श्रावण २, २०८२ शुक्रबार July 18, 2025

रुस-युक्रेन युद्धको शान्तिपूर्ण अवतरणको पक्षमा बोल्यो चीन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रूसले छेडेको युद्धलाई समर्थन गर्दै आएको चीनले आफ्नो धार बदल्ने संकेत देखाएको छ । युक्रेन मामिलाबारे रूसलाई समर्थन गर्दै आएको चीनले युद्धको शान्तिपूर्ण अवतरणमा जोड दिएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका समर्थकद्वय चिनियाँ राष्ट्रपति सी चिनफिङ र बेलारूसका राष्ट्रपति अलेक्सजेण्डर लुकासेनकोले रूस र युक्रेन युद्धको अन्त्य हुनुपर्ने पक्षको अभिव्यक्ति दिएका छन् । बेइजिङ पुगेका लुकासेन्कोले आफ्नो राष्ट्रले युक्रेन युद्धलाई शान्तिपूर्ण अवतरण गराउने चिनियाँ नीतिमा पूर्ण रूपले सहयोग गर्न बताएका छन् ।

चीनले गत साता युक्रेनको राष्ट्रिय स्वाधिनताको रक्षाका लागि शान्तिपूर्ण वार्ता आवश्यक रहेको बताएको बीबीसीले उल्लेख गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेर आएपछि चीनको यस्तो अभिव्यक्ति आएको हो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले मध्य एशियाका समकक्षीहरूसँग युक्रेन मामिलाबारे छलफल बढाउँदै जाँदा चीनको यस्तो अभिव्यक्ति सार्वजनिक हुनु संयोग मात्रै नरहेको टिप्पणी हुन थालेको छ ।

बुधबार चीन र बेलारूसले युक्रेमा जारी द्वन्द्वमा आफूहरूको गम्भीर चासो रहेको र त्यस द्वन्द्वको शान्तिपूर्ण अवतरण यथाशीघ्र हुनुपर्ने पक्षमा रहेको संयुक्त विज्ञप्ति जारी गरेको बेलारूसको राष्ट्रिय समचार संस्था बेल्टाले जनाएको छ । लुकासेन्कोले युद्धमा रूसलाई सहयोग गर्दै आएका छन् । पर्यवेक्षकहरूका अनुसार उनको बेइजिङ भ्रमण रूसलाई समर्थन गर्ने राष्ट्रहरू चीनसँग निकट छन् भन्ने सन्देश पनि हो ।

बेलारूसका नेताहरूले चीनको प्रस्तावको तारिफ गरेका छन् । ‘चीनले अन्तर्राष्ट्रिय सुरक्षाका खातिर अघि सारेको प्रस्ताव र पहलको बेलारूस उच्च प्रशंसा गर्दै त्यसमा सहयोग गर्दछ,’ लुकासेन्कोले भनेका छन् । चीन र बेलारूसका समकक्षीले जारी गरेको १२ बुँदे दस्तावेजमा सबै राष्ट्रको स्वाभिमानको सम्मान हुनुपर्ने उल्लेख छ । त्यस दस्तावेजले रूसले युक्रेनबाट पठाएको सेना फिर्ता गर्नुपर्ने विषयमा केही बोलेको छैन । यद्यपि पश्चिमाहरूले रूसमा लगाएको प्रतिबन्धको भने विरोध जनाएको छ ।

जारी युद्धमा कसैको पनि जित नहुने भन्दै लुकासेन्कोले यसको शान्तिपूर्ण अवतरण जरूरी रहेको विषय सी समक्ष उठाएको बताएका छन् । ‘यो मामिलालाई लिएर विश्व शक्तिमाझ देखापरेको टकराव अन्त्य हुन जरूरी छ । यो युद्धमा कसैको जीत हुनेवाला छैन शान्तिपूर्ण अवतरणमा नै सबैको विजय हुनेछ,’ उनले सीसँग भनेका थिए ।

युद्ध अवतरणमा चीन संलग्न हुन चाहेको संकेत : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जलेन्स्कीले युद्धको अवतरणमा चीनले आफ्नो संलग्नता खोजेको संकेत आफूले महसुस गरेको बताएका छन् । जेलेन्स्कीले चीनको प्रस्तावबारे राष्ट्रपति सीसँग आफूले छलफल गर्न चाहेको बताएका छन् ।

लुकासेन्कोसँगको भेटमा चिनियाँ राष्ट्रपति सीले शीत युद्धताकाको मानसकिता हटाएर सबै पक्ष छलफलमा बस्नुपर्ने बताएका छन् । रूस र युक्रेनको युद्धलाई राजनीतिकरण बन्द हुनुपर्ने र सबै पक्षले युद्धविराम र शान्तिपूर्ण अवतरणका लागि पहल गर्नुपर्ने सीको धारणा रहेको लुकासेन्कोको भनाइ छ ।

चीनले बेलारूससँग सम्बन्ध सुधार गरेपछि लुकासेन्को बेइजिङ पुगेका थिए । भेटबारे चीनको विदेश मन्त्रालयको वक्तव्यले भनेको छ, ‘अब रणनीतिक साझेदारीमा दुई मुलुक अघि बढ्नेछ ।’ चीनले यो वाक्यांश पाकिस्तानपछि बेलारूसको हकमा मात्रै प्रयोग गरेको छ । यसको मतलब चीनको कूटनीतिक स्थानमा बेलारूस रूसभन्दा ठीक तल रहेको बीबीसीको विश्लेषण छ ।

बेलारूस सुरुवातदेखि नै मस्कोको सहयोगी हो । रूसले युक्रेनको किएभमा क्षेप्यास्त्र प्रहार गर्दा बेलारूसकै सीमा क्षेत्र प्रयोग गरेको थियो । रूससँगको बलियो पक्षधरताबाट पछि हट्दै चीनले अहिले दुवैको हित हुनेगरी राष्ट्रिय स्वाधिनता र राष्ट्रिय सुरक्षाको सवाललाई जोडेको छ । यद्यपि, उसले युक्रेनमा रूसले गरेको आक्रमणको खण्डन भने गरेको छैन ।

गत साता चीनमाथि अमेरिकाले लगाएको आरोपको उसले कडा शब्दमा निन्दा गरेको छ । चीनले रूसलाई हतियार सहयोग गरिरहेको अमेरिकी आरोप थियो । त्यसमा चीनले भनेको छ, ‘अमेरिकाले रूस र चीनको सम्बन्धलाई लिएर औंला ठड्याउँछ भने हामीलाई स्वीकार्य छैन । अमेरिकी दबाव वा जबरजस्ती हामीलाई स्वीकार्य छैन,’ चिनियाँ विदेश मन्त्रालय वाङ वेनविनले भनेका छन् ।

चीनले सैन्य सामग्री र प्राविधिक उत्पादनमा प्रयोग हुने सेमिकन्डक्टर चीप रूसलाई पठाइरहेको आरोप पनि अमेरिकाले लगाएको थियो । गत बुधरबार अमेरिकी विदेशमन्त्री ब्लिंकेन काजकिस्तान र उज्बेकस्तानको भ्रमणमा गएका थिए । युद्धका कारण यस क्षेत्रमा देखापरेको दबावबारे जानकार रहेको भन्दै उनले यस क्षेत्रको स्वाधिनता रक्षाका लागि प्रतिबद्ध रहेको ब्लिंकेनले जनाए । ‘एक शक्तिशाली देशले बल प्रयोग गरेर एक सार्वभौम छिमेकीको सिमाना मेटाउन इच्छुक छ भने त्यो रोकिनुपर्छ, मध्य एशियाका देशहरूले यो बुझेका छन्,’ उनले भने ।

मध्ये एशियाका पाँचैवटा राष्ट्र तथा पूर्व सोभियत युनियनका राष्ट्रहरूले रूस र चीनसँग व्यापार गरिरहेका छन् । तर युद्धको विषयमा उनीहरू तटस्थ छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार