काठमाण्डौः आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले शानदार जित हासिल गरेको छ ।
यो जितसँगै अंक तालिकामा एक स्थान माथि उक्लिएको छ । त्रिदेशीय श्रृङ्खलाको अन्तिम खेलमा नेपालले यूएईलाई ४२ रनले पराजित गरेको हो । नेपाल दिएको २३० रनको लक्ष्य पछ्याउने क्रममा यूएई १८७ रनमै समेटिएको हो । यूएईका लागि आशिफ खानले ८२, आर्यन लक्राले ५० र वृत्य अरविन्दले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले तीन-तीन विकेट लिए । त्यस्तै, करण केसी, आरिफ शेख र सन्दीप लामिछानेले एक-एक विकेट लिए । यो जितसँगै नेपाल अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । नेपालको ३२ खेलमा ३२ अंक भएको छ ।
त्यस्तै, स्कटल्यान्ड ५० अंक सहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको ओमनको ४४, तेस्रो स्थानमा रहेको नामिबियाको ३९ र चौथो स्थानमा रहेको अमेरिकाको ३५ अंक छ । यसअघि पाँचौ स्थानमा रहेको यूएई यो हारसँगै छैटौं स्थानमा झरेको छ । यूएईको ३२ खेलमा ३१ अंक छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया