काठमाण्डौः विद्यालय शिक्षाको माध्यमिक तहमा हाल २४ हजार ३ सय ८४ शिक्षक अपुग रहेको एक सरकारी अध्ययन प्रतिवेदनले औंल्याएको छ।
विद्यालय तहमा मावि तहमा विषयगत शिक्षक अपुग हुनु र अन्य तहमा दरबन्दी मिलान गर्न नसक्नुले सरकारी शिक्षामा गुणस्तर कायम हुन नसकेको उक्त प्रतिवेदनको निष्कर्ष छ।
प्रधानमन्त्री एवं राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा विसं २०७८ चैत १५ गते बसेको समितिको ४९औं बैठकले विद्यालय शिक्षामा स्रोत साधानको उचित व्यवस्थापन, गुणस्तर अभिवृद्धि र प्रभावकारी सुपरीवेक्षणको व्यवस्थाका लागि सुझाव दिन गठित समितिले पुसको पहिलो साता सरकारलाई बुझाएको प्रतिवेदनमा विद्यालय शिक्षाको गुणस्तर कायम गर्न र शिक्षालाई अनिवार्य र निःशुल्क गर्न विद्यालय तहको अपुग शिक्षकलाई तत्काल दरबन्दी सिर्जना गरी पूर्ति गर्न सुझाव दिएको छ।
राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य पुष्परमण वाग्लेको संयोजकत्वमा गठित समितिले देशभरि कुल ९ हजार ४ सय ४७ वटा माध्यमिक विद्यालयमा हाल १९ हजार ५ सय १७ शिक्षक कार्यरत रहेको तर विद्यार्थी संख्या र विषयगत आवश्यकताका आधारमा माध्यमिक तहमा कुल ४३ हजार १२ शिक्षक आवश्यक रहेको तथ्य उजागर गरेको छ।
यस हिसाबले पनि २४ हजार ३ सय ८४ शिक्षक अपुग रहेको प्रतिवेदनले औंल्याएको छ। यति मात्र होइन माध्यमिक विद्यालय मध्ये ७१ वटा विद्यालयमा मात्र विज्ञान, गणित र अंग्रेजी गरि तिनै विषयको शिक्षक दरबन्दी रहेको देखाएको छ भने सोही तहको १ सय दुई विद्यालयमा भने गणित र अंग्रेजी विषयको शिक्षक कार्यरत छन् भने १ सय ४ मावि तहको विद्यालयमा मात्र विज्ञान र अंग्रेजी विषयका शिक्षक कार्यरत रहेको देखिएको छ। यस्तो अवस्थामा विद्यालय तहको शिक्षामा गुणस्तर कायम गर्न नसकिने समिति सदस्य एवं अभिभावक महासंघका अध्यक्ष सुप्रभात मण्डारीले बताए।
‘सरकारले प्रारम्भिक बालविकासका सहयोगी कार्यकर्तालाई र सार्वजनिक विद्यालय कर्मचारी तथा कार्यालय सहयोगीलाई दिइआएको पारिश्रमिकमा पुनरवलोकन गरिनुपर्छ,’ समिति सदस्य भण्डारीले भने, ‘कक्षा ११ र १२ सञ्चालन भएको माविमा दरबन्दीमा शिक्षको व्यवस्था हुनुपर्छ। नागरिक दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया