काठमाडौं । आईसीसी विश्वकप छनोट प्ले–अफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको खेलतालिकाअनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ अर्थात् मंसिर १८ गतेदेखि काठमाडौंमा सुरु हुनेछ। प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन्।
घरेलु टोली नेपालले प्रतियोगिताको उद्घाटन खेलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र इटालीबीचको खेल मंसिर १८ गते कीर्तिपुर मैदानमा हुनेछ। नेपालले आफ्नो दोस्रो खेल मंसिर २० गते युगान्डासँग खेल्नेछ। त्यसपछि मंसिर २४ गते संयुक्त अरब इमिरेट्स (यूएई), मंसिर २६ गते जर्सी र मंसिर २८ गते क्यानडासँग प्रतिस्पर्धा गर्ने तालिका छ।
नेपालले समूह चरणको अन्तिम दुई खेलमा नामिबिया र कुवेतसँग खेल्नेछ। नेपालले नामिबियासँग पुस ३ गते र कुवेतसँग पुस ६ गते प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा नेपालले खेल्ने सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन्।
प्रतियोगितामा नेपालसहित आठ टोली सहभागी हुनेछन्। आईसीसी विश्वकप क्रिकेट लिग–२ को अङ्कतालिकामा पुछारमा रहेका नेपाल, नामिबिया, क्यानडा र यूएईसँगै च्यालेन्ज लिगबाट छनोट भएका इटाली, कुवेत, युगान्डा र जर्सीले प्रतिस्पर्धा गर्नेछन्।
यस प्रतियोगिताको अङ्कतालिकामा शीर्ष चार स्थान हासिल गर्ने टोलीले सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन्। लिग–२ को शीर्ष चारमा रहेका अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानले भने ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गरिसकेका छन्। त्यसैले नेपालसहितका आठ टोलीका लागि विश्वकप यात्रालाई अघि बढाउने यो प्रतियोगिता महत्त्वपूर्ण हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया