काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाली चाडपर्व र संस्कृतिमा पशुपन्छीप्रतिको सम्मान, आत्मीयता र सहअस्तित्वको भावना जोडिएको बताएका छन्। यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले पशुपन्छीसँगको आत्मीयतालाई हाम्रा चाडपर्वको सुन्दर पक्षका रूपमा व्याख्या गरेका हुन्।
सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले कागलाई यमराजको दूतका रूपमा सम्मान गर्ने धार्मिक तथा सांस्कृतिक परम्पराको स्मरण गरेका छन्। प्राचीन समयमा आधुनिक सञ्चारका माध्यम नभएका बेला काग कराउँदा कतैबाट समाचार वा पाहुना आउँदैछन् भन्ने विश्वास रहेको उल्लेख गर्दै उनले कागलाई मीठा परिकार खुवाएर शुभ सन्देशको कामना गर्ने परम्परा रहेको बताएका छन्।
प्रधानमन्त्री शाहले यमयातनाबाट मुक्तिको कामनासहित परिवारका सदस्यका नाममा यम दीपदान गर्ने परम्पराको समेत चर्चा गरेका छन्। नेपाली संस्कृतिले यमराजलाई डरको प्रतीकका रूपमा मात्र नभई न्यायका प्रतीकका रूपमा समेत चित्रण गरेको उल्लेख गर्दै उनले दुष्कर्म गर्नेलाई दण्ड र सत्कर्म गर्नेलाई संरक्षण गर्ने धर्मराजका रूपमा यमराजप्रतिको विश्वास रहेको बताएका छन्।
यसै अवसरमा परेको धन्वन्तरी जयन्तीको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री शाहले आयुर्वेदका प्रवर्तक तथा आरोग्यका देवता भगवान् धन्वन्तरीको स्मरण गरेका छन्। समुद्र मन्थनबाट अमृत कलश लिएर धन्वन्तरी प्रकट भएको धार्मिक मान्यताको स्मरण गर्दै उनले सबै नेपालीमा निरोगी र स्वस्थ जीवनको शुभकामना व्यक्त गरेका छन्।
भोलि मनाइने कुकुर तिहारको शुभकामना दिँदै प्रधानमन्त्री शाहले मानव सभ्यताको विश्वासिलो र वफादार साथीका रूपमा कुकुरले पुर्याउँदै आएको योगदानको सम्मान गर्नुपर्ने बताएका छन्। घरको सुरक्षादेखि अनुसन्धान तथा उद्धार कार्यसम्म मानिसलाई साथ दिँदै आएका कुकुरप्रतिको प्रेम र कृतज्ञता प्रकट गर्ने पर्वले अन्य जीवप्रतिको सहअस्तित्व र सद्भावलाई अझ बलियो बनाउने विश्वास उनले व्यक्त गरेका छन्। साथै, सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहँदै सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा चाडपर्वले प्रदान गरून् भन्ने कामनासमेत प्रधानमन्त्री शाहले गरेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया