काठमाण्डौंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नीति अधिवेशन अविलम्ब गर्नुपर्ने माग गर्नुभएको छ ।
बीपी विचार राष्ट्रिय समाज प्रदेश नं १ समितिद्वारा आज यहाँ आयोजित ‘बदलिएको राजनीति, चुनौतीहरू र राष्ट्रिय तथा मेलमिलापको आवश्यकता’ विषयक संगोष्ठीमा उहाँले नेतृत्वलाई महामन्त्रीहरूले नीति अधिवेशन गर्न वक्तव्यमार्फत माग गर्ने होइन गराउनेतर्फ पहल सुरु गर्नुपर्ने धारणा राख्नुभयो ।
नेता डा कोइरालाले नेपाली जनता प्रजातन्त्रबिना बाँच्न नसक्ने हुनाले नेपाली कांग्रेसले यसको संरक्षण र जोगाउने कार्यमा सदैव तयार रहनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भोलिको नेपाल बनाउने युवापुस्ता भएकाले उनीहरूलाई राष्ट्र, राष्ट्रियता र समाजवादका साथै बीपी, गणेशमान लगायतका नेताबारे जानकारी गराउन विद्यालयस्तरमा अन्तरक्रिया गर्न आग्रह गर्नुभयो ।
कांग्रेसका अर्का केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य अमृत अर्यालले पार्टीभित्र रहेको मनमुटाव हटाई एक ढिक्का भएर आगाडि बढ्नु आजको आवश्यकता भएको बताउनुभयो ।
समाजका अध्यक्ष दीपक लोहनी, पूूर्वमन्त्री शिवकुमार बस्नेत, पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे र सुधीर अर्यालले ‘नेतृत्वले निर्वाचनमा गठबन्धन किन गरियो र किन जोगाउन सकिएन’का सम्बन्धमा जनतालाई प्रस्ट रूपमा जानकारी दिनुपर्नेमा जोड दिनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया