काठमाडौंः नेकपा एमालेको खनाल-नेपाल समूहले सुदूरपश्चिमका जिल्लामा समानान्तर कमिटी निर्माण गरेको छ । मंगलबार सम्पन्न प्रदेशस्तरीय विस्तारित बैठकले प्रभावशाली नेता भीम रावलको संयोजकत्वमा आठ जिल्लामा कमिटी गठन गरेको हो । दार्चुलामा भने समानान्तर कमिटी बनाउन बाँकी रहेको उक्त समुहले जनाएको छ ।
कैलाली अध्यक्षमा दीर्घ सोडारी, कञ्चनपुरमा तारा लामा तामाङ, डोटीमा चक्रबहादुर मल्ल, डडेल्धुरामा तारा जोशी, बैतडीमा महादेव भट्ट, अछाममा शेरबहादुर कुँवर, बझाङमा दिलबहादुर सिंह र बाजुरामा गगन रावललाई जिम्मेवारी दिइएको छ ।
कैलाली अध्यक्षमा चयन भएको सोडारी तत्कालीन नेकपामा हुँदा कारबाहीमा परेका नेता हुन् । ओली समुहबाट अलग भएको प्रचण्ड- नेपाल समुहको पुस ७ मा बसेको नेकपाको केन्द्रीय बैठकले सोडारीको कारबाही फुकुवा गरेको जनाएको थियो ।
मंगलबार मात्रै वागमती प्रदेशका जिल्लामा समानान्तर कमिटी बनाएको सो समहुले सुदूरपश्चिममा पनि आफू पक्षीय नेतृत्वमा नयाँ कमिटी चयन गरेको हो । नयाँ जिम्मेवारी पाएकाहरुको बारेमा कमिटीको विस्तारित स्वरूपबारे केही दिनमै पत्रकार सम्मेलन गरेर जानकारी दिईने बताईएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया