असार २८, २०८२ शनिबार July 12, 2025

सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै नबसी स्थगित

नागरिक उन्मुक्तिले विश्वासको मत नदिएको खण्डमा मुख्यमन्त्री रावलले बहुमत पुर्याउन नसकी राजीनामा गर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ । बैठक भोलिसम्मका लागि विशेष कारणवश स्थगित भएको बताइएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेशसभामा विश्वासको मत लिने तयारी थियो । तर कारणवश बैठक स्थगित भएको हो । आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाइएको थियो।

तर मुख्यमन्त्रीले विश्वासको मत लिन नपाउँदै बैठक स्थगित भएको छ । प्रदेशसभामा सरकार गठनका लागि निर्णायक भूमिकामा रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने बताएपछि मुख्यमन्त्री रावलको पद सङ्कटमा परेको छ ।

टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भुक्तान गरिरहेका रेशम चौधरीको रिहाइ हुनुपर्ने माग राखेको नागरिक उन्मुक्ति पार्टीले उक्त माग सम्बोधन नभएको भन्दै विश्वासको मत नदिने बताइरहेको छ ।

मंगलबार नागरिक उन्मुक्ति पार्टीका सात प्रदेशसभा सदस्य र अध्यक्ष रञ्जिता श्रेष्ठले रेसम चौधरीलाई कारागारमै पुगेर भेट गरेका थिए । भेटमा सरकारलाई माग सम्बोधन नभएसम्म विश्वासको मत नदिनेबारे छलफल भएको थियो ।

नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम संसदीय दल सचेतक लक्ष्मण किशोर चौधरीले सरकारलाई माग सम्बोधन नभएसम्म विश्वासको मत नदिने बताए।

नागरिक उन्मुक्तिले विश्वासको मत नदिएको खण्डमा मुख्यमन्त्री रावलले बहुमत पुर्याउन नसकी राजीनामा गर्नुपर्ने हुन्छ। त्यसपछि १९ सदस्यसहित पहिलो दल रहेको नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश सरकार गठनको प्रक्रिया अघि बढ्ने छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया