काठमाण्डौंः वेस्टब्याङ्कमा आज भएको गोलाबारीमा दुई जना महिला मारिएका छन् ।
जोर्डन उपत्यकाको उत्तरी भागमा रहेको हमरा जङ्शनमा गाडीमा आक्रमण हुँदा ती महिला मारिएका इजरायली सेनाले जनाएको छ । मृतकहरूको परिचय र थप विवरण सार्वजनिक गरिएको छैन ।
आक्रमण भएको गाडीमा रहेका अन्य मानिस पनि घाइते भएका बताइए पनि त्यससम्बन्धमा कुनै सूचना प्राप्त भएको छैन ।
यसैबीच, संयुक्त अधिराज्यले इजरायलमा भड्किएका हिंसाप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्बद्ध पक्षलाई संयमित हुन आह्वान गरेको छ ।
विदेशमन्त्री जेम्स क्लेभर्लिले गाजापट्टी र लेबनानमा इजरायलले हवाई आक्रमण गरेपछि बदलामा दुवैपक्षबाट इजरायलमाथि रकेट प्रहार भएकामा चिन्ता व्यक्त गर्दै तनाव कम गर्न आह्वान गर्नुभएको हो ।
इजरायलको आत्मरक्षाको अधिकारप्रति समर्थन जनाए पनि बेलायतका विदेशमन्त्रीले रमजानको पवित्र महिनामा पूर्वी जेरुसेलमस्थित अलअक्सा मस्जिदमा भएको झडपको आलोचना गर्नुभएको छ ।
साथै उहाँले उत्तेजक गतिविधि तत्काल बन्द गर्न पनि सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको छ । मध्यपूर्वमा दिगो शान्ति कायम गर्न द्वन्द्वरत पक्षबीच अविलम्ब वार्ता हुनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।
मध्यपूर्वमा शान्ति कायम गर्नेसम्बन्धमा विगतमा भएका क्षेत्रीय शान्ति शिखर सम्मेलनमा इजरायल र प्यालेष्टिनी पक्षबीच भएका सहमतिको सम्मान तथा तिनको पालनाबाट विमुख नहुन दुवै पक्षलाई बेलायतले आग्रह गरेको छ । रासस/एएफपी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया