काठमाण्डौः लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता भएको छ । लुम्बिनी प्रदेशसभाका प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले आईतबार अविश्वासको प्रस्ताव दर्ता गरेको हो ।
अविश्वास प्रस्तावमा ४० जनाले हस्ताक्षर गरेका छन् । जसमा नेपाली कांग्रेसका १९, माओवादीका १८, जसपाका २ र राजमोका एक प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । जसमा नयाँ मुख्यमन्त्रीका रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेशको प्रदेशसभा नियमावली २०७४ को नियम १४४ को उपनियम १ बमोजिम प्रस्ताव दर्ता गरिएको हो ।
प्रस्तावमा प्रदेशसभाको विशेष अधिवेशन मागका लागि समावेदनसमेत गरिएको छ । मुख्यमन्त्री पोखरेलले ठूलो दलका रुपमा संविधानको धारा १६८ को १ अनुसार गठन गरेको सरकार वैध नभएको उनीहरुको दावी छ । यसको सट्टामा संविधानको धारा १६८ को २ बमोजिम चारदलीय गठबन्धनको सरकार बनाउनुपर्ने उनीहरुको माग छ । प्रदेशसभाका २ सदस्यको राजीनामा र एकको पार्टी परिवर्तनपछि हाल एमाले ३८ सदस्यमा खुम्चिएको छ । विपक्षी दलले मुख्यमन्त्रीले ३ जनाको किर्ते हस्ताक्षर बुझाएको भन्दै उनीहरुले त्यसको छानबिनसमेत माग गरेका छन् ।
यसअघि वैशाख ६ मा पनि गठबन्धनका ४१ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरी प्रदेशसभामा अविश्वासको प्रस्तावसहित विशेष अधिवेशनका लागि समावेदन गरेका थिए । त्यसअनुसार प्रदेश प्रमुख धर्मनाथ यादवले वैशाख १९ मा विशेष अधिवेशन बोलाएका थिए । विशेष अधिवेशनको कार्यसूची आइसकेपछि त्यसैदिन मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि विशेष अधिवेशन अन्त्य भएको थियो ।
विशेष अधिवेशन अन्त्य भएलगत्तै मुख्यमन्त्री पोखरेल पुन: मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया