काठमाडौँ, ११ भदौः रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन भएका छन् ।
नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार बुधबार बिहान भोटेकोशीमा आएको बाढीमा परेर १२७ नेपालीसहित ६४४ पर्यटक सम्पर्कविहीन भएका हुन् । पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका ६४४ पर्यटक सम्पर्कविहीन भएको राससलाई जानकारी दिनुभयो ।
बेपत्ता हुनेमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् । हालसम्म भारतका १७८, अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अष्ट्रेलियाका ३५ जना, संयुक्त अधिराज्य बेलायतका ३३ जना, क्यानडाका २५ जना रहेका छन् ।
यसबाहेक सिङ्गापुर, दक्षिण अफ्रिका, न्युजिल्याण्ड, जापान, जर्मनी, फ्रान्स, रुस, स्पेन, आयरल्याण्ड, नेदरल्याण्डलगायतका ३३३ देशका नागरिक बाढीमा परेर सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
बाढीले टिमुरे र स्याफ्रुबेँसी क्षेत्रका बस्ती, प्रहरीचौकी र भन्सार कार्यालयमा ठूलो क्षति पु¥याएको छ । बाढीका कारण रसुवागढी नाका जोड्ने सडक र पुलहरू समेत क्षतिग्रस्त भएको छ ।
नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न भनेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया