काठमाण्डौः क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश जान अनुमति दिएको छ ।
आउन–जान लाग्ने समयबाहेक खेल सकिएको १५ दिनभित्र जिल्ला अदालत काठमाडौंमा उपस्थित हुनुपर्ने सर्तसहित उनीमाथिको प्रतिबन्ध हटाइएको हो ।
सोमबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले उच्च अदालत पाटनले लगाएको प्रतिबन्ध हटाउँदै लामिछानेलाई विदेश जान अनुमति दिएको हो ।
उच्च अदालतले यसअघि लामिछाने विदेश जान नपाउने आदेश गरेको थियो । लामिछानेको तर्फबाट उक्त प्रतिबन्ध हटाउन माग गर्दै सर्वोच्चमा निवेदन दायर गरिएको थियो । यस्तै, सरकारी वकिलको कार्यालयका तर्फबाट लामिछानेलाई थुनामै राखेर पुर्पक्ष गर्न पाउनुपर्ने मागसहित निवेदन दायर गरिएको थियो ।
लामिछानेविरुद्ध नाबालिगलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन छ । जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।
उच्च अदालतले भने लामिछानेलाई सर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको थियो । उच्चको सो आदेशलाई सर्वोच्चले सदर गरी लामिछानेलाई विदेश समेत जान पाउने अनुमति दिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया