काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित दर्ता गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको हो।
चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। सुदूरपश्चिमको जितमा ब्रेन्डन म्याकुलमले सर्वाधिक ४३ रनको योगदान दिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो।
चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रन बनाए। उनी अर्धशतक बनाउन एक रनले चुके। चितवनका अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन नसक्दा टोलीले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्न सकेन।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलाइनले दुई विकेट लिए।
१३० रनको सामान्य लक्ष्य पछ्याएको सुदूरपश्चिमले आक्रामक ब्याटिङ गर्दै निर्धारित समयभन्दा अघि नै लक्ष्य पूरा गर्यो। यस जितसँगै सुदूरपश्चिमले प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ भने चितवनले हार बेहोरेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया