बागमती, ११ भदौः हेटौँडा उपमहानगरपालिका–१८ हर्नामाडीस्थित गुम्बाडाँडामा पुग्दा बन र खुला चौरबीच विशाल ढुङ्गाका अनेक आकृति देखिन्छन् । मकवानपुरको राप्ती र सुकौरा खोलाका ढुङ्गामा सात देशका २३ मूर्तिकारले कुँदेका मूर्तिले कतै मातृत्वको अनुभूति दर्शाएका छन् छ कतै सपना र आशा । त्यस्तै कुनै मूर्तिले प्रकृति र मानव जीवनको सम्बन्ध बोलेका छन् भने कुनैले बदलिँदो मानव सभ्यताको कथा भनिरहेका छन् । ती कलाकृति कुनै बन्द भवनका भित्ताभित्र सजाइएका होइनन्, खुला आकाशमुनि रुख, घाँस र डाँडाको प्राकृतिक परिवेशसँगै उभिएका छन्, जसले यो स्थान मूर्तिकलाको खुल्ला सङ्ग्रहालयजस्तै बनेको छ ।
सात देशका २३ मूर्तिकारका श्रम र सीप पोखिएका प्रस्तर मूर्तिले गुम्बाडाँडालाई सामान्य उद्यानभन्दा फरक पहिचान दिएका छन् । आज खुला मूर्तिकला सङ्ग्रहालयका रूपमा चिनिन थालेको यो ठाउँको कथा भने चार–पाँचवटा ठूला ढुङ्गामा मूर्ति बनाउने सामान्य प्रस्तावबाट सुरु भएको थियो । मूर्तिकार तथा गुम्बाडाँडा मूर्तिकला क्षेत्रका सल्लाहकार लक्ष्मण भुजेललाई स्थानीयस्तरमा सम्मान गर्न यही डाँडामा लगिएको थियो । खुला चौर र वरपरको प्राकृतिक वातावरण देखेपछि उहाँले स्थानीयसँग केही ठूला ढुङ्गा जुटाउनसके साथीहरू बोलाएर चार–पाँचवटा विशाल मूर्ति बनाएर पार्कमा राख्न सकिने प्रस्ताव गर्नुभयो । “सुरुआतको कुरा त्यही थियो, पछि छलफल बढ्दै जाँदा अन्तर्राष्ट्रिय रूपमा मूर्तिकला कार्यशाला आयोजना गरेर इतिहास रच्ने तहसम्म पुग्यौँ”, उहाँले सम्झनुभयो ।
स्थानीय समुदाय, विभिन्न सङ्घसंस्था र सरकारी निकाय जोडिँदै गए । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र कलाकारको सहभागितापछि योजनाले अन्तर्राष्ट्रिय स्वरूप पायो । विसं २०६९ मा प्रथम अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला सञ्चालन भयो । कार्यशालामा नेपालका १८ र विदेशका पाँच गरी २३ मूर्तिकार सहभागी भए । कलाकारलाई एउटै विषयमा बाँधिएको थिएन । आफ्नो अनुभव, संस्कृति, शैली र अवधारणाअनुसार ढुङ्गालाई आकार दिने स्वतन्त्रता थियो । भुजेलका अनुसार विषय खुला राख्दा सिर्जनामा विविधता आयो । कसैले अमूर्त शैली रोजे, कसैले यथार्थपरक आकृति बनाए भने कसैले प्रतीकमार्फत विचार व्यक्त गरे ।
मूर्तिका लागि विशाल ढुङ्गा जुटाउनु आफैँमा चुनौती थियो । आयोजक टोली मुटनी खोला, राप्ती क्षेत्रलगायत ठाउँसम्म ढुङ्गा खोज्दै पुगेको जानकारी दिदै भुजेलले ठूला प्राकृतिक ढुङ्गा राप्तीबाट ल्याइयो भने शिवम् सिमेन्टले उपलब्ध गराएका काटिएका ११ वटा ढुङ्गाका ब्लक पनि प्रयोग गरिए । त्यस समयमा कार्यशालाका दिन पनि सहज नहरेको बताउँदै भुजेलले पर्याप्त विद्युत् नहुँदा जेनेरेटर चलाएर रातिसम्म काम गर्नुपरेको स्मरण गर्नुभयो ।
विदेशी कलाकारको बसोबास र खानपानको व्यवस्थापनदेखि आर्थिक स्रोत, उपकरण र विद्युत् जुटाउन चुनौती भए पनि स्थानीय समुदायको उत्साहले कार्यक्रम पूरा गर्न बल दिएको उहाँको अनुभव छ । विदेशी कलाकारले नेपाली कलाकारसँगै यहाँ काम गरे । उनीहरूका सिर्जनासँगै नेपाली कलाकारका ‘जीवनचक्र’, ‘स्वप्न’, ‘उत्सुकता’, ‘शान्तिभूमि नेपाल’, ‘समुद्र मन्थन’ र ‘सुनौलो भविष्यको आशा’लगायत कृति यहाँ छन् । इटालीका मूर्तिकार बेटिनो फ्रान्सिनीको ‘विश्वकै पहिलो आमा’ पनि यहाँका आकर्षक कृतिमध्ये एक हो । प्राकृतिक ढुङ्गाको मूल स्वरूप धेरै नबिगारी मानव आकृति दिइएको उक्त सिर्जनामा नेपाली महिलाले लगाउने नाकको गहनासमेत झल्किन्छ ।
मूर्तिकार तथा ललितकला क्याम्पसका प्राध्यापक ओम खत्री गुम्बाडाँडाको मुख्य विशेषता प्रकृति र कलाको सङ्गमलाई मान्नुहुन्छ । परम्परागत रूपमा मन्दिर, भवन वा निश्चित संरचनासँग जोडिएको मूर्तिकलालाई प्राकृतिक वातावरणमै सार्वजनिक रूपमा हेर्न सकिने अभ्यासले नयाँ सम्भावना खोलेको उहाँको भनाइ छ । “प्रकृतिको आफ्नै रचना हुन्छ, अर्को मानवले सिर्जना गरेको कलाकृति हुन्छ, यहाँ यी दुईको सङ्गम भएको छ”, उहाँले भन्नुभयो ।
खत्रीका अनुसार यो प्रतियोगिता नभई कलाकारबीच विचार र अनुभव आदानप्रदान गर्ने ‘सिम्पोजियम’ थियो । विभिन्न देशमा कस्तो कला अभ्यास भइरहेको छ, कलाकारले ढुङ्गामा कसरी काम गर्छन् र कस्ता औजार प्रयोग गर्छन् भन्ने प्रत्यक्ष हेर्ने अवसर स्थानीय बासिन्दा, विद्यार्थी र कलाप्रेमीले पाए । उहाँ यसलाई व्यक्तिगत सिर्जनालाई समाज, प्रकृति र सार्वजनिक स्थानसँग जोड्ने महत्त्वपूर्ण अभ्यासका रूपमा लिनुहुन्छ ।
एक दशकभन्दा लामो समयपछि गुम्बाडाँडाको चुनौती नयाँ मूर्ति थप्नुभन्दा भएका कृतिको कथा जोगाउनु बनेको छ । अधिकांश मूर्तिसँग कृतिको शीर्षक र कलाकारको नाम रहे पनि सिर्जनाको विस्तृत अवधारणा दर्शकले त्यहीँ बुझ्ने व्यवस्था छैन । आधुनिक वा अमूर्त कलासँग परिचित नभएका दर्शकका लागि नामले मात्रै मूर्तिको अर्थ खोल्दैन । उनीहरू फोटो खिचेर फर्कन सक्छन्, तर कलाकारले ढुङ्गामार्फत भन्न खोजेको कथा त्यहीँ छुट्न सक्छ ।
खत्री प्रत्येक मूर्तिसँग कलाकार, देश, कृतिको नाम, आकार, माध्यम, सिर्जनाको अवधारणा र निर्माण समयसहित व्यवस्थित विवरण हुनुपर्ने बताउनुहुन्छ । त्यसका लागि ‘क्युआर कोड’ प्रभावकारी विकल्प हुनसक्ने उहाँको सुझाव छ । मोबाइलबाट कोड स्क्यान गरेपछि कलाकारको परिचय, कृतिको अर्थ, निर्माण प्रक्रिया, पुराना तस्बिर र श्रव्यदृश्य सामग्रीसम्म हेर्न मिल्ने व्यवस्था भए गुम्बाडाँडा घुम्ने ठाउँबाट कला बुझ्ने खुला पाठशालामा बदलिन सक्छ ।
भुजेल पनि विस्तृत अभिलेखीकरणलाई अबको मुख्य आवश्यकता मान्नुहुन्छ । कार्यशालाका तस्बिर र श्रव्यदृश्य सामग्री सुरक्षित रहेको तथा पछि वृत्तचित्रसमेत तयार गरिएको उहाँले बताउनुभयो । विस्तृत ‘क्याटलग’ प्रकाशनको काम भने पूरा हुन सकेको छैन । भविष्यमा पुस्तक प्रकाशन गर्ने, पुराना दृश्य सामग्री प्रदर्शन गर्ने र सङ्ग्रहालयको स्वरूपमा विकास गर्ने परिकल्पना रहेको उहाँको भनाइ छ ।
खुला आकाशमुनि रहेका मूर्तिमा घामपानीले कति असर गर्छ भन्ने प्रश्न पनि छ । भुजेलका अनुसार प्रयोग गरिएका ढुङ्गा बाहिरी वातावरणमै रहने प्रकृतिका भएकाले मौसमले तत्काल ठूलो क्षति पु¥याउने सम्भावना कम छ । तर नियमित सरसफाइ, लेउ हटाउने, मानवीय क्षतिबाट जोगाउने र अवस्थाको निगरानी आवश्यक हुन्छ । खत्री पनि समयसमयमा निरीक्षण गरी फोहर, लेउ वा चोटपटक देखिए उचित संरक्षण गर्नुपर्ने बताउनुहुन्छ ।
हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क राम्तेलका अनुसार मूर्तिकला क्षेत्र करिब पाँच दशमलव ६७ हेक्टरमा फैलिएको छ । व्यवस्थित तथ्याङ्क नराखिए पनि वार्षिक करिब १५ देखि २० हजार आन्तरिक पर्यटक आउने उहाँको अनुमान छ । ठूलो क्षेत्र भएकाले छरिएको लगानीले अपेक्षित स्वरूप दिन नसकेको उहाँ बताउनुहुन्छ । व्यवस्थित बगैँचा, बालबालिकाका लागि खेल्ने ठाउँ, ग्यालरी र अन्य आधारभूत संरचना थपिए पर्यटकलाई लामो समय अड्याउन सकिने उहाँको भनाइ छ ।
हेटौँडा–१८ का वडाध्यक्ष अनिलकुमार बानियाँ पनि बिदाका दिन यहाँ पर्यटकको चहलपहल उल्लेख्य हुने बताउनुहुन्छ । उहाँका अनुसार सामान्य दिनमा करिब ५० देखि ६० जना आउने गरेका छन् भने शुक्रबार र शनिबार चहलपहल बढ्छ । स्थानीयले सञ्चालन गरेका पसल र व्यवसायमार्फत करिब १५ देखि २० परिवार आयआर्जनमा जोडिएको उहाँको भनाइ छ । वडाले गुम्बा डाँडालाई आसपासका पर्यटकीय क्षेत्रसँग जोडेर आगन्तुकलाई दुईदेखि चार घण्टासम्म अड्याउने वातावरण बनाउने योजना अघि सारेको छ । बानियाँका अनुसार तयार विस्तृत परियोजना प्रतिवेदनमा सूचना केन्द्र, विद्यमान मूर्तिको संरक्षण, थप कलाकृति, बाल उद्यान, चित्रकला प्रदर्शनीस्थललगायत संरचना समेटिएका छन् । करिब रु २३ करोड लागत अनुमान गरिएको उक्त योजनाले मूर्तिकला क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखेको उहाँ बताउनुहुन्छ ।
गुम्बा डाँडाको सम्भावना पर्यटनमा मात्र सीमित छैन । भुजेल यसलाई कला विद्यार्थी र अनुसन्धानकर्ताका लागि स्रोत केन्द्र बनाउन सकिने देख्नुहुन्छ । केही विद्यार्थीले यहाँका कृतिमाथि शोध गर्न चासो देखाइसकेको उहाँ बताउनुहुन्छ । भविष्यमा कलाकार आएर बस्न, सिर्जना गर्न र विभिन्न विधाका स्रष्टाले नियमित गतिविधि गर्न सक्ने ‘लाइभ आर्ट हब’ बनाउने उहाँको परिकल्पना छ । ठूलो अन्तर्राष्ट्रिय कार्यशाला सधैँ सम्भव नभए पनि नियमित रूपमा कलाकारलाई सिर्जनाका लागि आमन्त्रण गर्न सकिने उहाँको धारणा छ ।
यसका लागि नयाँ संरचना मात्र पर्याप्त हुँदैन । कार्यशालाको इतिहास, कलाकारका प्रारम्भिक स्केच, निर्माणका तस्बिर, भिडियो, कृतिको व्याख्य
ा र त्यसबेलाका सहभागीको अनुभवलाई एउटै डिजिटल अभिलेखमा जोड्न आवश्यक छ । त्यसो भए राष्ट्रिय तथा अन्तरराष्ट्रिय अनुसन्धानकर्ताले समेत गुम्बा डाँडालाई अध्ययनस्थलका रूपमा प्रयोग गर्न सक्छन्। मूर्ति जोगिएर पनि त्यसको अर्थ र इतिहास हरायो भने कला सम्पदाको एउटा महत्त्वपूर्ण हिस्सा हराउँछ ।
हेटौँडा बजारबाट पूर्वतर्फ रहेको गुम्बा डाँडाले एउटा स्थानीय सोच कसरी अन्तरराष्ट्रिय कला अभ्यासमा बदलिन सक्छ भन्ने उदाहरण दिएको छ । चार–पाँच मूर्ति बनाउने प्रस्तावबाट सुरु भएको यात्राले २३ कलाकारलाई एउटै डाँडामा ल्यायो । उनीहरूले फरक भाषा बोले, फरक समाजबाट आए र फरक शैलीमा काम गरे, तर संवादको माध्यम एउटै थियो–ढुङ्गा । आज ती कलाकार कार्यस्थलमा छैनन्, छिनो र हथौडाको आवाज पनि सुनिँदैन । उनीहरूले छाडेका आकृति भने वन र खुला आकाशबीच उभिइरहेका छन् । कुनैमा मातृत्व छ, कुनैमा सपना, कुनैमा प्रकृति र कुनैमा मानव सभ्यताको प्रश्न । अब तिनलाई जोगाउनु भनेको ढुङ्गा मात्रै जोगाउनु होइन, कलाकारको विचार, समयको स्मृति र हर्नामाडीले बनाएको एउटा कला इतिहास जोगाउनु हो ।
गुम्बा डाँडाको परिचय कुनै एउटा आकर्षक मूर्तिमा सीमित छैन । यो फरक देश, संस्कृति र पुस्ताका कलाकारले एउटै भूगोलमा छाडेका सिर्जनाको साझा थलो हो । प्रत्येक मूर्तिको कथा दर्शकसम्म पु¥याउन सकियो, अभिलेख व्यवस्थित भयो र संरक्षणले निरन्तरता पायो भने गुम्बा डाँडा केवल घुम्ने गन्तव्य रहने छैन । यो प्रकृति र सिर्जनाबीच संवाद हुने, विद्यार्थीले कला पढ्ने, अनुसन्धानकर्ताले इतिहास खोज्ने र सर्वसाधारणले ढुङ्गाभित्रका कथा बुझ्ने खुला सङ्ग्रहालय बन्न सक्छ ।
मूर्तिकलाका क्षेत्रमा नेपालले अरनिकोको समयदेखि नै अन्तरराष्ट्रिय रुपमा चासो र चर्चा कमाएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य एवं मूर्तिकला विभागका प्रमुख कुभिर देवान (केडी) बताउनुहुन्छ ।
नेपालमा हाल करिब पाँच सयको सङ्ख्यामा मूर्तिकारहरू क्रियाशील रहेको बताउँदै उहाँले पछिल्ला समयमा मूर्तिकारिताको व्यावसायिक विकास बढ्दै गएको अनुभव सुनाउनुभयो । विभिन्न मूर्तिकारले सिर्जना गरिएका मूर्तिसहितका सङ्ग्रहालय देशका करिब १० ठाउँमा रहेको बताउँदै उहाँले यिनीहरूको संरक्षण गर्दै पर्यटकीय रुपमा उपयोग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया