बैसाख २२, २०८३ मंगलबार May 5, 2026

जबजलाई कार्यनीतिक रुपमा लिएर माक्र्सवादी ढंगले अगाडि जाने हिम्मत भएको भए एमालेको बुर्जुवाकरण रोक्न सकिन्थ्यो । – सीपी मैनाली (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाईंको आशय मदन भण्डारी भारतपरस्त नेता थिए भन्ने हो ?

उनीबाट गल्ति भएको हुन सक्छ । माधव नेपाल, मदन भण्डारीहरूले पहिले गलत सोच लिएको हुन सक्छ । ०४६ सालमा त त्यो कुरालाई आफैं उल्टाए नि । वाममोर्चा बनाउने र कांग्रेससँग सहकार्य गर्ने बाटोमै आए नि । तर, उनीहरुले पहिले लिएको गलत अडानप्रति आत्मालोचना किन गरेनन् ? पहिले यदि नबुझेर त्यस्तो अडान लिएको भए आत्मालोचना गर्नुपर्थ्याे । तर, उनीहरुले गरेनन् । यसको अर्थ उनीहरुले आफ्नो मनोज्ञानले मात्रै मेरो प्रस्तावको विरोध गरेका थिएनन् । उनीहरुमा बाह्य प्रभाव थियो ।

तर, तपाईंले भनेजस्तो मदन भण्डारीमा बाह्य प्रभाव थियो भन्ने त कुनै पनि तथ्य–प्रमाणले पुष्टि गर्दैनन् । आफ्ना विरोधिजति सबैलाई भारतपरस्त देख्ने तपाईंको मनोरोग मात्रै हो कि ?

यसमा म स्पष्ट छु । बाह्य शत्तिको प्रभाव कोबाट आयो, तर नेकपा मालेमा आएकै हो । हिजोको मुक्तिमोर्चामा काम गर्ने मान्छे र कोअर्डिनेसन केन्द्रमा काम गर्ने नेताकै माध्यमबाट त्यो अगाडि बढ्यो । कसले अगूवाइ गर्यो त्यो चाहिँ विश्लेषणको पाटो हो र मदन भण्डारी बाहक बने त्यसको । उनले त्यसवापत लाभ पनि उठाएकै हुन् । मजस्तो स्थापित नेतालाई पन्छाएर उनी पार्टीको शक्तिमा स्थापित भए ।

अर्को महत्वपूर्ण पाटो चाहिँ के हो भने आफूलाई बोकेर शक्तिमा पुर्‍याइदिने बाह्य शक्तिलाई उनले गुन तिर्न भने खोजेनन् । उनले महाकाली सन्धीलाई राष्ट्रघाति भनेर विरोध नै गरे । त्यो उनको राष्ट्रभक्ति थियो । सही अडान थियो । तर, आफैंले बोकेको नेताले नै महाकाली सन्धीको विरोध गरेपछि अन्ततः त्यही बाह्य शक्तिले दासढुंगा दुर्घटना रचेको मेरो निस्कर्ष छ ।

तपाईंको विचारमा दक्षिणको शक्तिले नै मदन भण्डारीको योजनाबद्ध हत्या गरेको हो ?

बिल्कुल त्यही हो । जसले एउटा नौसिखिया मान्छेलाई नेता बनायो, उसले नै आफूले भनेको नमानेपछि यो घटना गराइएको हनुपर्छ ।

नौसिखिया भन्नाले ?

राजनीतिमा नयाँ–सिकारु भनेको । उनी हामीभन्दा धेरै पछाडि आएका नेता हुन् । उनी मुक्तीमोर्चामा केन्द्रीय सदस्य समेत थिएनन् । पुष्पलालको पार्टीमा सांस्कृतिक संघको केन्द्रीय सदस्य थिए जसको महासचिव मोदनाथ प्रश्रित थिए । उनी वास्तवमा कम्युनिष्ट आन्दोलनमा ०३४ सालदेखि मात्रै आन्दोलनकर्मी भएर लागेका हुन् । उनी नौसिखिया नै थिए । उनलाई बाह्य शक्तिले उचालेरै महासचिव बनाइदिएको हो ।

यस्तो आरोप लगाउन तपाईंसँग कुनै ठोस आधार–प्रमाण छ कि पूर्वाग्रही अनुमान मात्रै हो ?

अनुमान होइन, यो मेरो राजनीतिक विश्लेषण हो । मैले मदन भण्डारीलाई नराम्रो मात्रै भनेको छैन । जसले उनलाई महासचिव बन्न मद्दत गर्यो, उसको नेपाल विरोधि नीतिको विरोधमा उभिनु त मदन भण्डारीको राम्रो पक्ष हो नि । उनको यो राष्ट्रभक्तिको म अहिले पनि प्रशंसा गर्छु । कुनै एउटा शक्तिबाट लाभान्वित भएर पद लिए पनि त्यो शक्तिले भनेको नमानेपछि उसले बदला लिने काम त गर्छ नि । त्यस्तै भएको हो ।

भनेपछि, मदन भण्डारीले बाह्य शक्तिको षडयन्त्र बुझ्न नसकेका हुन् ?

उनले बाह्य दबाबलाई कसरी हुन्छ छल्न सक्नुपथ्र्यो । सर्प पनि मर्ने र लाठी पनि नभाँचिने गरी बुद्धिमतापूर्ण तरिकाले काम गर्न उनले जानेनन् । उनी राजनीतिमा नौसिखिया नै थिएन नि त । त्यसैले जुन शक्तिले उनलाई उचाल्यो उसैले समाप्त पनि पार्यो । म दासढुंगा हत्याकाण्डको घोर निन्दा गर्छु, तर मदन भण्डारीले बाह्य शक्तिले दिएको लाभ ग्रहण गरेको कारणले नै यो नतिजा आएको हो ।

त्यो स्वभाविक दुर्घटना होइन । भोलिपल्टै म आफैं गएर दुर्घटनास्थल हेरेँ । त्यो रचिएको काण्ड भन्ने स्पष्टै छ । यद्यपि, यसमा मसित कुनै खुफिया जानकारी चाहिँ छैन ।

तपाईंको शब्दमा नौसिखिया नै भए पनि मदन भण्डारीले जनताको बहुदलीय जस्तो सिद्धान्त ल्याएर पार्टी पंतिको विश्वास जित्नु, अनि २०४६ सालको चुनावमा कृष्णप्रसाद भट्टराईलाई हराउनु चानचुने सफलता त होइन नि ?

उनको वक्तृत्व कला राम्रो थियो । आफ्नो गलत कुरालाई पनि सही भनेर भ्रम छर्न सक्ने खुबी थियो । त्यही प्राविधिक खुबीले गर्दा उहाँले पार्टी पंतिको विश्वास जित्न सफल भए । त्योभन्दा महत्वपूर्ण, मैले अघि नै भनेँ, कि बाह्य शक्तिले उनलाई हात दिए ।

मदन भण्डारीको जबज ल्याउँदा तपाईंले निकै आलोचना गर्नुभयो, आखिर तपाईंसहित नेपालका सबै कम्युनिष्ट आज जबजकै बाटोमा हिँडिरहेको यथार्थलाई नकार्न सक्नुहुन्छ ?

जबज भनेको वास्तवमा कम्युनिष्ट सिद्धान्त नै होइन । नेपालमा २०४६ सालको परिवर्तन हुँदा सोभियत संघको विघटन भएको अवस्था थियो । समाजवादी मुलुकहरु धमाधम ढलिरहेका थिए । विश्व्यापीरुपमा मार्क्सवाद र समाजवादमाथि साम्राज्यवादले तीव्र राजनीतिक प्रहार गरिरहेको बेला भण्डारीले मार्क्सवाद छोडेका हुन् । जनताको बहुदलीय जनवाद भनेको मार्क्सवादी शब्दावलीमा प्रजातान्त्रिक समावाद हो ।

जे भए पनि एउटा मौलिक सोच र कार्यक्रम त मदन भण्डारीले ल्याएकै हुन् नि ?

केको मौलिक हुन्थ्यो ? युरोपमा पराजित भएको थोत्रो सिद्धान्तको अन्धनक्कल हो यो । कसरी मदन भण्डारीले युरोकम्युनिज्मको डकुमेन्ट पढेर त्यसबाट अनुकरण गरे भन्ने साक्षी प्रमाण अहिले पनि जिवित छन् । जसले उहाँलाई युरोकम्युनिष्टका दस्तावेज दिए, उनीहरुले आवश्यक पर्दा सार्वजनिक गर्न सक्छन् । युरोपमा चुनावकै माध्यमबाट समाजबाद ल्याउन सकिन्छ भन्ने कम्युनिष्ट मान्यता थियो । बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष भन्ने सिद्धान्त मदन भण्डारीले युरोकम्युनिज्मबाटै साभार गरेका हुन् । तर, युरोपमा यो सिद्धान्त १० वर्ष पनि टिकेन । अहिले युरोकम्युनिज्मको नामोनिसान छैन । मदन भण्डारीले पनि यही माध्यमबाट नेपालमा जनवाद, समाजवाद, साम्यवाद आउँछ भनेका छन्, जुन मार्क्सवादसँग मेल खाँदैन ।

तर, तपाईं पनि त आजका दिनसम्म ‘बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष’ प्रणालीमै हुनुहुन्छ नि होइन र ?

हो, नेपालको राजनीति केही समय संसदीय प्रणालीबाटै अगाडि बढ्ने अवस्था छ । यसरी हेर्दा मदन भण्डारीको जबज तत्कालको निम्ति उपयोगी देखिन्छ । कार्यनीतिकरुपमा संसदीय प्रणालीलाई तत्काल उपयोग गर्ने कुरा मार्क्सवादसम्मत नै हो । तर यसलाई नै रणनीतिक सिद्धान्तका रुपमा अपनाउन सकिँदैन । मेरो विरोध जबजकै माध्यमबाट समाजवाद, साम्यवादमा पुग्न सकिन्छ भन्ने भण्डारीको सोचमाथि हो । यस्तो विल्कुल अमार्क्सवादी हुन्छ । तर मदन भण्डारीले यो कुरा पटक्कै मानेनन् । उनले जबजलाई रणनीतिक सिद्धान्त नै बनाए । अहिले केपी ओली अध्यक्ष भएको पार्टीे यही बहुदलीय जनवादबाट साम्यवाद आउँछ भन्छ ।

त्यसो भए के अझै पनि क्रान्तिबाटै जनवाद ल्याउनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ ?

जनवाद संसदीय प्रतिस्पर्धाबाट आउँदैन । यसका लागि जनताले बल प्रयोग नगरी हुन्न भन्ने मुख्य मेरो मान्यता हो । नत्र जनवादी सत्ता स्थापना सम्भव छैन । ठ्याक्कै चीनमा जस्तो नेपालमा नहोला । तर, जनताको बल प्रयोग वा क्रान्ति बेगर जनवाद आउँदैन ।

बल प्रयोग भनेको चाहिँ कस्तो ? सशस्त्र युद्ध नै हो कि सामान्य सडक आन्दोलन ?

सशस्त्र वा निशस्त्र भन्दा पनि जनताबाट बल प्रयोग हुनुपर्यो । झापामा आन्दोलनपछि मैले नै भनेको थिएँ, नेपालमा बलप्रयोगको रुपमा जनआन्दाेलन, चाहे जनविद्रोह वा अल्पकालीन सशस्त्र विद्रोह हुन सक्ला । चीनको जस्तो दिर्घकालिन जनयुद्ध चाहिँ नेपालमा हुन सक्दैन । झापा विद्रोहपछि हामीले समिक्षा गर्दा बलप्रयोगको रुप फरक हुन्छ, तर बिना बलप्रयोग पुरानो सत्ताको गर्भबाट नयाँ सत्ता जन्मिँदैन भन्ने निश्कर्ष निकालेका हौं । नयाँ सत्ता भनेको जनगणतन्त्र हो ।

संक्षेपमा भन्दा जबजमार्फत एमालेलाई मदन भण्डारीले बुर्जुवाकरण गर्नुभयो भन्ने तपाईंको आशय हो ?

बिल्कुल सही । त्यसमा कुनै शंकै छैन । उनी राजनीतिको मामलामा मार्क्सवादबाट च्यूत भए । स्खलित भए । उनले अरु धेरै मार्क्सवादी कुरा गरेका होलान् । तर मुख्य राजनीतिलाई हेर्ने दृटिष्कोण चाहिँ मार्क्सवादी भएन । राजनीति वर्गीय कुरा हो भन्छ मार्क्सवादले । शान्तिपूर्वकक सरकार बदल्न सकिन्छ तर सत्ता बदल्न सकिन्न । सुत्केरी स्याहार्नलाई धाइआमा चाहिएजस्तै सत्ता बदल्न जनताको बलप्रयोग आवश्यक पर्छ । तसर्थ यो राजनीतिक मामलामा मदन भण्डारी मार्क्सवादबाट स्खलित भए । त्यो स्खलन भनेको पूँजीवाद हो । पूँजिवाद पनि सक्कली होइन नक्कली पूँजिवाद ।

४६ सालपछिको पहिलो आम निर्वाचनमा लोकप्रिय प्रधानमन्त्रीलाई हराउनुमा उहाँको केही प्रतिभा र क्षमता त देख्नुहुन्छ होला नि ?

त्यसबेला जनमत नै वामपन्थीको पक्षमा थियो । म त वास्तवमा कृष्णप्रसाद भट्टराइलाई चुनाव जिताउनुनपर्छ भन्ने पक्षमा थिएँ । उनी र गणेशमान अलि बढी कम्युनिष्टसँग सहकार्य गर्ने नीतिका पक्षधर भएकाले भट्टराईको विरोधमा नजाउँ भनेको हुँ । तर राजनीतिक विश्लेषण नगर्ने एउटा भिडले मदनलाई भट्टराईसँग भिडाइदियो ।

कांग्रेसभित्र गिरिजा पनि भट्टराईविरुद्ध थिए । त्यो पक्षसँग मिलेर एमालेले भट्टराईलाई हराएको हो । थोडी एमालेले मात्रै हराएको हो र ? गिरिजा उनलाई हराउन सक्रिय भए । यो नतिजा नेपालको राजनीतिका निम्ति हानिकारक भयो । कृष्णप्रसाद आएको भए राजनीति यस्तो भ्रष्ट र आचरणहीन हुने थिएन । पूँजिवादी प्रजातन्त्र यति चाँडो विकृत हुने थिएन । उत्साहित फ्यानहरुको पछि लागेर मदन भट्टराइको विरुद्ध उठे । यसले देशलाई ठूलो नोक्सानी भयो । म कुनै बहादुरी ठान्दिनँ । त्यसलाई त नासमझी ठान्छु । उनले देशको मर्मलाई बुझेनन् । कृष्णप्रसाद आएर नेतृत्वको भए राजनीतिमा जुन गिरिजा आएपछि गन्दा खेल भयो, भ्रष्टाचार नांगो ढंगले भयो, त्यो हुने थिएन होला । सम्भवत माओवादीले ५२ सालमा विद्रोह गरेर जानुपर्ने हुँदैन थियो । नौसिखिया मदन भण्डारीको निर्णयले देशलाई नै गलत दिशामा लग्यो ।

एमालेले मदन भण्डारीलाई जननेता भन्नु गलत हो त्यसो भए ?

यो उनीहरुको कुरा हो । मदन भण्डारीको एउटा पक्षलाई अहिले पनि महत्व दिन्छु । जतिसुकै बाह्य शक्तिले उचाले पनि महाकाली सन्धीलाई उनले साथ दिएनन् । देशभक्तीपूर्ण अडान लिए । मृत्यूपर्यन्त देशभक्त नै रहे । तर उनका उत्तराधिकार भन्नेहरु उनको बाटोमा हिँडेनन् । न केपी ओली न माधव नेपाल । जे कुराको निम्ति मदन भण्डारी मारिए, माधव नेपाल, केपी ओलीले त्यसैलाई साथ दिए ।

मदन भण्डारी जिवित रहेको भए राजनीति धेरै फरक हुन्थ्यो भन्छन् नि कतिपयले, तपाईंलाई कस्तो लाग्छ ?

केही फरक हुन हुँदैनथ्यो । कि त उनले आफ्नो गल्ति सच्याउनुपथ्र्यो । जबजलाई कार्यनीतिकरुपमा लिएर माक्र्सवादी ढंगले अगाडि जाने हिम्मत भएको भए एमालेको बुर्जुवाकरण रोक्न सकिन्थ्यो । जबजलाई नै निरन्तरता दिएर मात्रामा परिवर्तन आउन सक्थ्यो होला, तर चरित्र र गुणमा परिवर्तन आउने थिएन । उनले लिएको बाटो नै विकृतिकरण, स्खलनको बाटो हो । विदेशी सिद्धान्तको अन्धनक्कल गर्ने उनी हुन् । बदल्न पनि उनलाई सजिलो हुन्थ्यो । तर, उनका पछुवाले सही वा गलत भए पनि त्यसलाई क्रिटिकल रुपमा हेर्नै सक्दैनन् । दोस्रो तेस्रो पिँढीकाले गलत कुरालाई अघि बढाउने बाहेक घटाउन कामै गर्दैनन् ।

तपाईं आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा  हुनुहुन्छ । अझै पनि क्रान्तिको कुरा गर्दै हुनुहुन्छ । यो उमेरसम्म नगरेको क्रान्ति अब कहिले गर्नुहोला ? अनि आफ्नो जीवनकालमा कार्यान्वयनमा ल्याउन नसकेको कुरालाई कागजी सिद्धान्त मात्र बनाएर के उपलब्धी हासिल हुन्छ ?

एउटा कुरा के हो भने हाम्रा आफ्नै मान्छेले आँगनमा फोहोर गरिदिए । यही फोहोर हटाउन मा र मजस्ता देशभक्तको पनि समय व्यतित भएको छ । यो फोहोरले जनता पनि प्रभावित छन् । कार्यकर्ता पनि प्रभावित छन् । लामो समय लिन्छ । त्यसैले मेरो जीवनकालमै जनवादी क्रान्ति हुन्छ भन्न सक्दिनँ । नेपाल प्रेस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार