असार २६, २०८२ बिहिबार July 10, 2025

मालेको महासचिवमा पुनः सिपी मैनाली चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (माले)को महासचिवमा सिपी मैनाली पुनः चयन भएका छन्। मालेको चितवनमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट मैनाली महासचिवमा चयन भएका हुन्। मैनालीको नेतृत्वमा ८१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको मालेका केन्द्रीय सदस्य भगवती घिमिरेले जानकारी दिइन्।

‘महाधिवेशनबाट ८१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेका छौं। अहिले ५८ जना सदस्य चयन भइसक्नुभएको छ। आगामी बैठकमा बाँकी सदस्यहरूको संख्या थप गर्दै जान्छौँ’, उनले भनिन्। केन्द्रीय कमिटीको आगामी बैठकबाट बाँकी पदाधिकारीको पद विभाजन गरिने उनको भनाइ छ।

नारायणगढस्थित नारायणी कला मन्दिरमा शनिबारदेखि भएको मालेको आठौँ महाधिवेशन सोमबार केन्द्रीय कमिटी चयन गर्दै सम्पन्न भएको हो। महाधिवेशनमा देशभरबाट तीन सय ५० प्रतिनिधि सहभागी भएका थिए।

मंगलबार नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको बन्दका कारण मालेले स्थायी कमिटी सदस्य र पोलिट व्यूरो सदस्य चयन गर्न भ्याएन। स्थायी कमिटी सदस्य र पोलिट व्यूरो सदस्य पनि आगामी बैठकबाट चयन गरिने उनले बताइन्। मालेको विधान अनुसार पोलिट व्यूरो सदस्यमा केन्द्रिय कमिटीको एक तिहाई सदस्य रहने व्यवस्था छ।

महाधिवेशनको बन्दसत्रमा छ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो। सबै कार्यपत्र सर्वसम्मतीले पास गरिएको घिमिरेले बताइन्। असफल बेलायती संसदीय व्यवस्थालाई नेपालमा पनि खारेज गर्नुपर्ने नीति मालेले लिएको छ।

११ पुष २०३५ मा स्थापना भएको नेकपा मालेको संस्थापक महासचिव नै सिपी मैनाली हुन्। उनी २०३९ सम्म मालेको महासचिव रहे। २०४७ सालपछि विभिन्न कम्युनिष्ट पार्टी र नेकपा मालेबीच एकीकरण भएर नेकपा एमाले बनेको थियो। २०५४ सालसम्म मैनाली एमालेमै थिए।

११ फागुन २०५४ मा एमाले विभाजित भएपछि वामदेव गौतमको नेतृत्वमा बनेको नेकपा मालेतिर मैनाली पनि लागे। फागुन २०५८ मा वामदेव गौतमलगायतका नेता पुनः एमालेमा गएपछि मैनाली मालेमै रहेर पार्टी सुदृढिकरणको काम गर्दै आएका छन्। –न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया