काठमाण्डौंः सुडानमा गत शनिबारदेखि एकआपसमा लडाइँ गरिरहेका सेना र अर्धसैनिक बलले आगामी २४ घण्टाका लागि युद्धविरामको सहमति गरेका छन्।
समाचार एजेन्सी अलजजिराका अनुसार दुई सुरक्षा निकायबीच साँझ ६ बजेदेखि लागू हुने गरी २४ घण्टा युद्ध राेक्ने सहमति भएको हो।
हालसम्म यो लडाइँमा कम्तीमा १८५ जनाको मृत्यु भएको छ भने १ हजार ८ सय जनाभन्दा धेरै घाइते भएका छन्।
सेना र अर्धसैनिक बलबीचको लडाइँको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन्। युद्ध रोकेर वार्तामार्फत समस्या समाधान गर्न उनीहरूले सुझाएका छन्।
सुडानका सेना प्रमुख अब्देल फताह अल-बुरहान र मोहमद हमदान डगालो नेतृत्वको अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको जारी द्वन्द्वले देशलाई गम्भीर अराजकतातर्फ धकेलेको छ।
भीषण युद्धका कारण अस्पतालहरू क्षतिग्रस्त भएका छन् भने सहायताका काममा अवरोध उत्पन्न भएको छ।
अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी यो अफ्रिकी मुलुकमा सन् २०२१ मा लामो समयदेखि शासन सत्ता सञ्चालन गरेका तो ओमार अल बशीरलाई सत्ताच्यूत गरेपछि बुरहान र डगालोबीचको शक्ति संघर्षले लिएको उग्र रूपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो।
सुडानमा नागरिक शासन कसरी पुनःस्थपाना गर्ने भन्नेमा उत्पन्न मतभेद नै यो भीषण युद्धको कारण बनेको छ। आरएसएफले देशका सम्भ्रान्त वर्गविरुद्ध सीमान्तकृत समूहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ भने आरएसएफका सेनालाई जातीय सफाया गरेको आरोप बुरहान समूहले लगाएको छ।
सुडानमा जारी युद्ध लामो समयसम्म चर्कने चेतावनी विश्लेषकहरूले दिएका छन्। एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया