काठमाडौः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली योग परम्परालाई सर्वत्र व्यापक बनाई सबैलाई स्वस्थ र सुखी बनाउन तथा यो राष्ट्रिय गौरव सदैव जीवित राख्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।
अन्तरराष्ट्रिय योग दिवस (जुन२१) का अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति‚ समृद्धि तथा सुस्वास्थ्यको कामना गर्दै राष्ट्रपतिले योगको भूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
कोभिड–१९ महामारीका कारण आमरूपमा मानिसको भौतिक जीवन र शारीरिक स्वास्थ्य मात्र प्रभावित भएको तथा अवसाद र चिन्ता जस्ता मानसिक समस्यासमेत देखा परेका अवस्थामा शारीरिक र मानसिक सुस्वास्थ्यका लागि योगको सान्दर्भिकता अझ बढ्न पुगेको राष्ट्रपतिले बताउनुभएको छ ।
संयुक्त राष्ट्र संघले सन् २०१४ डिसेम्बर ११ मा हरेक वर्ष जुन २१ लाई अन्तरराष्ट्रिय योग दिवसका रूपमा मनाउने घोषणा गरेपछि हाम्रो समृद्ध परम्परा एवं जीवन दर्शनसँग सम्बन्धित योगले विश्वव्यापी सम्मान प्राप्त गरेको छ । यस वर्ष मानव सुस्वास्थ्यका लागि योग भन्ने राष्ट्रिय नाराका साथ अन्तरराष्ट्रिय योग दिवस मनाइँदै छ ।रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया