काठमाडौंः नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले नेता केशव स्थापितलाई मेयरमा जित्छु भन्ने सपना नदेख्न आग्रह गरेका छन् । विहीबार काठमाडौंको मेयरमा उम्मेदवार दिएकी सिर्जना सिंहको प्रतिवद्धतापत्र सर्वाजनिक कार्यक्रममा बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् ।
उनले काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेदवार दर्ता गराएका नेकपा एमालेका नेता केशव स्थापितलाई फेरि काठमाडौंको मेयरमा फर्किन्छु भन्ने सपना नदेख्न आग्रह गरे । उनले वागमतीको पानी धेरै बगिसकेको भन्दै अब फेरि त्यो पानी फर्किन नसक्ने जिकिर गरे ।
प्रवक्ता महतले केशव स्थापितले चुनाव नजित्ने दाबी गरे । उनले नेताहरुले राजनीतिलाई मनोरञ्जनमय बनाएको आरोप लगाए । प्रवक्ता महतले भनेका छन्, ‘हाम्रो स्थापितजीको मैले सुनिरहेको थिएँ नोमिनेशन गरेर निस्किँदै गर्दा । गेम इज ओभर रे । म भन्छु उहाँको गेम इज ओभर । अब वागमतीमा धेरै पानी बगिसकेको छ । फेरि फर्किएर आउँछु भन्ने सपना नदेखे हुन्छ ।’
उनले थपे, ‘राजनीति मनोरञ्जन होइन, देश नै मनोरञ्जनमय भएको छ । हुँदाहुँदा हामीलाई पनि राजनीति नै जसले ज्यादा मनोरञ्जन दिन्छ, त्यसैलाई निर्वाचित गर्ने हो कि भन्ने भ्रम पैदा हुन थालेको छ । राजनीति मनोरञ्जनको विषय होइन । अरु पार्टी कुरा गर्छन् नेपाली काँग्रेस काम गर्छ ।’
प्रवक्ता महतले नेपाली काँग्रेसप्रति नेकपा एमालेका अध्यक्ष ओलीले विभिन्न आरोप लगाएको र निर्वाचन आयोगले जारी गरेको आचारसंहीताको धज्जी उडाएको आरोप लगाए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया