असार २६, २०८२ बिहिबार July 10, 2025

रसुवामा कांग्रेस अधिवेशन : दुई गाउँपालिकाको कागजात चोरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कांग्रेसको १४औं अधिवेशनअन्तर्गत रसुवामा भएको अधिवेशनमा असन्तुष्ट जनाउँदै एक पक्षले दुई वटा गाउँपालिकाको सम्पूर्ण कागजपत्र चोरेर लगेका छन् । निर्वाचन अधिकृतको कार्यालय धुन्चेमा बुझाएको उत्तरगया र कालिका गाउँपालिकाको सम्पूर्ण फाइल चोरेर लगेका हुन् ।

सदरमुकाम धुन्चेस्थित एक होटलको कोठामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयकाे झ्याल फुटाई फाइलिङ गरेर राखिएको कालिका र उत्तरगया गाउँपालिकाका सबै वडाका कागजात बुधबार बिहान चोरी भएको सहायक निर्वाचन अधिकृत जनक सिंह साउदले बताए ।

बिहान करिब ६ बजेदेखि ७ बजे फाइलिङ गरेर  राखेकाे फाइल चोरी भएको उनले बताए । ‘कोठामा सबै लक गरेर चिया पिउन होटलमा उक्लिएको थिए, चिया पिएर तल कोठामा गई ढोका खोल्दा झ्यालको सिसा फुटाएर कालिका र उत्तरगया गाउँपालिकाको सबै वडाको सम्पूर्ण कागजात चोरिएको रहेछ ,’ उनले भने ।

फाइल चोरी हुनुअघि बिहान ५ बजेतिर केन्द्रीय निर्वाचन समितिसँग छलफल गर्नुपर्ने भन्दै निर्वाचन अधिकृत सुमनकुमार केसी काठमाडाै‌ गएका थिए । केसी काठमाडाै‌ जानु र चोरी हुनुमा निर्वाचन अधिकृतको हात रहेको आशंका गरिएको छ । काठमाडाै‌ जाँदै गरेका उनलाई जिल्लामा ल्याउँदै गरेको स्रोतले जनाएको छ ।

जिल्लामा कांग्रेसको अधिवेशन सम्पन्न गराउन निर्वाचन अधिकृत सुमनकुमार केसी र सहायक निर्वाचन अधिकृत जनक सिंह साउद केन्द्रबाट आएका हुन् । सदरमुकाम धुन्चेकाे होटलमा बसेर उनीहरुले अधिवेशनका सबै काम गरिरहेका थिए । उनीहरूले वडा वडाको अधिबेशन सम्पन्न गराउन जिल्लाको २७ वटै वडामा शिक्षक संघका शिक्षकहरूलाई मतदान अधिकृतको रुपमा खटाएका थिए ।

वडा अधिवेशनको क्रममा पठाएका मतदान अधिकृतले एकलौटी ढंग काम गरेको भन्दै आफुहरूको सहमति नरहेको र क्षेत्रीय प्रतिनिधि चयनसम्बन्धी बिमति रहेको भन्दै उजुरी प्राप्त भएको सहायक निर्वाचन अधिकृत साउदले बताए । जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर १, उत्तरगया गाउँपालिका वडा नम्बर २, ३ र ५ मा अधिवेशनमा एकलौटी गरेको भन्दै उजुरी आएको उनले बताए ।

 सहायक निर्वाचन अधिकृत साउदले शान्ति सुरक्षा पाउँ भन्दै जिल्ला प्रशासन कार्यालय रसुवासँग माग गरेका छन् । घटनाबारे आवश्यक अनुसन्धान प्रक्रियाअघि बढाएको प्रहरीले जनाएको छ । कागजात चोरीमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।

जिल्लामा कांग्रेसको तीन हजार नाै सय ६४ क्रियाशी सदस्यको नामावली सार्वजनिक भएको छ ।  – न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया