नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकालाई तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ देखि २५ गते मध्यरातसम्मका लागि पूर्ण रुपले निषेधित क्षेत्र कार्यान्वयन गर्ने निर्णय गरेको जिप्रकाले जनाएको छ । बैठकले सब्जीमण्डीलाई अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले सुरक्षा र स्वास्थ्यकर्मी तथा स्वाब संकलन गर्ने र कन्ट्रयाक्ट ट्रेसिङका जनशक्तिबाहेक अन्यलाई आवागमनमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा कुनै पनि किसिमले बाटो छेक्ने र राजमार्ग रोक्ने कार्य कोहीकसैबाट गर्न नपाइने र त्यस प्रकारको कार्य गरेमा कानूनी कारवाहीसमेत गर्ने निर्णय भएको छ ।
सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने र खलल पर्ने सामग्री प्रकाशन, प्रसारण र पोष्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानूनी दायरामा ल्याउने निर्णयसमेत बैठकले गरेको छ । नेपालगञ्जमा शुक्रबार र आइतबार गरी १६ जनामा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको प्रजिअ खड्काको भनाइ छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया