काठमाण्डौंः सप्तरीसहित तराईका जिल्लाहरूमा भगवान् विष्णुको पूजा गरी धुमधामले अनन्त चतुर्दशी मनाइएको छ । मैथिली समुदायका हिन्दु धर्मावलम्बीहरूले असोज महिनाको चतुर्दशी तिथिमा अनन्त चतुर्दशी मनाउने गरेका छन् ।
यो पूजा प्रत्येक घरमा नभएर टोल छिमेकमा केही घरमा हुने र त्यहीँ पुगेर सबैले सामूहिक रूपमा पूजा गर्ने चलन छ ।
घरमा जति सदस्य छन्, त्यतिवटा अनन्त र प्रसादी बोकेर पूजा भएको ठाउँमा जाने छिमेकी, आफन्तहरू मिलेर सामूहिक रूपमा पूजा गरेर अनन्त बाँध्ने गरेको अधिवक्ता राजेन्द्रप्रसाद देव बताउँछन् ।
किंवदन्तीअनुसार सत्य युगमा अमृतको खोजी गर्नका लागि समुद्रको मन्थन गरिएको थियो । मन्थन गर्ने क्रममा अमृतसहित १४ रत्न फेला परेको दिनदेखि अनन्त पूजा गर्ने र हातको पाखुरामा अनन्त बाँध्ने चलन रहेको पण्डित शम्भु मिश्र बताउँछन् ।
उनी भन्छन्,´अनन्त भनेको कहिल्यै अन्त्य नहुने हो अर्थात् भगवान विष्णु । भगवान् विष्णुको कहिल्यै अन्त्य हुँदैन ।`
१४ वटा रत्नको प्रतीकका रूपमा १४ वटा धागोले बनाइएको अनन्त महिलाले देब्रे र पुरुषले दाहिने हातको पाखुरामा वर्षभरि रक्षाका लागि लगाउने चलन रहेको पण्डित मिश्रको भनाइ छ । सुधा देव/न्युज कारखानाश
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया