असार २८, २०८२ शनिबार July 12, 2025

मिल्लान् तीन कोइराला ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसका संस्थापक नेताहरू बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरू हुन् शशांक, प्रकाशमान र विमलेन्द्र। १४औं महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने बताउँदै तयारी थालेका यी तीन नेताले थालेको लन्च मिटिङले कांग्रेस राजनीतिमा नयाँ तरंग ल्याएको थियो। कांग्रेसमा पुस्तान्तरणको बहस चलिरहेका बेला पार्टीमा आ–आफ्नो स्थान बनाएका यी नेता मिलेर महाधिवेशनमा उम्मेदवार दिन्छन् कि भन्ने नेता तथा कार्यकर्ताले अपेक्षा गरेका थिए। तर, ती नेताले थालेको लन्च मिटिङ अहिले अवरुद्ध छ।

एक दर्जन नेताले महाधिवेशनमा नेतृत्वका लागि आकांक्षा व्यक्त गर्दै आएका बेला सभापतिका तीन आकांक्षी शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला लन्च मिटिङमा जुटेका छन्। कोइराला परिवारका तीनै सदस्यले नेतृत्वमा आ–आफ्ना दाबीलाई प्रस्तुत गर्दै आएका छन्। बिपी, केशव र गिरिजाप्रसाद कोइरालाका सन्तान शशांक, शेखर र सुजाताले दाबी मात्र होइन, तयारी पनि थालिसकेका छन्। पार्टी महामन्त्रीसमेत रहेका शशांकले सभापतिमा आफ्नो स्वाभाविक दाबी रहने बताउँदै सभापति देउवालाई हराउन सक्ने आफू मात्र भएको जिकिर गर्दै आएका छन्।

दुई वर्षभन्दा बढी समयदेखि पार्टी सभापतिका लागि आफूले तयारी थालेको भन्दै शेखरले १४औं महाधिवेशनमा आफू कुनै हालतमा उम्मेदवार बन्ने बताउँदै आएका छन्। तर, नेत्री सुजाताले कोइराला परिवारका दुई सदस्य मात्र होइन, संस्थापन इतरबाट एउटा मात्र उम्मेदवार नभए आफू पनि मैदानमा खडा हुने बताउँदै आएकी छन्। संस्थापन इतरका नेताहरूलाई एक ठाउँमा ल्याउन केही दिनअघि नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई आफ्नै निवासमा खानाका लागि बोलाएकी थिइन्। संस्थापन इतरका नेतालाई होइन, १४औं महाधिवेशन कोइराला परिवारका तीन आकांक्षीहरूबीच नै सहमति हुन्छ त ?

कोइराला परिवारसँग निकट रहेर कांग्रेस राजनीतिमा सक्रिय कतिपय नेताहरू मुलुकको आवश्यकता, पार्टी नेता तथा कार्यकर्ताको चाहनालाई केन्द्रमा राखेर अघि बढे उनीहरूबीचको एकता सम्भव रहेको बताउँछन्। तर, कोइराला परिवारको लिगेसी आफूमा ल्याउने होडमा तीनैजना सक्रिय रहेको जनाउँदै एक नेताले भने, ‘बाहिर उहाँहरूबीच सौहार्दता जति देखिन्छ, भित्र त्यति अलि छैन।’

कोइराला परिवारका तीन सदस्य शशांक, शेखर र सुजाताबीच विगतदेखि नै सुमधुर सम्बन्ध नरहेको दाबी निकटहरूको छ। एउटा चम्चाको विषयमा दाजुभाइबीच झगडा हुने गरेको नेपाली समाजको दृष्टान्त सुनाउँदै एक नेताले भने, ‘नेपाली समाजको राजनीतिक र सामाजिक परिवर्तनको अगुवाइ गरेको कोइराला परिवारकै लिगेसी आफ्नो पक्षमा पार्ने सानो कुरा होइन र छैन।’

शशांक, शेखर र सुजाता कांग्रेस राजनीतिमा सक्रिय हुँदाको पृष्ठभूमिका जानकार कांग्रेसका एक नेता भन्छन्, ‘उहाँहरू राजनीतिमा एकले अर्कोलाई सहयोग गर्न होइन, रोक्ने गरी सक्रिय हुनुभएको हो। एउटा समयसम्म तीन नेताहरूबीच औपचारिक बाहेक सम्बन्धसमेत थिएन।’ नेता–कार्यकर्ताको चाहना सम्झेर तीन नेता छलफलमा जुटेको भए त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँदै कांग्रेसका ती नेताले भने, ‘आफूमध्येको एक मात्र मिलेर पुग्दैन, सबैमा एकता आवश्यक छ। जुन कठिन देखिन्छ।’- राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया