काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राज्य व्यवस्थामा विवेकहीन, अराजक र निरंकुश प्रवृत्ति हाबी भएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले पछिल्लो समय सुशासन र विकासका क्षेत्रमा विगतका वर्षहरूमा कुनै पनि काम नभएको भन्दै तथ्यहीन र अराजक प्रचार भइरहेको बताएका हुन्। उनले यस्ता प्रचारले वास्तविक तथ्यलाई ओझेलमा पार्ने काम गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।
आफ्नो नेतृत्वमा सरकार रहँदा भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा अभियान सञ्चालन गरिएको दाबी गर्दै प्रचण्डले त्यही अभियान अघि बढिरहेका बेला आफू नेतृत्वको सरकारलाई अपदस्थ गरिएको बताए। उनले सुशासन कायम गर्ने तथा भ्रष्टाचार नियन्त्रण गर्ने प्रयासलाई निरन्तरता दिन खोज्दा राजनीतिक रूपमा त्यसको प्रतिरोध भएको दाबी गरे।
प्रचण्डले वर्तमान सरकारको कार्यशैलीप्रति पनि तीव्र असन्तुष्टि व्यक्त गरे। सरकारका गतिविधि र कामकारबाही हेर्दा आफूलाई हिन्दी जासुसी फिल्मजस्तो लाग्ने टिप्पणी गर्दै उनले सरकारले हुँदै नहुने र विचित्रका कामहरू गर्न थालेको आरोप लगाए।
उनले राज्य सञ्चालनमा विधि, प्रक्रिया र लोकतान्त्रिक मूल्य–मान्यतालाई प्राथमिकता दिनुपर्नेमा त्यसविपरीतका गतिविधि बढ्दै गएको दाबी गरे। पछिल्लो राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रचण्डले सरकारको कार्यशैली र गतिविधिबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया