कार्तिक २३, २०८३ सोमबार November 9, 2026

रैथाने सांस्कृतिक परम्परामा तिहारको विशेष महत्व : उपराष्ट्रपति यादव

सांस्कृतिक सेतुका रूपमा तिहारले राष्ट्रिय एकतालाई थप मजबुत बनाएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिमाल, पहाड र तराई–मधेसका समुदायलाई साझा उत्साह, सम्मान र परस्पर सद्भावका माध्यमबाट जोड्ने सांस्कृतिक सेतुका रूपमा तिहारले राष्ट्रिय एकतालाई थप मजबुत बनाएको बताउनुभएको छ ।

तिहार (शुभ दीपावली), २०८३ का अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपाल विविध भाषा, संस्कृति, परम्परा, जातजाति र धार्मिक विश्वासले सुशोभित राष्ट्र भएको बताउनुभएको छ ।

उपराष्ट्रपति यादवले तिहारले यही विविधतालाई आत्मीय सम्बन्धको सूत्रमा बाँध्दै ‘विविधतामा एकता’ को राष्ट्रिय भावनालाई थप सशक्त बनाउने उल्लेख गर्नुभएको छ ।

रैथाने सांस्कृतिक परम्परामा तिहारको विशेष महत्व रहेको जनाउँदै उपराष्ट्रपतिले काग तिहारले सूचना र सन्देश, कुकुर तिहारले निष्ठा र समर्पण, गाई तिहारले मातृत्व, समृद्धि र जीवनदायी संस्कृतिप्रतिको श्रद्धा र गोरु पूजाले श्रम, उत्पादन र कृषि सभ्यताको गौरवलाई उजागर गर्ने बताउनुभएको छ ।

“लक्ष्मी पूजाले समृद्धिसँगै सदाचार र सदुपयोगको सन्देश दिन्छ भने देउसी–भैलोले गाउँदेखि शहरसम्म सामूहिक आनन्द, सहकार्य र सामाजिक एकताको भावना बलियो बनाउँछ । भाइटीका (भ्रातृ द्वितीया) ले दाजुभाइ तथा दिदीबहिनीबीचको स्नेह, विश्वास र आजीवन आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसर प्रदान गर्दछ”, उपराष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

उपराष्ट्रपतिले तिहारका अवसरमा मधेसमा गोवद्र्धन पूजा, सामुहिक रुपमा खेलिने ‘हुक्का–लोली’ (हुक्कापाति) र ‘हुर्राहुरी’ जीवन्त लोकसंस्कृतिका अमूल्य प्रतीक भएको बताउनुभएको छ ।

गोवद्र्धन पूजाले कृषि, पशुपालन तथा प्रकृतिप्रतिको सम्मान अभिव्यक्त गर्दछ भने हुक्का–लोली र हुर्राहुरीले गाउँघरमा आपसी सद्भाव, भाइचारा, सामुदायिक एकता र उत्सवधर्मितालाई बलियो बनाउने उहाँको भनाइ छ ।

यी परम्पराले मौलिक पहिचान, लोकजीवन र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदालाई जीवन्त राख्दै सामाजिक सहअस्तित्व र सामूहिक आनन्दको सन्देश प्रवाह गर्ने उपराष्ट्रपतिको विश्वास छ ।

उपराष्ट्रपति यादवले तिहार दीप प्रज्वलनको पर्व मात्र नभई नेपाली सभ्यता, संस्कार, प्रकृतिप्रतिको सम्मान, पारिवारिक आत्मीयता र सामाजिक सहअस्तित्वको जीवन्त उत्सव भएको बताउनुभएको छ ।

“घर–आँगनमा बालिने दीपले अन्धकार मात्र हटाउँदैनन्, तिनले आशा, विश्वास, सद्भाव र मानवीय करुणाको उज्यालो पनि छर्दछन् । यही उज्यालोले निराशामाथि आशा, विभाजनमाथि एकता र स्वार्थमाथि मानवताको विजयको मार्ग प्रशस्त गर्दछ”, उपराष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

प्रविधिको विकाससँगै मानवीय सम्बन्ध, सामाजिक मूल्य र सांस्कृतिक पहिचानलाई जोगाइराख्नु पनि हाम्रो साझा दायित्व बनेको उल्लेख गर्दै उपराष्ट्रपतले यस्ता पर्वले मौलिक संस्कृति, लोकपरम्परा, पारिवारिक मूल्य र सामुदायिक जीवनशैलीलाई संरक्षण तथा प्रवद्र्धनको अवसर प्रदान गर्ने बताउनुभएको छ ।

तिहारलाई केवल उत्सवका रूपमा नभई हाम्रो राष्ट्रिय सांस्कृतिक सम्पदाको संरक्षण र सम्वर्धनसँग जोडेर हेर्न आवश्यक रहेको उपराष्ट्रपतिद्वारा जारी सन्देशमा जनाइएको छ ।

उपराष्ट्रपतिले आपसी वैमनस्यता, घृणा, विभेद र असहिष्णुताभन्दा माथि उठेर सहिष्णुता, सामाजिक न्याय, पारस्परिक सम्मान र राष्ट्रिय उत्तरदायित्वको भावना अभिवृद्धि गर्न प्रेरित गरोस् भनी कामना गर्नुभएको छ ।

उज्यालोको यस पर्वले सम्पूर्ण नेपालीलाई राष्ट्र निर्माणको साझा यात्रामा एकताबद्ध बनाउँदै समृद्ध, आत्मनिर्भर र सभ्य नेपालको सपना साकार पार्ने ऊर्जा प्रदान गर्ने उपराष्ट्रपतिको विश्वास छ ।

उपराष्ट्रपतिले तिहार पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सांस्कृतिक गौरव, लोकतान्त्रिक मूल्य, सार्वभौमसत्ता तथा राष्ट्रिय अखण्डताको भावनालाई अझ सुदृढ बनाउँदै देशलाई समुन्नति र समृद्धिको दिशामा अग्रसर गराओस् भनी कामना गर्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तिहारले आपसी सद्‌भाव र समृद्धिको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल
२०८३ कार्तिक २३, सोमबार
रैथाने सांस्कृतिक परम्परामा तिहारको विशेष महत्व : उपराष्ट्रपति यादव
२०८३ कार्तिक २३, सोमबार
बाजुरा जिल्ला अदालत तिहार बिदामा पनि खुला रहने
२०८३ कार्तिक २३, सोमबार
बिदामा पनि विद्यार्थीको पढाइ अनुगमन गर्न घरदैलोमा पुग्यो विद्यालय
२०८३ कार्तिक २३, सोमबार
स्पेनिस ला लिगा : एट्लेटिकोलाई २–१ ले हराउँदै बार्सिलोना शीर्षस्थानमा कायमै
२०८३ कार्तिक २३, सोमबार
महाधिवेशनमा आर्थिक चलखेल भएको हल्लाका भरमा प्रश्न नउठाउन विश्वप्रकाश शर्माको आग्रह
२०८३ कार्तिक २३, सोमबार
साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड
२०८३ कार्तिक २३, सोमबार