काठमाण्डौंः नेकपा (एकीकृत समाजवादी) ले सरकारमा जाने व्यक्तिहरुको टुङ्गो लगाउने जिम्मेवारी अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । संसदीय दल गठनका लागि आज बसेको बैठकले सो जिम्मेवारी अध्यक्ष नेपाललाई दिएको हो ।
बैठकले प्रतिनिधिसभा, संसदीय दलका नेतामा अध्यक्ष नेपाल र राष्ट्रियसभा संसदीय दलका नेतामा बेदुराम भुसाललाई चयन गरेको छ । बैठकले पाँच सदस्यीय संसदीय दलको विधान बनाउन मस्यौदा कमिटी निर्माण गरेको छ । चाँडै मन्त्रिमण्डल पुनर्गठन हुने र त्यसका लागि आवश्यक समयमा निर्णय गरिने सांसद विरोध खतिवडाले बताउनुभयो ।
उहाँका अनुसार सरकारमा पार्टीले पाउने मन्त्रालयको सङ्ख्या र कुन कुन मन्त्रालय भन्ने टुङ्गो सरकारमा सहभागी दलहरुको गठबन्धनले गर्नेछ । उहाँले भन्नुभयो, “पहिले मन्त्रालय टुङ्गो लागेपछि नै पार्टीले व्यक्ति टुङ्गो लगाउनेछ ।” केही दिनमै मन्त्रिपरिषद् विस्तार हुने सांसद खतिवडाले राससलाई जानकारी दिनुभयो ।
पार्टीले सरकारमा सहभागी हुने व्यक्ति छान्दा काम, योग्यता, वरिष्ठता, क्षेत्रीय र लैङ्गिक समावेशितालाई ध्यान दिइने उहाँको भनाइ छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया