बैसाख २२, २०८३ मंगलबार May 5, 2026

मेरो जीवनको भोगाइ र किसान–मजदुरहरूको दुःखलाई परिवर्तन गर्नुपर्छ भनेर राजनीतिमा आएको हुँ । – रजनी थापा (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गएको स्थानीय निर्वाचनमा उपप्रमुखमा पराजित हुनुभयो, यो स्थानीय तहमा भने प्रमुख पदमा उमेदवारी दिनुभयो । तपाईंमा यो लेभलको आत्मविश्वास कसरी आयो ?

‘जहाँ तपाईंले कर्म गरेर मन जित्नुहुन्छ त्यहाँ तपाईं अघि बढ्नुपर्छ’ भन्ने आवाज मैदानबाटै आउँछ । व्यक्तिगत चाहना त हरेका मानिसका हुन्छन् । तर, टोखा नगरपालिकाका हरेक बुबा, आमा, दाजुभाइ, दिदीबहिनीहरूले तिमी रोकिनु हुँदैन अघि बढ्नुपर्छ भन्ने ऊर्जा प्रदान गरेका कारणले मलाई टोखा नगरपालिका हाक्नुपर्छ भन्ने साहस आएको हो । यो सन्देशसँगै नेपाली कांग्रेसले पनि युवालाई अघि बढाउनुपर्छ टिकट दिनुपर्छ भन्ने नीति बनाएकाले पनि मैले नगरप्रमुख पदमा उमेदवारी दिएकी हुँ ।

देशभरि दलहरूले पुरुषलाई प्राथमिकतामा राखेर प्रमुख पदमा टिकट दिएका छन् । काठमाडौंकै टोखा नगरमा तपाईंलाई कांग्रेसले कसरी पत्यायो ? 

मेरो मिहिनेतलाई कदर गरेर पार्टीले ममा सम्भावना देख्यो । मेरो  भिजन, कन्सेप्ट तथा प्यानल अफ एक्सन देखेर नेपाली कांग्रेसले युवाहरू परिवर्तनका संवाहक हुन् भन्दै सम्भावना देख्यो । नेपालभरिमै मैले सबैभन्दा कान्छी महिलाको रूपमा नगरप्रमुख पदको टिकट पाएको रहेछु ।

मलाई यो कुरा थाहा पाउँदा भने सोचेजस्तो राम्रो पार्टीमा लागेछु भनेर गर्व पनि लागेको छ । विगत र वर्तमानलाई नियाल्ने हो भने कांग्रेसले यसपालिको नीतिमा सही मान्छेलाई मूल्यांकन गर्छ भन्ने प्रमाण यो पनि हो ।

टिकट लिने क्रममा तपाईंहरूको पालिकाको विवाद सतहमा आयो । निकै संघर्ष गरेर टिकट लिनुभयो । यसले अन्तर्घातको जोखिम हुँदैन तपाईंलाई ? 

युवाले भविष्यमा विश्वास राख्ने हो । सबैलाई विश्वास गर्दै आफूमाथि अझ धेरै विश्वास गर्ने हो ।

टोखा नगरपालिकाभित्र नेपाली कांग्रेसको अनुशासित संगठन छ । १६ जना आकांक्षी देखिए पनि पार्टीले निर्णय गरेपछि हामी एकताबद्ध छौँ ।

प्रभावकारी ढंगले विकास अघि बढाइरहेको नगर समितिले नै हो मलाई नगरप्रमुख पदमा अग्रसर गराएको । त्यसैले, यहाँ अन्तर्घात हुन्छ भन्ने मलाई एकरत्ति पनि लाग्दैन ।

सैद्धान्तिक रूपमा जे-जस्तो भनिए किशुनजीजस्ता सन्त नेतालाई हराएका उदाहरण छन् । तपाईंले यो विषयलाई नजरअन्दाज त गरिरहनुभएको छैन ? 

सबैभन्दा ठूलो भनेको मानिसको मन हो । मानिसहरूको सकारात्मक सोचाइ हो । तपाईं यदि साँचो हुनुहुन्छ र डगमगाउनुहुन्न भने कसैले पनि रोक्न सक्दैन । तपाईं झुटको खेती गर्नुहुन्छ भने त्यो छोपेर छोपिन्न ।

डे वानदेखि आफ्नो स्टान्डमा बस्नुहुन्छ भने समकालीन र साथीहरूले पनि यसले काम गर्नसक्छ भनेर साथ दिनुहुन्छ ।

स्थानीय तहमा अधिकारसँगै भ्रष्टाचार पनि पुगेको छ । भोलि तपाईंले  जित्नुभयो भने यो प्रश्न त तपाईंमाथि पनि आउँछ, हैन ? 

राजनीतिमा लागेर पैसा कमाउनु छैन । म राजनीतिमा सेवा गर्न आएको हुँ । राजनीतिलाई मैले जागिर बनाउन खोजेको होइन । मेरो दैनिकी चलाउन त मेरो आफ्नै व्यापार छ नि ! सिङ्गटी हाइड्रोपावरको म बोर्ड अफ डिरेक्टर छु । मेरो आफ्नै निर्माण कम्पनी पनि छ । स्यानिटरी प्याड बनाउनेदेखि ट्राभल एन्ड टुरिजम कम्पनीसम्म सञ्चालन गरेकी छु ।

राजनीतिमा म नितान्त सेवा भावले आएको हुँ । म नगरप्रमुख भएपछि पाउने सेवा सुविधा तीनवटा क्षेत्रमा लगाउनेछु । महिलाको शिक्षा, वृद्धवृद्धाको स्वास्थ्य र युवाहरूका लागि खेलकुद क्षेत्रमा मेरो सेवा सुविधा खर्च हुनेछ । यो कुरा मैले घोषणा नै गरिसकेकी छु ।

काठमाडौंमा जातीय राजनीतिको पनि प्रभाव छ । तपाईंको टिममा प्रमुख र उपप्रमुख दुवै पदमा नेवार समुदायको उपस्थिति देखिएन नि ? 

पार्टीको एउटा निर्णय हुन्छ । कांग्रेसको टिकट दिने एउटा प्रक्रिया छ । टिकट हामीलाई वागमती प्रदेश कार्यसमितिबाट आउने हो । टिकट वितरण गर्दा हाम्रो पार्टीमा ‘एनालाइसिस’ हुन्छ । प्रदेशमा कसले जित्न सक्छ, को दह्रो उमेदवार हो, यसको योगदान कति छ, मत कति छ भन्ने विश्लेषण गरेर नै मलाई टिकट दिएको हो । त्यसकारण यो जातीयतामा जान जरुरी छैन ।

विद्यार्थी राजनीति पत्रकारिकता हुँदै पार्टीमा टोखा नगरपालिकामा प्रमुख पदमा निर्वाचन लड्दै हुनुुहुन्छ । खासमा तपाईंको योगदानचाहिँ के हो ?

जब व्यक्तिले संघर्ष र त्याग गर्छ, ऊ लडेपछि फेरि उठ्न सक्छ, सबैको मनमा अट्न सक्छ । व्यक्तिगत ईच्छा कम, काम गर्ने हौसला र इच्छाशक्ति धेरै भए उसले सबैलाई समेट्न सक्छ । तब, समयले भन्छ कि तपाईं लाग्नुहोस्, कार्यकर्ता आफैँ लाग्छन् तपार्इंलाई जिताउन ।

तपाईंसँग दृढ विश्वास हुनुपर्छ । मैले नेपाल विद्यार्थी संघको तर्फबाट राजनीति गर्दै मेरो व्यवसाय र शिक्षा एकसाथ अघि बढाएँ । अहिले म पीएचडी गरिरहेकी छु । मेरो पढाइ र मैले गर्ने ‘प्रोफेसन’ मेरो पूर्वाधार हो ।

‘रजनी सचेतना फाउन्डेसन’ नामको मेरो अर्गनाइजेसन छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भ्रमण गर्ने क्रममा मैले देखे–भोगेका सम्पूर्ण कुरालाई समेटेर समाजका लागि केही न केही गरेकी छु । चाहे शिक्षामा होस्, चाहे स्वास्थ्य क्षेत्रमा होस्, चाहे महिला सशक्तीकरणको कुरा होस्, हरेक क्षेत्रमा सफलरूपमा काम गरेको छु । यसले ममा परिपक्वता ल्याएको छ ।

म राजनीतिमा त्यसै आएको हैन । मेरो जीवनको भोगाइ र किसान–मजदुरहरूको दुःखलाई परिवर्तन गर्नुपर्छ भनेर राजनीतिमा आएको हुँ ।

काठमाडौंको रजनी थापा र हुम्ला कालिकोटदेखि बाहुनडाँगीसम्मका महिलाहरूले उस्तै सुख भोग्न पाउनुपर्छ भनेर म राजनीतिमा आएकी हुँ । मेरो उमेदवारी नेपालका सम्पूर्ण महिला, अझ युवा जमातका लागि आत्मविश्वास बढाउनका लागि पनि हो । म परिवर्तनको संवाहक बन्न  सक्छु भन्ने आत्मविश्वास उमेदवारीपछि अझ बढेको छ ।

उपप्रमुखमा पराजित भएपश्चात् पाँच वर्षको अवधिमा टोखाबासीहरूसँग सँगसँगै हुनुुहन्छ ? 

मैले जुन दिन चुनाव हारेँ म भर्‍याङ ओर्लंदै गर्दा मेरो पराजयको खबर पाएर त्यतिबेला एकजना हजुरबुबाले भित्तामा टाउको ठोक्काएको देखेँ । हजुरबुबा–हजुरआमा रोएको देखेँ । त्यो मैले कमाएको वास्तविक सम्पत्ति रहेछ । मैले प्राविधिकरूपमा चुनाव हारेको थिएँ– तर, वास्तवमा मैले त्यतिबेलै सबैको मन जितेको रहेछु ।

चुनावमा पराजय भोगेको भोलिपल्टदेखि नै महिला सशक्तीकरणको कार्यक्रम अघि बढाएँ । महिला दिदी–बहिनीहरूलाई रोजगारी कसरी दिने, युवाहरूलाई कसरी अघि बढाउने, खेलकुदमा खेलाडीहरूलाई कसरी सक्रिय बनाउने भनेर कार्यक्रमहरू गरिरहेँ । निर्मला पन्तको निर्मम तरिकाले हत्या भएपश्चात् हामीले धनगढीको कभर्डहलमा तीन हजार महिलाहरूलाई आत्मरक्षाको तालिम दिएका थियौँ ।

हामीले यहाँ स्कलरसिप, निःशुल्करूपमा सेनेटरी प्याडहरू बाँडेका छौँ । हेल्थ क्याम्प गरेका छौँ । वृद्धवृद्धाका लागि जाडोमा न्यानो लुगाहरू बाँडेका छौँ । कोभिडको समयमा पहिलोपटक धेरै मात्रामा मास्क, सेनिटाइजर बाँडेका थियौँ । खान नपाएकाहरूलाई खाना खुवायौँ ।

काम त यति धेरै छ कि बिहान उठेदेखि बेलुका नसुतेसम्म मैले टोखा नगरपालिका छोड्नै पाइनँ । मेरो जिन्दगीको पाँच वर्ष यहीँ सेवा गरेर बित्यो ।

टोखा नगरपालिकावासीले आउने जनप्रतिनिधिहरूबाट के अपेक्षा गरेका रहेछन् ? 

आज देख्ने भोलि हराउने कामलाईचाहिँ म विकास मान्दिनँ । विकास त तपाईंले देखिरहन पाउनुपर्‍यो र भएको कुरा उपयोग गर्न पाउनुपर्‍यो । त्यो विकासले तपाईंको जीवनमा सकारात्मक परिवर्तन ल्याउनुपर्‍यो जनताका समस्याहरू समाधान हुने गरी जनजीवनलाई सहज, बनाउने विकास हुनुपर्‍यो । जस्तो कि गर्भवती हुँदाको प्रि–किडदेखि मृत्युसंस्कारसम्मका व्यवस्थापन टोखा नगरपालिकाले व्यवस्थान गरिदिनुपर्छ । नगरपालिकाको जिम्मेवारी बालबालिकादेखि वृद्धवृद्धासम्मलाई संविधानमा लेखिएको मौलिक हक अधिकार उपलब्ध  र जनताको जीवन सुरक्षित गराउने हो ।

के टोखा नगरपालिकाले फुड बैंकको स्थापना, शिशुदेखि वृद्धवृद्धाका लागि निःशुल्क स्वास्थ्य सेवा हामीले उपलब्ध गराउन सक्दैनौँ र ? हामीले निःशुल्क प्राविधिक शिक्षा दिन सक्दैनौँ र ? सक्छौँ, त्यसका लागि योजना चाहिन्छ, जनसहभागिता चाहिन्छ । त्यो प्रणाली टोखा नगरपालिकामा मेरो नेतृत्वमा शुरुवात हुनेछ ।

तपाईं नगरपालिकामा निर्वाचित हुनुभयो भने तपाईंले गर्ने पहिलो काम के हुनेछ ? 

मैले ‘प्लान अफ एक्सन’ बनाएको छु । हामी युवाहरू बोल्दैनौँ हामी लिखित डकुमेन्ट बनाउँछाैँ, योजना बनाउँछौँ र पाइपलाइनमा काम गर्छौ । मेरो पहिलो काम नै संविधान प्रदत्त मौलिक हकको कार्यान्वयन हुने छ । गाँस, बास, कपासको व्यवस्थापनको खाका बनाएर काम थाल्ने हुनेछ ।

भोको व्यक्तिलाई कम्प्युटर दिएर, आदर्श सिकाएर काम छैन, खाना नै दिनुपर्छ । सुलभ शुल्कमा उपचार अनि प्राविधिक शिक्षा अहिलेको आवश्यका हो । म सानोबाट शुरु गर्छु र पाँच वर्षमा दूरगामी परिवर्तन गरेर देखाउँछु । त्यो आभास तपाईंहरूले पाउनुहुन्छ ।

तपाईंको कल्पनाको टोखा नगरपालिका कस्तो हो ? 

यहाँ कस्तो विकास भइरहेको छ भने बिहान हेर्दा धेरै कुरा भएको देखिन्छ खुसी लाग्छ, तर जब एकहप्तापश्चात् फेरि त्यहीँ पुग्नुहुन्छ त्यो कुरा भताभुंग हुन्छ । मेरो कार्यकालमा म सडक बनाउँदा होस् वा शिक्षा नीति ल्याउँदा अथवा भौतिक संरचना बनाउँदा, म जनसहभागिताबाट मात्र काम गर्नेछु । अबको विकास एक व्यक्तिको योजना वा हचुवाको भरमा हुँदैन । विज्ञ जनशक्ति र प्राविधिक क्षेत्रमा निपूर्ण मानिसहरूको बृहत् छलफलबाट मात्र टोखाको विकास अघि बढ्छ ।

विकास अल्पकालीन हैन दीर्घकालीन हुनुपर्छ । एउटै कामलाई पटक पटक लगानी गर्दा त्यसले अन्य विकासका गतिविधिलाई रोक्छ । मैले त अन्तर्राष्ट्रियस्तरको सडक, शिक्षा, प्रविधिमा प्रोत्साहन र  जिल्लास्तरका खेलाडीहरूलाई नियमित अभ्यासका लागि हौसला दिन  भत्ताको व्यवस्था गर्ने पनि योजना छ । -बार्हखरी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार