भाद्र ११, २०८३ बिहिबार August 27, 2026

बाख्रापालनमा जमेका चन्द दम्पती

बुबाआमाको कृषिको लगाव देखेर होला छोराले पनि कृषि अध्ययनमा रुचि देखाउदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

टीकापुर, २८ असार : गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका बेला जानकी गाउँपालिका–९ का खेमबहादुर चन्दका दम्पती भने कृषि तथा पशुपालनमा जमेका छन् ।

चन्द दम्पतीले कृषि तथा पशुपालनमा आफूलाई स्थापित गर्दै लगका छन् । वडा नं ९ मा खेमबहादुर चन्द र रिजना चन्दले विसं २०७७ देखि अमरावती बाख्रापालन कृषि फार्म सञ्चालन गरी कृषि कर्म गर्दै आएका छन् । अरुणोदय मावि खैरीफाँटाको आठ बिघा १६ कट्ठा जमिन लिजमा लिएर उनीहरूले बाख्रापालन गरिरहेका छन् । अहिले उनीहरूको खोरमा ७५ बाख्रा छन् । चन्द दम्पतीले बाख्रापालनबाट वार्षिक रु पाँच लाखसम्म कारोबार गर्ने गरेका छन् । यसबाहेक सिजनअनुसारको खेतीपातीबाट समेत आम्दानी हुने गरेको उनीहरू बताउँछन् ।

सुरूमा परम्परागत रूपमा बाख्रा पालेका चन्द दम्पती व्यावसायिक बाख्रापालन गर्दा धेरै मेहनत गर्नुपरेको अनुभव सुनाउँछन् । “बाख्रापालन गर्दा विगतजस्तो चराउने चरन छैन, बाधेर बाख्रा पाल्दा बढी मेहनत गर्नुपर्छ”, खेमबहादुरले भन्नुभयो, “सामुदायिक वन उपभोक्ताले संरक्षण थालेपछि बाख्राका लागि चरन अभाव छ । बाँधेर पाल्दा दाना र घाँस बढी चाहिन्छ ।”

यही पेसाबाट जीवन चलाइरहेका चन्द दम्पतीलाई रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले पनि सघाएको छ ।

“हामीजस्ता वास्तविक किसानलाई अनुदान सहयोग हुनुपर्छ । आयोजनाले गरेको सूचनाअनुसार सहयोग लिइरहेका छौँ”, रिजना चन्दले भन्नुभयो, “आयोजनाले खोर सुधार, खोर मर्मतमा सघाएको छ । घास काट्ने मेसिन, बोका सहयोग पाएका छौँ ।”

विभिन्न पालिकाले किसानलाई वितरण गर्न यहीबाट बाख्रा लिन थालेपछि उनीहरूले उत्पादन बढाउन थालेका हुन् । बजारको अभाव नभएपछि उनीहरूको ध्यान उत्पादनमा मात्र छ । यतिखेर उनीहरूको फर्म हेर्न स्थानीय कृषकहरू आउने गरेका छन् । लिजमा लिएको यही जमिनमा घाँसखेती र अन्य अन्नबाली लगाउने गर्नुभएको छ । यहाँ भएका बाख्रा स्थानीयस्तरमा पाइने जातकै छन् । बोका भने सिँचाइ आयोजनाले बयर जातको दिएको रिजनाको भनाइ छ ।

सुरूसुरूमा बाख्रा पाल्दा रोग लाग्दा समस्या झेलेका चन्द दम्पतीले आजभोलि बाख्रा बिरामी हुँदा खुवाउने औषधि र रोग बारे बुझेको बताउनुहुन्छ । “पशुपालन गर्दा हुने क्षतिबाट जोगिन बाख्राको बिमा गर्ने गरेका छौँ, पहिलो वर्ष ज्ञान नहुँदा क्षति बेहोरेका छौँ”, खेमबहादुरले भन्नुभयो, “अब त कुन रोग लाग्यो भनेर सामान्यतया अड्कल पनि गरिहाल्छौँ, अहिले त सजिलोसँग बूढाबूढी मिलेर काम गरिरहेका छौँ ।”

यही बाख्रापालन र कृषि कर्मको आम्दानीबाट चन्दका छोरा कृषि विज्ञान स्नातक तह अध्ययन गरिरहेका छन् । बुबाआमाको कृषिको लगाव देखेर होला छोराले पनि कृषि अध्ययनमा रुचि देखाएको खेमबहादुरको भनाइ छ । बाख्रापालन गरेर छोराको पढाइ खर्च, घर खर्च सबै सहजै चलेको उहाँले बताउनुभयो ।

सिँचाइ आयोजनाका पशु प्राविधिक पुष्पराज भारती चन्द दम्पतीले मेहनतअनुसारको फल लिइरहेको बताउनुहुन्छ । “मेहनत गरेर पेसामा टिक्नुभएको छ”, उहाँले भन्नुभयो, “बाख्रापालनसँगै खेतीपाती पनि गरिरहेकाले उहाँहरूलाई यही पेसामा टिक्न सहज भएको छ ।”

यस क्षेत्रका महिला पुरुष पछिल्लो समय रोजगारीका लागि भारतको बैङ्गलोर जाने गरेका छन् । यसरी जाने परिवारले सामान्यतया मासिक ३०/३५ हजार भारतीय रूपैयाँ कमाउने गरेका छन् । यतिखेर यस क्षेत्रका नेपाली दम्पती सयौँको सङ्ख्यामा बैङ्गलोरमा गएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हर्नामाडीको गुम्बाडाँडा बन्यो मूर्तिकलाको खुला सङ्ग्रहालय
२०८३ भाद्र ११, बिहिबार
भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि आइएफआरसीले १९ करोड सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार
गाजामा युद्धविराम कमजोर, वेस्ट ब्याङ्कको अवस्था बिग्रदै गएको राष्ट्रसङ्घको चेतावनी
२०८३ भाद्र ११, बिहिबार
मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित
२०८३ भाद्र ११, बिहिबार
एकजुट भई विपत्तिको सामना गरौँः उपराष्ट्रपति यादव
२०८३ भाद्र ११, बिहिबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन (सूची सहित)
२०८३ भाद्र ११, बिहिबार
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले
२०८३ भाद्र ११, बिहिबार