असार २८, २०८२ शनिबार July 12, 2025

निजी क्षेत्रको चासो र माग सम्बोधन गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री (पूर्णपाठ)

‘निजी क्षेत्र बलियो र सशक्त नभई मुलुक समृद्ध हुन सक्दैन र दिगो विकासको लक्ष्य प्राप्त गर्न पनि सकिँदैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले ‘निजी क्षेत्रको चासो र माग सम्बोधन गर्न सरकार प्रतिबद्ध  रहेको बताउनुभएको छ ।

राजधानीमा आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घको ५७ औँ वार्षिक साधारण सभाको समुद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको क्रियाशीलता र योगदान अझ बढोस् भन्ने चाहेको समेत बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘निजी क्षेत्र बलियो र सशक्त नभई मुलुक समृद्ध हुन सक्दैन र दिगो विकासको लक्ष्य प्राप्त गर्न पनि सकिँदैन । यो कुरामा सरकार स्पष्ट छ । के कस्तो सुधार गर्नु पर्छ त्यसको लागि सरकार तयार छ ।’

उहाँले निजी क्षेत्रको समस्या राम्ररी बुझेको बताउनुहुँदै आफूले सरकारको नेतृत्व सम्हालेको दिनदेखि नै संकटाेउन्मुख अर्थतन्त्रलाई कसरी चाडै सहज अवस्थामा ल्याउन सकिन्छ भनेर छलफल गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्रीद्वारा व्यक्त मन्तव्यको पूर्णपाठ  :

कार्यक्रमका अध्यक्षज्यू,
माननीय मन्त्रीज्यूहरू,
नेपाल सरकारका मुख्यसचिव, सचिव एवं उच्चपदस्थ अधिकारीज्यूहरू,
महासङ्घका पूर्व अध्यक्षज्यूहरू,
महासङ्घका पदाधिकारीज्यूहरू,
उद्योगी व्यवसायी मित्रहरू,
सञ्चारकर्मी मित्रहरू,

उपस्थित आदरणीय महानुभावहरू ।
सर्वप्रथम नेपाल उद्योग वाणिज्य महासङ्घको ५७ औँ वार्षिक साधारण सभाको यस महत्वपूर्ण अवसरमा यहाँहरूप्रति हार्दिक बधाई ज्ञापन गर्दै साधारण सभाको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु । साथै कोभिड महामारी लगायत मुलुकसामु देखापरेका सङ्कटहरूमा महासङ्घले खेलेको भूमिकाप्रति आभार प्रकट गर्दछु ।

नयाँ संविधान निर्माणपछि आर्थिक विकास र समृद्धिमा गुणात्मक फड्को मार्ने अपेक्षा गरिए पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति एवं आयामका कारण हाम्रो अर्थतन्त्रले सङ्कटको सामना गरिरहेको छ । कोभिड महामारी, रुस–युक्रेन युद्ध, जलवायु परिवर्तन, लोकतन्त्र र संविधानमाथि आक्रमण र प्रतिरक्षाको राजनीतिक सङ्घर्ष, राजनीतिक अस्थिरता जस्ता कारण राजनीतिक प्रतिबद्धता र सङ्कल्प गरिएबमोजिम अर्थतन्त्रले फड्को मार्न नसक्दा राजनीतिक प्रणाली र संविधानमाथि आक्रमण गर्ने विचार र प्रवृत्तिले टाउको उठाउने प्रयाससमेत गर्दै आएको छ । तसर्थ, जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त राजनीतिक एवं संवैधानिक अधिकारको रक्षा एवं प्रगतिशील कार्यान्वयनका लागिसमेत आर्थिक समृद्धि र विकासलाई केन्द्रमा राखेर अगाडि बढ्नुको विकल्प छैन ।

नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएको निजी क्षेत्रले अर्थतन्त्रलाई सङ्कटबाट मुक्त गर्दै समृद्धिको लक्ष्य हासिल गर्न सरकारसँग मिलेर काम गर्ने जुन सङ्कल्प गरेको छ, तपाईँहरूको यो सङ्कल्पका निम्ति आभार प्रकट गर्दै नेपाल सरकारको तर्फबाट सम्पूर्ण रूपले सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु ।

वस्तु उत्पादन, बजार व्यवस्थापन, रोजगारी सिर्जना, राष्ट्रिय आयको वृद्धि र मुलुकको समग्र विकासमा निजी क्षेत्रले उल्लेख्य भूमिका खेल्दै आइरहेको छ । यस सन्दर्भमा बेलाबखत व्यवसाय सञ्चालनमा आउने बाधा र अवरोधहरूमा राज्यले सहजीकरण गर्नुपर्ने तपाईँहरूको अभिमतप्रति सम्मान व्यक्त गर्दै लगानीमैत्री एवं व्यवसायमैत्री वातावरणका निम्ति सरकारको पूर्णतः सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।

नेपालको संविधानले तीन खम्बे अर्थनीतिको संवैधानिक व्यवस्था गर्दै निजी, साझेदारी र सहकारीको मोडल अगाडि सारेको छ, यसले प्रष्ट गर्छ कि राज्य र निजी क्षेत्रबीच बलियो एकता र सहकार्यले मात्र समृद्धि र विकासको राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न सकिन्छ । निजी क्षेत्रलाई राज्यको तर्फबाट सम्मानित गर्नुपर्ने र प्रोटोकलमा समावेश गर्नुपर्ने जुन विषय यहाँहरूले उठाउनुभएको छ, यस प्रस्तावमा आवश्यक छलफल गरी उपर्युक्त निष्कर्षमा पुग्ने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।

कृषि हाम्रो अर्थतन्त्रको मूल आधार हो । तर पछिल्लो वर्षहरूमा कृषिको उत्पादन घट्दै गएको र कृषिजन्य वस्तुको आयात अत्यधिक बढ्दै गएको छ । एकातर्फ खेतीयोग्य जमिन बाँझो हुँदै जाने अर्कोतर्फ कामको खोजीमा दक्ष युवा जनशक्ति निकै सस्तो श्रममा बिदेसिनुपर्ने बाध्यता छ । कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिई कृषिमा आधारित उद्योगहरूलाई प्रोत्साहन गर्ने नीतिले मात्र उल्लेखित समस्यालाई सम्बोधन गर्न सकिन्छ । मलखाद र विउविजनको सहज उपलब्धता, सिँचाइको व्यवस्था, बजारीकरण, व्यवसायी कृषिमा जोड, ठूला कृषि परियोजनाहरूको सञ्चालन र उत्पादनमा आधारित अनुदानको नीतिले मात्र यस क्षेत्रमा परिवर्तन ल्याउन सकिन्छ । नेपाल सरकार यस वर्षको नीति, कार्यक्रम तथा बजेटमा उत्पादन र निर्माणका केही ठूला, केही नयाँ र गुणात्मक प्रकृतिका योजनाहरू अगाडि बढाउने तयारीमा छ । यसले मात्र निराशाको सामना गरिरहेको अर्थतन्त्रमा नयाँ ऊर्जा र गति ल्याउन सकिन्छ भन्ने मेरो विश्वास छ ।

निजी क्षेत्रको चासो र माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छ । मैले मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै अर्थतन्त्रमा सुधार ल्याउन राज्य र निजी क्षेत्रबीच गहिरो सहकार्य र बलियो एकता आवश्यक भएको महसुस गरी अर्थतन्त्र सुधारसम्बन्धी केही नीतिगत निर्णय गरेको थिएँ । त्यसको प्रभाव हाम्रो अर्थतन्त्रमा क्रमशः पर्दै गएको र अर्थतन्त्रमा सुधार आउन थालेको देखिन्छ । यस सन्दर्भमा तुलनात्मक लाभका क्षेत्रमा लगानी बढाउन, निजी क्षेत्रको चासो सम्बोधन गर्दै नीतिगत र कानुनी सहजीकरण गर्न, साना तथा मझौला उद्योगहरूलाई प्रोत्साहन गर्न, सेवा प्रवाहमा छरितोपन र प्रविधिमैत्री अवधारणा लागू गर्न, अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाउन, मौद्रिक नीति र वित्तीय नीतिबीच सन्तुलन कायम गर्न, ब्याजदर घटाउने उपायहरूको खोजी गरी लागू गर्न, पूँजीगत खर्चको सामर्थ्य बढाउन र अर्थतन्त्र सुधारका निम्ति आवश्यक पर्ने नीतिगत, कानुनी र व्यवहारिक कदम चाल्न सरकार तत्पर रहेको विषयसमेत यहाँ स्पष्ट पार्न चाहन्छु ।

नेपाल सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने, सन् २०२६ मा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र द्रुत साथै सन्तुलित विकास र समृद्धि हासिल गर्ने दिशातर्फ केन्द्रित छौँ । यसका लागि सरकार र निजी क्षेत्र दुबैबाट हुने लगानीलाई वृद्धि गर्नुपर्ने साथै लगानीलाई उचित ढंगले प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता छ । सरकारको प्रयासबाट सामाजिक(आर्थिक क्षेत्र केही प्रगति हासिल भएका छन् । बहुआयामिक गरिबी १७।४ प्रतिशतमा झरेको छ । शिक्षाको पहुँचमा महत्वपूर्ण प्रगति भएको छ । आधारभूत तहमा खुद भर्नादर ९५ प्रतिशत पुगेको छ । समग्र स्वास्थ्य सुविधाहरूमा जनताको पहुँचमा वृद्धि भएको छ । लैङ्गिक सशक्तीकरणमा उल्लेख्य सुधार भएको छ । आधारभूत खानेपानी सुविधामा ९५ प्रतिशत जनसङ्ख्याको पहुँच पुगेको छ । विद्युत् विकासमा हाम्रो प्रगति उत्साहजनक छ । सडक घनत्वमा सुधार भइरहेको छ र असमानता घटाउनेतर्फ उल्लेख्य काम भएको छ । विदेशी मुद्राको सञ्चिति बढेको छ, विप्रेषणमा सुधार आएको छ, पर्यटक आगमनमा वृद्धि भएको छ, अर्थतन्त्र विघटनको दिशातिर जान्छ कि भन्नेखाले आशङ्का निवारण भएको छ । समग्रमा हेर्दा हामी सङ्कटबाट सुधारको बाटो हिँड्दैछौँ भन्ने प्रष्ट चित्र देखिएको छ । यो हाम्रा लागि खुसीको कुरा हो ।

अर्थतन्त्र सुधारतर्फ उन्मुख भइरहे पनि पूर्णतः सङ्कटमुक्त भइसकेको छैन । अर्थतन्त्रलाई सुधार ल्याई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडि बढ्न सरकार प्रतिबद्ध छ । यसका निम्ति निजी क्षेत्रको पूर्ण साथ र सहयोग रहने मैले विश्वास लिएको छु ।

अन्त्यमा, यहाँहरूले देखाउनुभएको चासो र मागलाई सम्बोधन गर्न सरकार र निजी क्षेत्रको बलियो एकता आवश्यक रहेकोमा जोड दिँदै यस साधारण सभाले अर्थतन्त्र सुधारका क्षेत्रमा महत्वपूर्ण निर्णयहरू लिने अपेक्षा गर्दै, निर्वाचित भएर आउने नयाँ नेतृत्व र टिमलाई अग्रिम बधाई ज्ञापन गर्दै ५७ औँ वार्षिक साधारण सभाको भव्य सफलताको शुभकामना व्यक्त गर्दै बिदा हुन्छु, धन्यवाद ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५७ औँ वार्षिक साधारण सभामा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले गर्नुभएको सम्बोधन (२८ चैत्र २०७९)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया