काठमाडौंः करिव दुई महिनादेखि बाढी–पहिरोबाट ग्रस्त सिन्धुपालचोकको मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययन गर्न भूगर्भविद्को टोली आज त्यसतर्फ जाँदैछ ।
खानी विभागका सिनियर डिभिजनल भूर्गभविद् शिवकुमार बास्कोटाका अनुसार मौसममा समस्या नआए आज जाने तयारी छ । प्राविधिक टोलीले बाढी र पहिरोको कारणबारे विस्तृत अध्ययन गर्ने छ ।
बाढी अर्थात लेदो बगेको मुहानमै चार दिन बसेर अध्ययन गरिने भूर्गभविद् बास्कोटाले बताए ।अध्ययनको लागि चाहिने उपकरणहरुका साथै डोनमार्फत त्यस क्षेत्रको अवस्थाको निरीक्षण हेरिने छ । त्यस क्षेत्रको मुहानमा पाल टाँगेर बस्ने योजना टोलीले बनाएको छ ।
सिन्धुपाल्चोकको भेमाथानको माथि नै बसेर अध्ययन गर्ने कार्यक्रम रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रसाद अर्यालले बताए ।
स्थलगत अध्ययन पछि कसरी, के कारणले बाढी पहिरो आयो भन्नेबारे थाहा हुने अर्यालले बताए । यसअघि पनि विभिन्न सरोकारवाला निकायका टोलीले त्यसतर्फ स्थलगत अवलोकन गरिसकेको भएपनि व्यबस्थित अध्ययन हुन भने सकेको छैन् ।
अध्ययन पछि लेदो बग्नुको कारण र त्यस क्षेत्रका आगामी दिनको हुने जोखिम बारे थाहा हन सक्ने छ । मेलम्चीमा आएको बाढीका कारण त्यस क्षेत्रमा जनधनको ठुलो नोक्सानी भएको छ ।
खानी विभागका सिनियर डिभिजनल भूर्गभविद् शिवकुमार बास्कोटाको संयोजकत्वमा अध्ययन टोली त्यस तर्फ जान लागेको हो ।
उक्त टोलीमा विभागका अर्का भूगर्भविद् गौतम खनाल र प्राकृतिक विपत् जोखिम न्यूनीकरण तथा व्यावस्थापन प्राधिकरणका तीन जना रहेका छन । मेलम्चीमा बाढी र लेदो बग्न नरोकिए पछि त्यस क्षेत्रका बस्तीमा परेको जोखिम अझै टरेको छैन । -गोरखापत्र दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया