श्रावण ६, २०८२ मंगलबार July 22, 2025

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल शीघ्र सञ्चालनको तयारी : पर्यटनमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल शीघ्र सञ्चालनमा आउने भएको छ ।

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले करिब निर्माण सम्पन्न रहेको उक्त विमानस्थल आगामी तीन महिना भित्र उद्घाटन गरिने बताउनुभयो । नेपाल नागरिक उड्डयन प्राधिकरणको २३औँ वार्षिकोत्सबको आज यहाँ उद्घाटन गर्दै मन्त्री आलेले गौतमबुद्ध विमानस्थलमा छिट्टै ‘क्यालिब्रेसन फ्लाइट’ गरेर व्यावसायिक उडान सञ्चालन गरिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अब हामी भैरहवा विमानस्थल उद्घाटनको सङ्घारमा छौँ । हवाई रुटका सम्बन्धमा भारतसँग हालै नयाँ दिल्लीमा त्यहाँको एभिएसन मिनिस्टरसँग कुराकानी भएको छ । कागजात ल्याउनुस् हामी सकारात्मक छौँ भन्नुभएको छ, चाँडै यो प्रक्रिया टुङ्गिने अपेक्षा गरिएको छ ।”

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य ९८.७६ प्रतिशत सम्पन्न भई रनबे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार उड्डयन सहायक उपकरणहरु, ब्यागेज ह्याण्डलिङग सिस्टम, एक्सरे आदि उपकरण जडान कार्य सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।

पर्यटनमन्त्री आलेले छिटो ‘विजनेश प्लान’ ल्याएर कम्तीमा १४ वटा जहाज खरिद प्रक्रिया अघि बढाउन नेपाल वायुसेवा निगम नेतृत्वलाई निर्देशन दिइसकिएको बताउनुभयो । “मैले धेरै अगाडि पनि भनेको थिए । प्राधिकरणले भटाभट विमानस्थल बनाउँदै जान्छ, तपाईं (वायुसेवा निगम) अन्य कम्पनीका नयाँ जहाज गनेर बस्नुस् । भएका जहाज मर्मत गरेर उडाउनुस् भनिरहेको छु”, मन्त्री आलेले भन्नुभयो ।

मन्त्री आलेले युरोपका आकाशमा नेपाली जहाज उडाउने वातावरण सिर्जना गर्न युरोपेली युनियनको कालोसूचीबाट हट्ने गरी काम गर्न प्राधिकरणलाई निर्देशन दिनुभयो । प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतमबुद्ध विमानस्थलमा जनवरी २०२२ भित्र क्यालिब्रेसन उडान गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । “क्यालिब्रेसन फ्लाइटको तयारी भइरहेको छ, केही हाम्रै कारणले रोकिएको थियो, फिडर जडानको काम भइसकेको छ । उडान अनुमति पाएको एरो थाईका प्राविधिकले निरीक्षण गरेर गइसकेकोले जनवरीभित्रै परीक्षण उडान हुन्छ ।”

पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य ९८ प्रतिशत सम्पन्न भएको छ । अबको आठ महिनाभित्रै पोखरा विमानस्थल पनि उद्घाटन गरिने योजना छ । निजगढ अन्तरराष्ट्रिय विमानस्थलको गुरुयोजना तयारीको ८० प्रतिशत कार्य सम्पन्न भएको छ । विमानस्थल क्षेत्रमा रहेका रुख विरुवाको गणना गर्ने कार्य प्रदेश वन डिभिजन कार्यालयबाट भइरहेको प्राधिकरणले जनाएको छ ।

पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले प्राधिकरणले उठाएका गम्भीर चासोका विषयलाई व्यावहारिक ढङ्गले सम्बोधन गर्न मन्त्रालयले समन्वयकारी भूमिका खेल्ने बताउनुभयो । प्राधिकरणसम्बन्धी संसद्मा विचाराधिन दुई विधेयक उपर कर्मचारीका सरोकारका विषयलाई पनि समेटेर प्रगतिमूलक ढङ्गले अघि बढाइने सचिव न्यौपानेको भनाइ छ । प्राधिकरण विभाजन गरेर नियामक र सेवा प्रदायकको रुपमा स्थापित गर्नेगरी विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पेश गर्ने चरणमा रहेको छ ।

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगम र प्राधिकरणको समन्वय र सहकार्यबाट निगमको साख अभिवृद्धिका लागि भइरहेका पछिल्ला प्रगतिको सराहना गर्नुभयो ।    प्राधिकरण कर्मचारी युनियनका प्रतिनिधि लक्ष्मणकुमार गिरीले कर्मचारीको मर्का र गुनासोलाई सम्बोधन गरेर मात्रै विधेयक अघि बढाइनुपर्ने धारणा राख्नुभयो ।

हवाई यात्रु बढे

कोभिड–१९ महामारीका विशेषगरी पर्यटन र हवाई क्षेत्र बढी प्रभावित बन्यो । महामारीकै बीच पनि हवाई उडान गर्ने यात्रुको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमार्फत अन्तरराष्ट्रिय उडानतर्फ कूल ११ लाख पाँच जहार १५९ यात्रु आवागमन गरेकोमा सन् २०२१ को नोभेम्बर सम्ममा यो सङ्ख्या १२ लाख ८० हजार २१२ रहेको छ । जसअनुसार गत वर्षको सोही अवधिको तुलनमा यात्रु सङ्ख्या करिब १९ प्रतिशतले वृद्धि भएको प्राधिकरणको प्रगति विवरणमा उल्लेख छ । त्यसैगरी आन्तरिक उडानतर्फ सन् २०२० मा १४ लाख ५७ हजार ५३९ यात्रुहरुको आवागमन भएकोमा सन् २०२१ को नोभेम्बर सम्ममा यो सङ्ख्या ३१ लाख १६ हजार ६७५ रहेको छ । जुन गत वर्षको सोही अवधिको तुलनमा ११३ प्रतिशतले वृद्धि भएको देखिन्छ । यसबाट हवाई क्षेत्रले विस्तारै पुनरुत्थानको चरणमा रहेको प्राधिकरणको निष्कर्ष छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार