काठमाण्डौंः यही वैशाख ९ गतेदेखि टोखा नगरपालिकाका सम्पूर्ण विद्यालय बन्द हुने भएको छ । दोस्रो चरणको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै टोखा नगरपालिकाले वैशाख ९ देखि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका विद्यालयमा कोरोना सङ्क्रमण दर फैलन नदिन प्याब्सन, एनप्याब्सन र सामुदायिक विद्यालयका सबै विद्यार्थी तथा शिक्षकहरुसँग छलफल गरेर विहिबार देखि विद्यालय बन्द गर्न लागेको जानकारी दिनुभयो ।
उनले भने, “वैशाख ५ गतेदेखि ८ गतेसम्म सबै विद्यालयमा दोस्रो चरणको कोरोना सम्बन्धि विद्यार्थीमा जनचेतना फैलाउने, वैशाख ९ देखि १५ गतेसम्म सबै विद्यालय बन्द गर्ने र वैशाख १६ गतेदेखि स्वास्थ्य तथा सुरक्षाकाे मापदण्ड पालना गरेर वार्षिक परिक्षा सञ्चालन गर्ने निर्णय भएको छ ।”
उनका अनुसार टोखाले नगरपालिकाभित्र कोरोना भाइरस फैलन नदिन माइकिङ गर्ने, होर्डिङ वोर्ड राख्ने, आइसोलेशन कक्ष निर्माण गर्ने कार्यलाई प्राथमिकता दिईनेछ ।
टोखामा अहिले ८ सामुदायिक, ८४ निजी र ३५ वटा मन्टेश्वरी विद्यालय सञ्चालनमा रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया