असार २४, २०८२ मंगलबार July 8, 2025

नयाँ शैक्षिकसत्र असार १ गतेदेखि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिक सत्र आगामी असार १ गतेदेखि सुरु हुनेमा अन्योल देखिएको छ ।

गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिक सत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर असार १ गतेदेखि नयाँ शैक्षिक सत्र, २०७८ सञ्चालन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ परिस्थितबारे आङ्कलन गरिरहेको छ । आइतबारसम्मको विवरणमा सङ्क्रमणबाट मृतकको सङ्ख्या चार हजार ८५६ पुगेको छ भने मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नौ हजार ७४० छ ।

महामारी नियन्त्रण र रोकथामका लागि मुलुकका ७३ जिल्लामा निषेधाज्ञा जारी छ । कोरोनाको दोस्रो लहरले बालबालिकालाई झन् बढी जोखिम हुने भएकाले निषेधाज्ञा जारी हुनु अगावैदेखि शिक्षालयहरूमा भौतिक उपस्थितिको पढाइ बन्द गराइएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले नयाँ शैक्षिक सत्र असारदेखि हुने गरी शिक्षा नियमावलीमा भएको संशोधन नेपाल राजपत्रमा प्रकाशन भइसकेको र सोबमोजिम सम्बन्धित पक्षलाई सूचना पठाइएको बताउँदै नयाँ परिस्थितिबारे सरकारले निर्णय गरिनसकेको राससलाई जनाउनुभयो । अर्को निर्णय नभएसम्म विद्यालयहरूले असार १ गतेदेखि नै नयाँ शैक्षिक सत्र सुरु गर्नुपर्ने हुन्छ भने यसको व्यावहारिकता हेरेर पाठ्य वस्तुमा थप समायोजन गरी नयाँ भर्नाको नयाँ मिति तय गर्नुपर्ने देखिएको छ ।

विगतमा हरेक चैतमा वार्षिक परीक्षा समाप्त भई वैशाखमा नयाँ भर्ना हुँदै आएको थियो भने गत वर्ष सुरु भएको कोरोना महामारीका कारण अधिकांश महिना प्रत्यक्ष कक्षा बन्द भई वैकल्पिक प्रणालीको सिकाइ निरन्तरतामार्फत पाठ्य वस्तु समायोजन गरेर पठनपाठन गराइएको थियो । बन्दाबन्दीका कारण गत वर्ष पनि भदौ महिनासम्म नयाँ भर्ना हुन सकेको थिएन ।

कोभिड–१९ र यस्तै प्रकृतिका महामारीको अवस्थालाई सम्बोधन हुने गरी नेपाल सरकार, मन्त्रिपरिषद्ले शिक्षा नियमावली, २०५९ मा नवौँ संशोधन, २०७७ गरी शैक्षिक सत्र परिवर्तनको अधिकार मन्त्रालयलाई प्रदान गरेको थियो । गत पुस १२ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएपछि कृष्णगोपाल श्रेष्ठले उक्त नियमावली संशोधन गराउनुभएको थियो । नियमावली संशोधनको उक्त सूचना नेपाल राजपत्रमा गत फागुन ३ गते प्रकाशन गरिएको थियो ।

शिक्षा ऐन, २०२८ (नवौँ संशोधन) को दफा १९ ले दिएको अधिकार प्रयोग गरी संशोधित नियमावलीको नियम ८४ को (१) मा ‘महामारी वा अन्य विपद् वा विकट हिमाली क्षेत्रका कारण शैक्षिक सत्र परिवर्तन गर्नुपर्ने अवस्था आएमा मन्त्रालयले गर्न सक्नेछ’, भनिएको छ । विकट हिमाली क्षेत्र भन्नाले कालिकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला, मनाङ र मुस्ताङ मानिएको छ । ती विकट जिल्लामा यसअघि हरेक फागुनदेखि शैक्षिक सत्र सुरु हुँदै आएको थियो ।

नियमावलीको मूल नियम ८० मा संशोधन गरी ‘महामारी वा अन्य यस्तै विपद् कारण पठनपाठन अवरुद्ध भई विद्यालयबाट स्थानान्तरण हुनु परेको विद्यार्थीले स्थानान्तरण भई आउन चाहेको स्थानको विद्यालयमा सो ब्यहोरा खोली निवेदन दिएमा सम्बन्धित विद्यालयले त्यस्तो विद्यार्थीलाई स्थानान्तरण गर्नुपर्नेछ । सोको जानकारी शिक्षा विकास तथा समन्वय इकाई लाई दिनुपर्नेछ’ व्यवस्था गरिएको छ ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष लक्ष्मण शर्माले अहिलेको अवस्थामा आगामी असार १ गतेदेखि नयाँ भर्ना गर्न सम्भव नभएको प्रतिक्रिया दिनुभयो । उहाँले अनलाइनलगायत वैकल्पिक माध्यमको सिकाइका लागि शिक्षक तयार रहे पनि सबै स्थानका विद्यार्थीसँग पहुँच नभएकाले महामारीको प्रभाव कम हुँदै गएमा आगामी भदौतिरबाट शैक्षिक सत्र सुरु गर्न सकिने बताउनुभयो । महामारीकै कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० र १२ को परीक्षा स्थगन भएका छन् । यी परीक्षा निर्धारण नभएसम्म पनि नयाँ शैक्षिकसत्रबारे निर्णय गर्न असुविधा हुने देखिएको छ ।

शहरी क्षेत्रका निजी विद्यालयले भने सरकारको शुल्क उठाउन आफूखुसी नयाँ भर्ना सुरु गर्ने तयारी गरेका छन् । शिक्षा मन्त्रालयले गत जेठ १८ गते जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ बमोजिम टेलिभिजन र रेडियोबाट पनि पाठ्य वस्तुमा आधारित सामग्री प्रसारण हुँदै आएका छन् ।

कक्षा १ देखि १२ सम्म सामुदायिक विद्यालयमा ५० लाख २८ हजार ८३ र निजी लगानीका विद्यालयमा १९ लाख ९३ हजार ५३९ गरी ७० लाख २१ हजार ६२२ विद्यार्थी छन् । फ्ल्यास रिपोर्ट, २०७६ अनुसार मदरसा, गुम्बा र गुरुकुलतर्फ एक हजार १२९ विद्यालय छन् ।

पाठ्यपुस्तकको मूल्यसूचि पुरानै

सरकारले आउँदो शैक्षिक सत्रका लागि पनि कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तकको मूल्य सूची यथावत् कायम राखेको छ । शिक्षा मन्त्रालयले चालु शैक्षिक सत्र, २०७७ का लागि स्वीकृत गरेको मूल्य सूची शैक्षिक वर्ष २०७८ का लागि पनि कायम रहने गरी पाठ्यक्रम विकास केन्द्रले सूचना प्रकाशन गरेको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार