काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी नेपाल प्रहरीको साइबर ब्यूरोमा सोधपुछपछि छुटेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह र उनीनिकट व्यक्तिहरूबारे सामाजिक सञ्जालमा गरेको टिप्पणीका विषयमा प्रहरीले उनलाई बोलाएर सोधपुछ गरेको हो।
शिवाकोटी नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेलसँगै साइबर ब्यूरो पुगेका थिए। सोधपुछपछि उनी घर फर्किएका छन्।
नेपाल प्रेस युनियनका महासचिव पौडेलका अनुसार प्रहरीले शिवाकोटीले प्रधानमन्त्री बालेन्द्र शाहबारे सामाजिक सञ्जालमा लेखेको स्टाटस हटाउन दबाब दिएको थियो। तर, शिवाकोटीले आफूले लेखेको स्टाटस नहटाउने अडान लिएका थिए।
पौडेलका अनुसार शिवाकोटीले उक्त टिप्पणी हटाउनुको सट्टा त्यसबापत भोग्नुपर्ने कानुनी कारबाहीका लागि समेत तयार रहेको जवाफ दिएका थिए।
प्रहरीले शिवाकोटीसँग पत्रकार रोशन खड्काको निजी मामिलासँग सम्बन्धित विषयमा सामाजिक सञ्जालमा लेखिएको अर्को स्टाटसबारे पनि सोधपुछ गरेको थियो।
उक्त स्टाटससमेत डिलिट वा सम्पादन नगर्ने अडान शिवाकोटीले लिएको पौडेलले जानकारी दिएका छन्।
सोधपुछका क्रममा प्रहरीले उनलाई स्टाटसका विषयमा पुनर्विचार गर्न सुझाव दिएको र त्यसपछि घर जान अनुमति दिएको पौडेलको भनाइ छ।
यस घटनाले सामाजिक सञ्जालमा व्यक्त गरिने विचार, अभिव्यक्ति स्वतन्त्रता र त्यससम्बन्धी कानुनी सीमाबारे पुनः बहस सिर्जना गरेको छ।
यद्यपि, साइबर ब्यूरोले सोधपुछको आधिकारिक कारण, सम्भावित कानुनी प्रक्रिया वा घटनाबारे विस्तृत धारणा सार्वजनिक गरेको विवरण प्राप्त भएको छैन।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया