भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भ्रष्टाचार गरेर देशलाई आर्थिक तथा राजनीतिक संकटमा पुर्याउने र आन्दोलनका नाममा देशका सार्वजनिक तथा निजी सम्पत्ति नष्ट गर्ने दुवै प्रवृत्ति देश र जनताका लागि हानिकारक भएको बताएका छन्।
नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा सोमबार भक्तपुरमा आयोजित सांस्कृतिक भिन्तुना र्यालीपछि आयोजित कार्यक्रममा बोल्दै सुवालले यस्तो धारणा व्यक्त गरेका हुन्।
उनले पुराना राजनीतिक दलहरूले भ्रष्टाचार गरेर देशलाई कमजोर बनाएको आरोप लगाउँदै आफूलाई नयाँ शक्ति दाबी गर्ने दलहरू पनि आन्दोलनका नाममा देशमा तोडफोड र आगजनी गर्ने गतिविधिमा संलग्न भएको आरोप लगाए।
गत वर्ष भदौ २३ र २४ गते भएका घटनालाई संकेत गर्दै सुवालले पुराना दलहरूको भ्रष्टाचार र नयाँ भनिएका दलहरूको आन्दोलनका नाममा भएको विध्वंस दुवैबाट देशले निकास पाउन नसक्ने टिप्पणी गरे।
उनले देशमा भ्रष्टाचार नियन्त्रण गर्न सरकारको नेतृत्व तहबाटै सुधारको सुरुवात हुनुपर्नेमा जोड दिए। प्रधानमन्त्री इमानदार भए मन्त्रीहरूलाई भ्रष्टाचार गर्न कठिन हुने र मन्त्रीहरू इमानदार भए प्रशासनिक तहमा पनि भ्रष्टाचार नियन्त्रण गर्न सहज हुने उनको भनाइ थियो।
‘प्रधानमन्त्रीले भ्रष्टाचार गर्नुभएन भने मन्त्रीहरूले गर्न सक्दैनन्, मन्त्रीहरूले गर्न नसकेपछि हाकिमहरूले गर्न सक्दैनन्,’ सुवालले भने।
उनले राजनीतिक नेतृत्व र प्रशासनिक संयन्त्रमा इमानदारी कायम गर्न सके मात्रै भ्रष्टाचार नियन्त्रणको अभियान प्रभावकारी बन्ने धारणा राखे।
नेपाल संवत् नयाँ वर्षको अवसरमा आयोजित सांस्कृतिक र्यालीमा सहभागी हुँदै सुवालले देशको राजनीतिक अवस्था, भ्रष्टाचार नियन्त्रण र राष्ट्रिय सम्पत्तिको संरक्षणका विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया