असार २९, २०८२ आइतबार July 13, 2025

मिश्रको प्रस्तावले विवेकशील साझामा तरंग : ‘अग्रगामी’ पार्टी, पश्चगामी प्रस्ताव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः अरू राजनीतिक दलभन्दा प्रगतिशील बन्ने गरी वैकल्पिक राजनीतिको एजेन्डा बोकेर हिँडेको विवेकशील साझा पार्टीमा अध्यक्षले नै पश्चगामी खालको दस्ताबेज ल्याएपछि विग्रह उत्पन्न भएको छ ।

अध्यक्ष रवीन्द्र मिश्रको संविधानका मूल विशेषता र गणतन्त्रप्रति नै आरोपित गर्ने दस्ताबेजका कारण दलभित्र दुई धार स्पष्ट देखिएको छ । मिश्रसरहकै हैसियत रहेका पार्टी संयोजक मिलन पाण्डेलगायतका नेताहरूले अध्यक्षको प्रस्तावप्रति गम्भीर असहमति जनाएका छन् । उनीहरूले संविधानका मूल विशेषताप्रति आफ्नो निष्ठा रहेको उल्लेख गर्दै युवाको भावनाविपरीत पार्टी जान नसक्ने बताएका छन् ।

अध्यक्ष मिश्रले भने राजतन्त्र विगतमा एकताको प्रतीकका रूपमा रहेको व्याख्या गर्दै गणतन्त्रले स्थापित गरेका संस्थाहरूप्रति आलोचना गरेका छन् । उनले सार्वजनिक गरेको राजनीतिक दस्ताबेजमा संघीयता खारेज गर्नुपर्ने र धर्मनिरपेक्षताका विषयमा जनमतसंग्रह गर्नुपर्ने प्रस्ताव छ । यो प्रस्तावले पार्टीमा सैद्धान्तिक बहस सुरु भएको छ । हिन्दु राज्य र राजसंस्था पुनःस्थापनाका पक्षधरले मिश्रको दस्ताबेजलाई समर्थन गरेपछि पार्टीमा सैद्धान्तिक विचलन आएको त होइन भन्ने जिज्ञासा उत्पन्न भएको छ । पार्टीका धेरैजसो नेताले दस्ताबेजलाई मिश्रको व्यक्तिगत विचार भन्दै गणतन्त्रविरुद्ध सोच्न नसक्ने उल्लेख गरेका छन् ।

मिश्रको दस्ताबेजलाई राजतन्त्र पुनःस्थापनाको राजनीतिक एजेन्डा बोकेको राष्ट्र्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्वागत गरेका छन् । थापाले ट्वीटरमा लेखेका छन्, ‘संघीयताको खारेजी, धर्मनिरपेक्षताबारे जनमतसंग्रह र राजसंस्थाको पुनःस्थापनाका सम्बन्धमा विभिन्न पक्षबाट उठिरहेको आवाज सकारात्मक छ ।’ उनले पहिले राप्रपा एक्लैले उठाएको राजसंस्था पुनःस्थापनाको विषयमा जनमत बढेको धारणा अघि सारेका छन् । उनको यो ट्वीटपछि विवेकशील साझा राजावादी कि गणतन्त्रवादी भन्ने जिज्ञासा उब्जिएको छ । एमाले केन्द्रीय सदस्य महेश बस्नेतले पनि केही समय अघि पार्टी बैठकमा संघीयता र धर्मनिरपेक्षताका विषयमा छलफल हुनुपर्ने माग गरेका थिए ।

विवेकशीलका संयोजक मिलन पाण्डेले गणतन्त्रलाई आयातीत भन्नु चेत नपुगेको भन्दै मिश्रको दस्ताबेजको आलोचना गरे । उनले हजारौं युवाले २०६२/०६३ को आन्दोलनको उपलब्धिको जगमा टेकेर निर्माण गरेको पार्टीले गणतन्त्रविरुद्ध सोच्न नसक्ने बताए । उनले मिश्रको दस्ताबेजले राजावादीलाई उत्साहित बनाएको उल्लेख गरे ।

मिश्रको दस्ताबेजलाई पार्टीमा छलफल गर्ने कि नगर्ने सल्लाह हुन बाँकी रहेको उनले बताए । दस्ताबेज सार्वजनिक भएकै अवस्थामा एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले संघीयता र धर्मनिरपेक्षताको विरोध जनाएका छन् । उनले आमूल परिवर्तनको एजेन्डामा संघीयता खुसुक्क घुसाइएको धारणा सार्वजनिक गरे । उनले मंगलबार ट्वीट गरेका छन्, ‘नेपालभन्दा विदेशमा गोष्ठीहरूको बाढी आयो र हामी बगिरह्यौं । धर्म, संस्कृति र राज्यबारे छुट्टै बहस गर्नुपर्छ ।’

नयाँ संविधानका उपलब्धिको रक्षा गर्दै अग्रगामी दिशामा अघि बढ्ने मार्गनिर्देशनसहित गठन भएको पार्टीमा मिश्रले परम्परागत विषय प्रवेश गराएको भन्दै पार्टीभित्रैबाट पनि टीकाटिप्पणी भइरहेको छ । पार्टीका सचिवालय सदस्य केशव दाहालले मिश्रको दस्ताबेजले नयाँ पुस्ताको भावनाको प्रतिनिधित्व गर्न नसक्ने बताए । ‘अहिले बेमौसममा दस्ताबेजमार्फत बहस सुरु भएको छ,’ उनले भने । संविधानमा उल्लेख भएका विषयलाई आत्मसात् गर्दै थप उपलब्धिको उद्देश्य राखेको पार्टीका लागि उक्त दस्ताबेज पश्चगामी रहेको उनको भनाइ छ । कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्रीबाट दुई सयलाई जग्गा धनीपूर्जा वितरण
२०८२ असार २८, शनिबार
‘नेपालसँगको सम्बन्ध चीनको प्राथमिकतामा’ – झलनाथ खनाल
२०८२ असार २८, शनिबार
देशमा केही भएन भन्ने भाष्य गलत – यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह : उपप्रधानमन्त्री सिंह
२०८२ असार २८, शनिबार
तीन सय ३६ विद्यार्थीलाई ‘मेयर छात्रवृत्ति’
२०८२ असार २८, शनिबार