काठमाडौंः नेपाली कांग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेल पक्षले पार्टीको १४ औं महाधिवेशन निर्धारित समयमै गर्न संस्थापनलाई दबाब दिने भएको छ ।
पौडेल पक्षको आज बसेको भर्चुअल बैठकले महाधिवेशन समयमै गर्ने पहल गर्न महामन्त्री डा. शशांक कोइरालालाई जिम्मेबारी दिएको छ । उनले पार्टी केन्द्रीय समिति बैठक आह्वान गर्न र महाधिवेशन समयमै गर्ने वातावरण निर्माण गर्न संस्थापनसँग पहल गर्नेछन् ।
बैठकमा सहभागी केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको १४ औं महाधिवेशन समयमै गर्न पहलकदमी लिने निष्कर्ष बैठकले निकालेको जानकारी दिए । कांग्रेसले आगामी भदौ ७ देखि १० गतेसम्म महाधिवेशनको मिति कार्यतालिकासहित सार्वजनिक गरिसकेको छ । तर, कार्यतालिका अनुरुपका काम भएका छैनन् ।
भर्चुअल बैठकमा नेता पौडेल, महामन्त्री डा. कोइरालासहित कोषाध्यक्ष सितादेवी यादव तथा नेताहरू प्रकाशमान सिंह, डा.शेखर कोइराला, बलबहादुर केसी, सुजाता कोइराला, मीनेन्द्र रिजाल, धनराज गुरुङ, दीलेन्द्र बढु, जीवन परियार, बद्री पाण्डे, गुरुराज घिमिरे, गगन थापा, प्रदीप पौडेल, कमला पन्त, हृदयराज थानी, रामकृष्ण यादव र गुरुङ सहभागी थिए ।
बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरू पौडेल, परियार र गुरुङले सदस्यताबारे पछिल्लो अवस्था नेताहरूलाई जानकारी गराएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया