काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा दुई रोमाञ्चक खेल हुँदैछन्।
दिउँसो १२:३० बजे सुरु हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।
जारी प्रतियोगितामा चार खेलबाट दुई जित र दुई हारको नतिजा निकालेको सुदूरपश्चिमलाई प्लेअफको यात्रा मजबुत बनाउन आजको खेल जित्नैपर्ने दबाब छ। अर्कोतर्फ, तीन खेलमा एक जित र दुई हारको सामना गरेको कर्णाली याक्स पनि जित दर्ता गर्दै अंक तालिकामा आफ्नो स्थिति सुधार्ने लक्ष्यका साथ मैदान उत्रिनेछ।
यसैगरी, साँझ ५ बजे हुने दोस्रो प्रतिस्पर्धामा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्दैछन्।
तीन खेलबाट एक जित, एक हार र एक खेलमा अंक बाँड्दै तीन अंक जोडेको चितवन तालिकाको तल्लो स्थानबाट माथि उठ्ने दाउमा छ। यता लगातारको हारपछि पहिलो जितको खोजीमा रहेको पोखरा एभेन्जर्स भने आज चितवनलाई हराउँदै जितको खाता खोल्ने योजनामा छ।
अंक तालिकाको समीकरणमा ठूलो फेरबदल ल्याउन सक्ने भएकाले आजका दुवै खेललाई टोलीहरूले निकै महत्त्वका साथ हेरेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया