श्रावण ६, २०८२ मंगलबार July 22, 2025

संवैधानिक निकायका ५२ पदाधिकारी वैध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अध्यादेश जारी गरी नियुक्त गरिएका विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारीलाई सर्वोच्च अदालतले वैधानिकता दिएको छ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले संवैधानिक निकायहरूमा पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दामा बुधबार अन्तरिम आदेश जारी नगरेपछि उनीहरूको नियुक्ति वैध ठहरिएको हो।

ओली नेतृत्वको तत्कालीन सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्त गरेको थियो। अध्यादेश ल्याएर संवैधानिक निकायमा गरिएका नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो।

कानुन व्यवसायीहरूले बुधबारको बहसमा तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको सरकारले अध्यादेशबाट ऐन संशोधन गरी विभिन्न संवैधानिक निकायमा गरेका नियुक्ति बदर गर्न अन्तरिम आदेश जारी हुनुपर्ने जिकिर गरेका थिए । तर संवैधानिक इजलासले भने कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश जारी नहुने आदेश गर्‍यो। रिट निवेदन दर्ता भएको एक वर्षपछि संवैधानिक इजलासले विवाद टुंगो लगाएको हो। संवैधानिक निकायका पदाधिकारीले एक वर्षदेखि काम गरिरहेका छन्।

तत्कालीन सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी गरी त्यसलाई आधार मानी विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो। २०७७ मंसिर २० मा बसेको संवैधानिक परिषद्को बैठकले संवैधानिक आयोगहरूमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिस गरेको थियो। अध्यादेशमा टेकेर कोरम नपुगी तीनजनाको बैठकले निर्णय गरी नियुक्तिको सिफारिस गरिएको थियो।

तत्कालीन प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थितिमा संवैधानिक परिषद्को बैठक बसेको थियो। परिषद्ले गरेको नियुक्ति सिफारिसविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएको थियो। पदाधिकारीमा नियुक्तिका लागि सिफारिस भएकाहरूले संसदीय सुनुवाइबिनै पदभार ग्रहण गरी काम सुुरु गरेका थिए।

तत्कालीन समयमा प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइबिनै उनीहरूलाई राष्ट्रपतिले नियुक्त गरेकी थिइन्। नियुक्तिविरुद्ध सर्वोच्चमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याललगायतले रिट निवेदन दर्ता गरेका थिए। त्यसैगरी प्रधानन्यायाधीश जबरा सम्मिलित संवैधानिक इजलासमा विवाद भएको थियो। संवैधानिक परिषद्को सदस्यको हैसियतले नियुक्तिमा सहभागी जबराकै नेतृत्वमा संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ गर्न खोज्दा विवाद भएको थियो।

त्यसपछि प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास बस्न नसक्ने भन्दै रिट निवेदन दर्ता भएको थियो। सर्वोच्चले अदालत सहयोगीको समेत राय माग्दै आदेश गरेको थियो। त्यो रिट निवेदन भने बुधबार खारेज गरिएको छ।

योसँगै प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलासले वैधता पाएको छ। प्रधानन्यायाधीश जबराकै नेतृत्वमा संवैधानिक इजलास बस्नैपर्ने माग गर्दै अधिवक्ता गणेश रेग्मीले दिएको रिट निवेदन संवैधानिक इजलासले खारेज गरेको हो।

सर्वोच्चमा दर्ता भएका सबै निवेदनमा संवैधानिक निकायका पदाधिकारीलाई विपक्षी बनाइएको थिएन । सर्वोच्चले करिब एक वर्ष काम गरिसकेका पदाधिकारीलाई निवेदकले उठाएका संवैधानिक र कानुनी प्रश्नको अन्तिम सुनुवाइमा निरुपण गरिने आदेश गरेको छ। त्यसैगरी रिट निवेदकले विपक्षी नबनाएकाले ५२ जना पदाधिकारीको नाममा म्याद जारी गरी सुनुवाइको मौका दिने आदेशमा उल्लेख छ। नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उज्यालोको बाटोमा संघर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा
२०८२ श्रावण ६, मंगलबार
मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा थियो : नेता सिटौला
२०८२ श्रावण ६, मंगलबार
प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै
२०८२ श्रावण ६, मंगलबार
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार