श्रावण ६, २०८२ मंगलबार July 22, 2025

स्थानीय तह निर्वाचनः एमाले एक्लेलै ६० प्रतिशत जित्ने ब्रिफिङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमालेका नेताहरूले स्थानीय तहको निर्वाचनमा सत्ताधारी गठबन्धनले भन्दा बढी सिट जित्ने दाबी गरेका छन् ।

कांग्रेस र माओवादी एक्लाएक्लै मैदानमा आए करिब ६० प्रतिशत सिट हात पार्ने तथा सत्तागठबन्धन कायमै रहे ४० प्रतिशतभन्दा बढी सिट हात पार्ने दाबी केन्द्रीय कमिटी बैठकमा बोल्ने नेताहरूको छ। बुधबार सुरु भएको बैठकमा स्थानीय तह निर्वाचनबारे ब्रिफिङ गर्ने क्रममा नेताहरूले अधिकांश स्थानमा एमालेको अवस्था राम्रो रहेको दाबी गरे । अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन र एमाले एकातिर हुँदा पनि स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउने दाबी पहिलेदेखि नै गर्दै आएका छन्।

बैठकमा प्रदेश नं. १ का अध्यक्ष तुल्सी नेउपाने, मधेस प्रदेशका अध्यक्ष रामअवतार यादव, वाग्मतीका केशव पाण्डे, गण्डकीका नवराज शर्मा, लुम्बिनीका राधाकृष्ण कँडेल, कर्णालीका विनोदकुमार शाह र सुदूरपश्चिमका दामोदर भण्डारीले अधिकांश स्थानमा एमाले पहिलो दल हुने दाबी गरेका थिए । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार आगामी स्थानीय निर्वाचनमा एमाले लोकप्रियताका साथ पहिलो शक्ति हुन्छ, पार्टीप्रति तीव्र जनआकर्षण छ भन्ने रिपोर्टिङ भएको छ।

गत स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेको एमालेलाई विरासत जोगाउने चुनौती छ । तर बैठकमा नेताहरूले सत्ता गठबन्धन मिलेर अघि बढ्दा पनि एमाले पहिलो पार्टी बन्ने दाबी गरे । सचिवालय बैठक र पोलिटब्युरो बैठकमा पनि नेताहरूले एमालेको अवस्था कमजोर नभएको रिपोर्टिङ गरेका थिए।

पोलिटब्युरो बैठकमा स्थायी कमिटी सदस्य घनश्याम भुसालले वाम एकता र तालमेलको कुरा उठाए पनि त्यसलाई अध्यक्ष ओलीले अस्वीकार गरेका थिए । एमालेको जिल्ला तहबाट आएको रिपोर्टिङको आधारमा गठबन्धन दलहरूभन्दा केही सिट बढी ल्याएर एमाले पहिलो पार्टी बन्ने अनुमान गरिएको छ । ‘सत्ता गठबन्धन आफैंमा विभाजित छ गठबन्धन भए पनि नभए पनि एमाले पहिलो दल बन्छ’, पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले भने।

एमालेले माधव नेपाल नेतृत्वको पार्टीमा नेताहरूमात्रै गएका, कार्यकर्ता खासै नगएका कारण केही केही स्थानमा मात्रै असर गर्ने विश्लेषण गरेको छ। यसको क्षतिपूर्ति गर्न माओवादी, विभाजित भएर गएका पूर्वएमाले कार्यकर्ता र मधेसवादी दलका कार्यकर्तालाई फर्काएर ल्याउने मिसनका साथ एमाले अघि बढेको छ । एमालेले ७ सय ५३ वटै स्थानीय तहमा चुनावी अभियान अघि बढाएको छ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले पनि कम्युनिस्ट पार्टी विभाजित भएको अवस्थामा आफ्नो दल स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी हुने दाबी गरेको छ । कांग्रेस र एमाले ढुक्क देखिए पनि सत्तारूढ गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादी भने अप्ठ्यारो अवस्थामा छन्।

यी दुवै दलले गठबन्धनबीच चुनावी तालमेलमा जोड दिए पनि कांग्रेसबाट सकारात्मक जवाफ पाएका छैनन् । माओवादीलाई विगतमा जितेको स्थानीय तहमा चुनाव जित्ने चुनौती छ भने एकीकृत समाजवादी नयाँ पार्टी भएकाले स्थानीय तहको निर्वाचनमा बलियो उपस्थिति नहुने आकलन गरिएको छ।

०७४ सालको स्थानीय तह चुनावमा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो भएका थिए । एमालेले ७ सय ५३ स्थानीय तहमध्ये २ महानगरपालिका र ७ उपमहानगरपालिकासहित १ सय २३ नगरपालिकाको प्रमुखमा जित निकालेको थियो। त्यस्तै १ सय ७१ गाउँपालिकाको अध्यक्षमा एमालेले जितेको थियो।

स्थानीय तहमध्ये ३ सय ३१ ठाउँमा उपाध्यक्ष जितेको एमालेले त्यति बेला प्रमुखको तुलनामा ३७ ठाउँमा उपप्रमुख बढि जितेको थियो । एमालेले २ हजार ५ सय ६० वडामा वडाध्यक्ष जितेको थियो। निर्वाचन आयोगको तथ्यांकअनुसार एमालेले त्यस बेला ४० दशमलब २३ प्रतिशत जित हासिल गरेको थियो।

केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीले स्थानीय चुनावका लागि पार्टीका वडादेखि केन्द्रसम्मका नेताहरूलाई एक तहमुनिको भूगोलमा खटिन निर्देशन दिएका छन्। पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले भूगोलबाहेक गैरभौगोलिक कार्यक्षेत्र भएका सबै केन्द्रीय सदस्यलाई आफू सम्बद्ध जिल्लाको निर्वाचनमा खटिन निर्देशन दिएका थिए।

‘प्रदेश कमिटीका सबै सदस्यहरू आफू जुन जिल्लाको जुन पालिकाको मतदाता हो सोही पालिकामा गएर खटिनुपर्नेछ भने जिल्ला कमिटीका सदस्यहरू आफ्नो वडामा गएर खटिनुपर्नेछ’,ओलीले भने। त्यस्तै विदेशमा रहेका मतदाता तथा समर्थकलाई स्वदेश फर्किन आह्वान गर्ने र सम्पर्क मञ्चहरूमा आबद्ध नेता कार्यकर्तालाई आआफ्नो पालिकामा फर्केर निर्वाचनमा केन्द्रित हुन निर्देशन दिइएको छ। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उज्यालोको बाटोमा संघर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा
२०८२ श्रावण ६, मंगलबार
मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा थियो : नेता सिटौला
२०८२ श्रावण ६, मंगलबार
प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै
२०८२ श्रावण ६, मंगलबार
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार