श्रावण ६, २०८२ मंगलबार July 22, 2025

प्रचण्डले माफी मागेपछि नारायणकाजी ठण्डा !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हिंसात्मक क्रियाकलापमा प्रत्यक्ष रूपले सहभागी भएका र हिंसाका विरुद्ध उभिएकाहरूबीच माओवादीमा गहिरो फाटो देखापरेको छ । एमसीसी अनुमोदन प्रकरणमा अध्यक्ष प्रचण्डले निर्वाह गरेको भूमिकाले उक्त पार्टीभित्रको विवाद गहिऱ्याएको हो ।

प्रचण्ड शुरुदेखि नै एमसीसी अनुमोदनका पक्षमा थिए र, अनुमोदन नगरे माओवादीले गम्भीर क्षति ब्यहोर्नुपर्ने बुझाइ प्रचण्डको थियो । त्यसैले केही महिनायताका भेट तथा बैठकहरूमा प्रचण्ड घुमाएर एमसीसी अनुमोदनको पक्षमा आफ्नो धारणा राख्ने गर्थे । प्रचण्डलाई समर्थन गर्ने जम्मा एकजना शक्ति बस्नेत मात्र देखिएका थिए । सम्झौता नगरिकन कुनै पनि अवस्थामा एमसीसी अनुमादन नगर्ने अडानमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायत थिए । श्रेष्ठले पार्टीका बहुसङ्ख्यक नेताहरू समेतको भावनालाई बुझेर एमसीसी अनुमोदन हुन नसक्ने धारणा निरन्तर प्रकट गरिरहे । अन्ततः प्रचण्डले आफ्ना सबै सांसदहरूलाई अनुमोदनको पक्षमा मतदान गराइ छाडे ।

नारायणकाजीका निकट भनेर चिनिएका सांसदहरू गिरिराजमणी पोखरेल र अञ्जना बिसङ्खेले मात्र अनुमोदनको विपक्षमा मतदान गरेका थिए । पोखरेल र विसङ्खेले प्रचण्डसँग अब सहयात्रा गर्न नसकिने अठोटका साथ विपक्षमा मतदान गरेको बताइन्छ । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि गम्भीर बनेको बुझिएको छ । तर श्रेष्ठ माओवादीबाट अलग हुने सम्भावना भने देखिएको छैन । प्रचण्डबाट पटक-पटक अपमानित र उपेक्षित हुनुपर्दा पनि श्रेष्ठ किन प्रचण्डबाट अलग हुन सकेनन् भन्ने विषयलाई लिएर स्वयम् माओवादी पार्टीभित्रै चर्चा-परिचर्चा हुन थालेको छ ।

गत वर्ष नेकपा विभाजन हुनुअघि श्रेष्ठलाई अध्यक्ष केपी ओलीले उपप्रधानमन्त्रीको जिम्मेवारीसहित पार्टीमा भूमिका बढाइने विश्वास दिलाएका थिए । श्रेष्ठ एक जना मात्र सचिवालयमा केपीको समर्थनमा उभिएका भए परिस्थिति अलिक भिन्न हुने थियो र राजनीति बेग्लै ढङ्गले अघि बढ्न सक्थ्यो । त्यसबेला केपीका विरुद्ध सर्वाधिक आक्रामक देखिएका नारायणकाजी श्रेष्ठले पार्टी विभाजनपछि शेरबहादुर देउवाको मन्त्रिमण्डलमा महत्वपूर्ण भूमिका प्राप्त गर्ने र पार्टी जिम्मेवारीको पनि उचाइ बढ्ने अनुमान गरिएको थियो । तर प्रचण्डले मन्त्रिमण्डलमा क-कसलाई पठाउने भन्नेबारे श्रेष्ठसँग सल्लाह नगरेको मात्र होइन, जानकारीसमेत नदिएको बताइन्छ । गत सम्मेलन उर्फ महाधिवेशनपश्चात पार्टीको वरिष्ठ उपाध्यक्ष पदमा श्रेष्ठको चयन हुने बताइएको थियो, अब चुनाव देखाएर प्रचण्ड पदाधिकारी चयन गर्नबाट पछि हटेका छन् । भनिन्छ, पार्टीको महामन्त्री (महासचिव) चयनमा समस्या उत्पन्न भएकोले प्रचण्ड सकसमा परेका छन् ।

जनार्दन शर्मा प्रभाकर महासचिवको जिम्मेवारी नपाए ठूलै विद्रोह गर्ने मानसिक तयारीमा छन् । गत महाधिवेशन भन्दा केही महिना अघिदेखि नै जनार्दनले आफू पार्टी अध्यक्ष बन्ने जानकारी निकटस्थहरूलाई गराउँदै आएका थिए । अध्यक्ष बन्न नपाएपछि जनार्दन ‘महासचिव’ नलिइ नछोड्ने मानसिकतामा छन् र, त्यसअनुरुप प्रयास पनि गरिरहेका छन् । तर प्रचण्ड स्वयम्चाहिँ वर्षमान पुनलाई महासचिव चयन गर्ने पक्षमा छन् । आपसमा पानीबाराबारको स्थितिमा रहेका वर्षमान पुन र जनार्दन शर्मामध्ये जसले उक्त जिम्मेवारी प्राप्त गरे पनि नपाउने पक्ष प्रचण्डसँग रुष्ट हुने निश्चित छ । यही अप्ठ्यारोका कारण प्रचण्डले पदाधिकारी चयनलाई पछाडि धकेल्दै लगेका हुन् ।

वरिष्ठ उपाध्यक्ष बनाउने भनिएका नारायणकाजी श्रेष्ठलाई प्रचण्डले केही दिनअघि एक टेलिभिजनमार्फत सार्वजनिक रूपमै पार्टीबाट अलग्गिन सुझाव दिएका थिए । त्यसरी ललकारेपछि श्रेष्ठ प्रचण्डसँग सामान्य सम्पर्कमा पनि रहन छोडेको बताइन्छ । तर चितवनको माडी क्षेत्रबाट मतदातामा नारायणकाजीको बलियो पकड रहेको हेक्का भएपछि प्रचण्ड नारायणकाजी श्रेष्ठकै निवासस्थान (हात्तीवन)मा पुगेर क्षमायाचना गरेका थिए । नारायणकाजीको साथ नरहँदा माडीबाट आउनुपर्ने मत नआउने कुराको याद कसैले दिलाइदिएपछि प्रचण्डले नारायणकाजीसँग उनको घरमै पुगेर माफी मागेका थिए । प्रचण्डले हिंसात्मक युद्धमा सरिकहरूलाई आफ्नो पक्षमा मिलाइसकेका छन् । हिंसात्मक गतिविधिमा सामेल नभएका माओवादीहरूको नेतृत्व नारायणकाजी श्रेष्ठले गरिरहेका छन् ।

तत्कालका लागि माओवादी पार्टीको विभाजन टरे पनि निकट भविष्यमै (चुनावपछि) नारायणकाजीपक्षीय नेता-कार्यकर्ताहरू माओवादीबाट अलग्गिन सम्भव देखिएको छ । श्रेष्ठको कित्ताका एमसीसीविरोधी नेताहरूमध्ये लीलामणि पोखरेललाई लिइन्छ । तर पत्नी मन्त्री पदमा भएकोले लीलामणि पनि बाँधिएका छन्, कुनै ठोस कदम चाल्ने आँट उनले पनि गरेका छैनन् । तत्कालका लागि पार्टीभित्रै लडाइँ गर्ने भनाइ लीलामणि पोखरेललगायतको छ । त्यसैले विवाद गहिरिएको भए पनि तत्काल माओवादी पार्टी विभाजित नहुने देखिएको छ । घटना र बिचार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार