आएन भने म ताजा जनादेशमा जान्छु भन्नुभयो । उहाँले हाम्रो अगाडि तीनवटा अप्सन राख्नुभएको थियो– तपाईंहरू सरकारमा आउनुस्, हामी मिलेर जाऔं । नआए बाहिरबाट समर्थन गर्नुस् । त्यो पनि भएन भने न्युट्रल रहनुस् । हामी अहिले सरकारको मामिलामा कसैको विरोधमा पनि छैनौं, कसैको समर्थनमा पनि छैनौं ।

प्रधानमन्त्री ओली र तपाईंको राजनीतिक लाइन त एकदमै फरक हो, कसरी नजिक हुनुभयो ?

मानिसमा परिवर्तन पनि हुँदो रहेछ । ठीक छ, उहाँ मधेसका मुद्दामा विरोधी हुनुहुन्थ्यो, हामीप्रति अनुदार हुनुहुन्थ्यो, जेसुकै हुनुहुन्थ्यो तर अहिले उहाँले नै प्रक्रियालाई अघि बढाउनुभएको छ । हाम्रा मुद्दा सम्बोधन गर्न प्रधानमन्त्रीज्यू सकारात्मक देखिनुभएको छ । हामीले त उहाँलाई बहिष्कार नै गरेका थियौं तर कतिपय हाम्रा साथीहरू सरकार बन्नासाथ जानुभएको पनि थियो ।

हामीलाई पनि सुरुदेखि नै सरकारमा आउनुस् भन्नुभएको थियो, हामीले समर्थन पनि गरेका थियौं किनकि संविधान जुन दिन घोषणा भयो, त्यो दिन उहाँहरूले संशोधन गर्ने पनि भन्नुभएको थियो । तर, त्यही दिन धर्नामा बसेका हाम्रा कार्यकर्तालाई गोली चलाएर मारियो । त्यो कुरा याद गर्दा वास्तवमा हाम्रो गला अवरुद्ध हुन्छ ।

टीकापुरमा पछि थारूहरूको घर जलाइयो, बेइज्जत गरियो । त्यो बेला गृह मन्त्रालयले बाहिरिया आएर घटना गरे भनिएको थियो, त्यसले हामीलाई अझै पीडा दिन्छ । तर, यो इतिहास भइसकेको कुरा हो । याद गरेर हामीलाई पछुताउनु सिवाय अरू केही छैन । नयाँ ढंगले अघि बढौं । वास्तविकता स्वीकारौं भनिएको हो ।

भनेपछि प्रधानमन्त्री ओलीसँगै सहकार्य हुन्छ ?

झूटा मुद्दा फिर्ताका विषयमा सरकारसँग कुरा भइरहेको छ । सरकार बनाउने विषयमा हामी तटस्थ छौं । कसैको पनि विरोध र समर्थन गर्दैनौं । कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार