तपाईं लामो समयसम्म विदेशमा बस्नुभयो, विभिन्न देशका सहरहरु पनि घुम्नुभयो । ती सहर र काठमाडौंलाई कसरी तुलना गर्नुहुन्छ ?
मैले देखेका, घुमेका, बसेका थुप्रै सहरहरुको तुलानामा सहर बन्न चाहिने भौगोलिक अवस्थिति, वातावरण, ऐतिहासिकता, जनतामा हुने विविधता अनि एउटा ऐतिहासिक सम्पदाको अवस्था हेर्दा ‘काठमाडौं इज अ एमेजिङ सिटी’ हो । कुनै सहरहरु मरुभूमिमा छन्, कुनैको ३० वर्षभन्दा पुरानो इतिहास छैन, कुनैमा नदी पनि छैन । यहाँ सबै कुरा छ । तर अहिलेको काठमाडौंचाहिँ मानव बसोबासका लागि लगभग अनुपयुक्त छ । किनभने बच्चालाई खेल्ने, बुढाबुढीहरुले टहलिने, पैदालयात्रीले हिँड्ने सबै हिसाबले नदीहरुको अवस्था, जनस्वास्थ्यको हिसाबले अब यो सहर मानव बसोबासका लागि अनुपयुक्त भएको छ । अहिले त वायु प्रदूषणको हिसाबले संसारकै सबैभन्दा प्रदूषित सहर भयो हाम्रो काठमाडौं ।
के कारणले यो अवस्था आयो ?
ठ्याक्कै कारणहरु भन्दा म ५ ‘अ’ भन्छु । एउटा अज्ञानता । हामीलाई वायु प्रदूषणको बारेमा थुप्रै कुराहरुमा जनमानसमा अज्ञानता नै छ । चेतना नै छैन । पब्लिकहरुलाई जानकारी नै छैन । अर्को अकर्मण्यता हो । हाम्रा बुझ्ने मानिसहरु जो नीति निर्माणमा बस्छन् उनीहरुको अकर्मण्यता हो । नेपालमा वायु प्रदूषण अहिलेको मात्रै अवस्था त हैन नि त ! यो त ३०/४० वर्षअगाडि नै यो विषय उठेको थियो । काठमाडौंको जतिबेला सवारी साधानहरु अहिलेको भन्दा एक चौथाइभन्दा कम थियो त्यो बेलादेखि प्रदूषण घटाउने भन्ने कुरा गरियो तर कार्यान्वयन भएनन् । अर्को नयाँ कर्मचारी आउँछ अनि चेन्ज हुन्छ ।
अर्को अविवेक । मान्छे हामी विवेकशील प्राणी भन्छौं तर अविवेकी छौं । त्यत्रो वायु प्रदूषण बढिरहेको छ गाडीहरु धमाधम बिक्री भइरहेको छ । मान्छेले अहिले नै फोहोर जलाइरहनुभएको छ ।
अर्को चाही अनिर्णय हो । हामीले यो गर्नुपर्छ भन्ने तर कार्यान्वयन नगर्ने । केले गर्दा प्रदूषण भयो, कसरी घटाउन सकिन्छ भन्ने पनि सबै थाहा छ तर निर्णय नगर्ने ।
अर्को चाहिँ अराजकता । यहाँका पिच बाटो खनिदिनुहुन्छ, धुलो उडाइदिनुहुन्छ, बाटो बनाउँदा मनलाग्दी गरिदिनुहुन्छ, फोहोर बालिदिनुहुन्छ । यस्ता किसिमको अराजकता पनि हो जस्तो लाग्छ मलाई ।
तर वैज्ञानिक हिसाबले भन्दा वायु प्रदूषणको थुप्रै कारणहरु; नाइट्रोस अक्साइडदेखि लिएर कार्बन मनोअक्साइड,सल्फर र धूलोको कणहरु । विशेष गरेर काठमाडौंको वायुमा पीएम २.५ र पीएम १० जस्ता धुलोको साना कणको मात्रा धेरै भयो ।
काठमाडौंले प्रदूषणबाट मुक्त हुन के गर्नुपर्ला ?
म वायु प्रदूषणको विज्ञ मानिस हैन । अध्येता मात्रै हो । वायु प्रदूषणको मुख्य कारण भनेको पछिल्लो समय भेइकुलर इमिसन(सवारी साधनबाट हुने उत्सर्जन) नै हो । पछिल्लो समय डढेलो पनि हो । डढेलो त पहिला पनि लाग्थ्यो । मैले आफैंले स्याटेलाइट इमेजरी हेर्दा सन् २०१६ मा धेरै डढेलो लागेको देखिएको छ । अहिले चाहिँ एकदमै धेरै भयो । पोहोर साल यो समयमा वातावरण एकदम सफा थियो । तर अहिले एकदमै प्रदूषित छ । डढेलो पनि एउटा कारक हो । कतिपयले हरियाणा,पञ्जाबबाट धुवाँ आएको छ भन्ने पनि छ । अनुसन्धानले इन्डियामा मान्छे पोलेको धुवाँ पनि यहाँ आउँछ भनेको छ । कारणहरु धेरै छन् ।
हाम्रो चाहिँ ब्लेम इन्स्टिंक्ट हुन्छ, अरुलाई दोष दिने । डढेलो भनेको क्षणिक हो । मुख्य कारण त यहाँको इँटा उद्योगबाट निस्कने धुवाँ, धुलो, सवारी साधानबाट निस्कने धुवाँ नै हो । विद्यार्थी जीवनकालदेखि नै हामीले यहाँको प्रदूषणबाट थाहा थियो ।
उत्सर्जन घटाउन विद्युतीय सवारी चलाउनुपर्छ । यहाँका सडकहरुमा रुख बढाउने, बिक्रम टेम्पो पनि हटाइयो । अन्य योजनाहरु अगाडि बढाइयो तर त्यसले निरन्तरता पाएन । योजनाहरु बनाउने तर त्यसलाई कार्यान्वयन नगर्दा यो समस्या आएको हो । यो आजको कारणले मात्रै हैन विगतदेखि कै हाम्रो कमजोरीका कारण हो । विद्युतीय गाडीमा सहुलियत दिने भन्छ, अर्को वर्ष हराउँछ । सबै कुरामा कन्सिस्टेन्ट छैन ।
विगतको ४/५ देखिको तथ्यांक हेर्ने हो भने यसपालि चाहिँ हामी निश्चित उमेर समूहका लागि अस्वस्थ्यकर हावा लिएर बाँचिरहेका छौं । काठमाडौंको यो हावा भनेको ६/७ खिल्ली चुरोट खाए बराबर हो । र, अर्को एक अनुसन्धानले के भनेको छ भने यो अवस्थामा २४ घन्टा बस्नु भनेको मान्छेको सरदर आयु ५ वर्षले घट्नु बराबर हो । यो भनेको एकदमै विकराल अवस्थामा हामी आइपुगका छौं । र, अझै पनि नीति निर्माण तहमा त्यो सेन्स नै छैन । हामीले केही नगर्ने हो भने अझ विकराल दिन हामीले देख्दैछौं जस्तो लाग्छ ।
नियन्त्रणका उपायहरु के होलान् ?
मैले अघि नै भनिसकें यसको स्रोतहरुमा नियन्त्रण गर्नुपर्यो । सवारीसाधानबाट उत्सर्जन धेरै छ भने कसरी घटाउने भन्ने हो । इँटाभट्टा तथा उद्योगबाट निस्कने उत्सर्जन कम गराउने । यसमा केही कामहरु भएको मैले पढेको सुनेको थिएँ । सहरमा हिरयाली प्रवर्द्धन गर्ने नै हो । मैले भन्दा पनि सरकारी डकुमेन्टहरुमा यो कुरा एकदमै स्पष्ट रुपमा लेखिएको छ । तर हामीले केही पनि गरेका छैनौं ।
यसले ल्याउने असरहरु के के हुन् ?
वातावरणीय मुद्दालाई एनजीको मुद्दा, डलर खाएर चलाउने मुद्दा भनेर ब्लेम गरिने गरिएको छ । मानिसहरुले हवाइ जहाज उडान नै बन्द हुने, विद्यालय बन्द हुने अवस्थासम्म हुँदो रहेछ भन्ने कुरा थाहा पाए । काठमाडौंमा जनस्वास्थ्य रुघाखोकी, स्ट्रोक लगायतका आर्थिक खर्च हेर्ने हो भने यो मुद्दा वातावरणीय भन्दा पनि स्वास्थ्यको मुद्दा हो । बाँच्न पाउने अधिकार, बालबच्चाको भविष्य र आर्थिक मुद्दा हो । यो त वर्गीय मुद्दा हो । हुने खानेले एयर फिल्टर लगाउलान् तर सडकमा हिँड्ने मानिसहरुलाई यसले त ठूलो असर पारिरहेको छ । अझ यो मध्यम वर्गका मानिसहरुलाई असर पार्ने यो राजनीतिक मुद्दा हो ।
अहिले जुनै विषय पनि जलवायु परिवर्तनसँग जोडिने गर्छ । अहिलेको प्रदूषणलाई कुन समस्यालाई लिने ?
जलवायु परिवर्तन पनि मानवनिर्मित समस्या नै हो । कार्बन डाआक्साइड उत्सर्जन जलवायु परिवर्तनसँग नै सम्बन्धित छ । यो एकआपसमा सम्बन्धित पनि छ । डढेलो अहिले एक्कासी बढ्यो नि ।
बाहिरको अनुसन्धानले जलवायु परिवर्तन र आगलागीबीचमा एउटा सम्बन्ध भएको देखाउँछ । जलवायु परिवर्तनले एउटा त ताप बढाउँछ । अर्को त सुख्खा पनि बढाएको छ । तातो र सुख्खा बढ्नु भनेको डढेलो लाग्नका लागि एउटा राम्रो वातावरण हुनु हो । त्यही भएर डढेलो वृद्धि हुनु हो । कतै पढेको थिएँ– नेपालमा ६० प्रतिशत डढेलो मानिसहरुले आफैं लगाउने गरेका छन् । डढेलोको वातावरण बन्नमा जलवायु परिवर्तन कारण होला अनि लाग्नमा मानिसहरु कारण हो । डढेलोले थोरै कारण मात्रै हो । २०१३/२०१४ काठमाडौंको वायु गुणस्तर पनि अहिले कै भन्दा नराम्रो अवस्था थियो ।
हाम्रो काठमाडौं सफा काठमाडौं बनाउनका लागि के गर्नुपर्ला ?
सबैभन्दा पहिलो काम भनेको चाहिँ काठमाडौंमा समस्या हो । प्रदूषण हाम्रो समस्या हो । प्रदूषण चाहे त्यो जल, वायु, जमिनको नै किन नहोस् त्यो चाही हामीले बुझ्ने अनि आत्मसाथ गर्ने नै हो । यो पहिलो खुड्किलो हुनुपर्छ । यो एनजीओको, वातावरणवादीको मात्रै मुद्दा नभएर हामी सबैको मुद्दा हो भनेर आत्मसाथ गर्नुपर्यो ।
उपाय त सबैलाई थाहा भएकै कुरा हो ! सवारी साधानबाट उत्सर्जन हुन्छ भने घटाउनु पर्यो । यसका लागि विद्युतीय सवारीमा जोड दिने हो कि मास ट्रान्जिटलाई फोकस गर्ने हो कि मानिसहरुलाई हिँड्न उत्प्रेरणा दिएर हुन्छ कि । यसका लागि हरियाली बढाउने पनि काम गर्न सकिन्छ । हरियाली बढ्दा धुलोका कणहरु रुखमा टाँसिन्छन् ।
अहिलेको यो समस्याचाहिँ कस्तो भयो कि कहिलेकाहीँ हामी सायद सुधार गर्नै नसक्ने हो कि जस्तो पनि हुन्छ । जस्तो कि यस्तो विकराल अवस्थामा पनि फोहोर जलाइरहेको हुन्छ । तर राज्यको भूमका चाहिँ फोहोर संकलन समयमा नै गरिदिनुपर्यो नि त ! अनि पो उसले जलाउँदैन । फोहोर जलाउनुभन्दा नजलाउने अवस्था बनाइदिनुपरो नि त राज्यले !
गाडी किन्नलाई अप्रत्यक्ष रुपमा इन्सेटिफाइज गर्नुभन्दा पनि डिस्करेज गर्नुपर्यो । पब्लिक ट्रान्सपोर्ट राम्रो भयो भने वर्षौंवर्षौंसम्म ऋण तिर्ने गरी कसले किन्छ गाडी ? त्यो हो नि त राज्यको भूमिका ।
हामीले समग्रभन्दा पनि यो सहरको बारेमा सबैलाई थाहा भएको कुरा हो । यो संसारभर थाहा भएको कुरा हो । मात्र के हो भने गर्ने कुरामा चाहिँ हामी चुकेका छौं ।
मलाई के लाग्छ भने काठमाडौंलाई एउटा हामीले बस्न लायक सहर बनाउनका लागि द्रूत गतिमा एउटा क्षेत्रमा मात्रै नभएर विभिन्न क्षेत्रमा इन्टरभेन्सन र त्यो पनि इन्ट्रिग्रेटिभ स्ट्राटेजी बनाएर अगाडि बढ्नुपर्छ भन्ने हो ।
अन्त्यमा केही थप्नुपर्ने कुरा ?
अन्त्यमा मेरो खासै केही छैन । जस्तै, के-के न भयो जसो गरो समाचार आउँछ । दुई चार दिन पानी पर्छ, वायु प्रदूषणको मात्रा घट्छ अनि सबै आ-आफ्नो काममा लाग्छन् । त्यही भएर यो भयाभय अवस्था आएको हो ।
अबचाहिँ हामीले युद्धस्तरमा काम गरेनौं भने हामीलाई हाम्रो सन्ततिले सराप्छन् । उनीहरुले सबैकुरा भएको जमिन, नदी, पहाड, एयरपोर्ट, शताब्दी पुरानो, मस्जिद गुम्बा, जात्रालगायत हरेक कुराको सांस्कृतिक विविधता भएको सहरलाई बस्न लायक पनि बनाइदिनु भएन हैन भनेर हामीले हाम्रो सन्ततिहरुले सराप्छन् । कान्तिपुर दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया