वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

आफ्नो नेतृत्वमा सरकार बनाउने कुरालाई स्थापित गर्न कांग्रेसले सकेन – मधु आचार्य (अन्तवार्ता)

६ महिनामा गर्ने भनिएको नीति महाधिवेशन अर्को वर्ष कटेर जान लाग्दा समेत नीति महाधिवेशन बोलाइएको छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कांग्रेस विधिसम्मत तरिकाले सञ्चालनमा नरहेको विषय नयाँ होइन । महाधिवेशन सकिएको डेढ वर्षपछि मात्रै किन कांग्रेसमा रूपान्तरणको अभियान गर्नुपर्ने देख्नुभयो ?

संविधानसभाबाट संविधान जारी भइसकेपछि त्यसको कार्यान्वयन गर्ने, जनताको आर्थिक, सामाजिक हैसियत माथि उठाउनका लागि जुन रूपमा जानुपर्छ भन्ने एक किसिमको संकल्प र अठोट थियो; त्यहाँदेखि यतासम्म आउँदासम्मको अवस्थामा जनताले चाहना गरेको अनुशासन प्रणालीमा चलेको देखिएन । जनताको अपेक्षा अनुसार चल्नुभन्दा पनि बढी सत्ता केन्द्रित भएको देखियो । सत्तामा पनि कस्तो भयो भने जनताका आकांक्षा पूरा गर्नका लागि सत्ताको सदुपयोग भएको पनि देखिएन ।

पछिल्लो समय त झनै विकृति र विसंगति देखियो । भ्रष्टाचारका कुराहरू खुलेर बाहिर आएका छन् । सुशासनका विषयमा धेरै प्रश्न उठे । दण्डहीनताका कुराहरू पनि देखियो । जनताका लागि दैनिक हुनुपर्ने डेलिभरीका कामहरू हुन सकेनन् । सेवा प्रवाहमा जटिलता देखियो । साना साना कुराको समस्या समाधान गर्नुभन्दा समस्याको चाङ लाग्दै गयो ।

यस्तो अवस्थामा हामी कांग्रेस कहाँ गयौं, कसरी हिंड्यौं, कहाँ पुग्यौं त भन्दा जनताको नजरमा हामी चुनावको परिणाममा देखियौं । कांग्रेसको पपुलर मत झनै खस्कँदै गएको छ । जनताले कांग्रेससँगको गुनासा आफ्नो मतमा प्रकट गरे । यसलाई समाधान दिनुको सट्टा गठबन्धनको विकृत स्वरुप देखायौं । त्यसपछि त झनै वैचारिक रूपमा पनि अलमल देखिन थाल्यो ।

कांग्रेसको क्रियाशील सदस्यता संख्या ८ लाख ५२ हजार छ । क्रियाशील सदस्यता नपाएका तर क्रियाशील रहनेको संख्या त्योभन्दा बढी छ । बौद्धिक शुभेच्छुक साथीहरूको पनि ठूलो पङ्ति छ । उहाँहरूसँग छलफल, अन्तरक्रिया पनि गर्‍यौं । कसरी जाँदा उचित हुन्छ भनी छलफल गर्‍यौं । सामान्य किसिमको औषधि खुवाएर निको हुने रोग कांग्रेसलाई लागेको छैन । पार्टीभित्र गम्भीर सुधारको प्रक्रियामा जानुपर्दछ । एजेण्डामाथि छलफल, बहस गरौं । पार्टी संगठनका समस्या, नेताहरूको कार्यशैलीको समस्या, हामीले घोषणापत्रमा उल्लेख गरे अनुसार गर्न अप्ठ्यारो कहाँ कहाँ पर्‍यो, सक्यौं कि सकेनौं एजेण्डामा आधारित रहेर बहस गरौं भन्ने भयो ।

समस्याको निदान के हुन सक्छ ? यी विषयमा एजेण्डागत रूपमा छलफल गरौं, त्यो छलफलमा जताततैबाट साथीहरू सहभागी हुने इच्छा प्रकट भयो । एजेण्डामा आधारित राजनीतिलाई अघि बढाउनुपर्छ भन्ने साथीहरू बीच काठमाडौंमा छलफल गर्‍यौं । त्यो बैठकमा युवा पुस्ताका धेरै साथी हुनुहुुन्थ्यो । पाको पुस्ताका साथीहरूको पनि सहभागिता थियो । सातै प्रदेशमा पुग्ने निर्णय गर्‍यौं । नेपालभन्दा बाहिर पनि ठूलो नेपाल छ, त्यसलाई पनि एउटा प्रदेशको हैसियतमा संवादमा सहभागी गराऔं भन्ने निर्णयमा हामी पुग्यौं ।

व्यवस्थापनका लागि कोही न कोही साथीहरूले जिम्मा लिनुपर्ने हुनाले डायस्पोरा सहित गरेर आठ संयोजक समेत तोकिएको छ । अहिले हामीले सुरु गरेको प्रारम्भिक चरणको अभियान हो । खुला रूपमा एजेण्डामा आधारित भएर छलफल र बहस गर्छौं ।

कांग्रेसको लोकप्रिय मत कम हुँदै जानु तथा उपनिर्वाचनको पराजयले तपाईंहरूलाई थप कमजोर अवस्थामा पुर्‍याएको देखिएर झस्किनुभएको हो ?

उपनिर्वाचनले झनै बढी हामीलाई तरंगित गर्‍यो । जनताको स्पन्दनलाई नजिकबाट बुझ्ने अवसर पनि भयो । हाम्रो परम्परागत असन्तुष्टिको पोको पालेर त बस्नुभएको रहेछ । समस्या देखियो भनिसकेपछि त्यसको निदानको खोजीमा लाग्नुपर्‍यो । पार्टीभित्र समस्या देखियो ।

झन् झन् बलियो हुँदै जानुपर्ने पार्टी पपुलर मतमा कमजोर हुँदै गएको छ । रणनीतिक रूपले पनि चुक्दै गएको देखियो । रणनीतिक रूपमा चुकेको कसरी देखिन्छ भने संसदमा ठूलो दल हामी हौं । आफ्नो नेतृत्वमा सरकार बनाउने कुरालाई स्थापित गर्न पनि कांग्रेसले सकेन । एउटा छुट्टै सहमति भएको थियो भने र त्यसलाई पालना गरेर जानुपर्छ भन्ने हो भने सुरुमा कांग्रेस सहितको सरकार बन्न सकेन ।

धेरैतिर हाम्रा कमजोरी देखिए । जसको निदान अत्यन्तै जरूरी भइसक्यो । सामान्य गल्ती, त्रुटिहरू हुन् वा यसबाट तुरुन्तै पार पाउँछौं भनेर छुट पाउने अवस्था देखिएन । साना त्रुटि होइन, भयंकर गल्तीहरू गर्दै गइयो । यो समस्या समाधान गर्न केही नेताहरू बसेर मात्रै सुध्रिने देखेनौं । सबै क्रियाशील सदस्य सहित त्यो बाहिर रहेका शुभेच्छुकहरूसँग पनि संवाद गरेर मात्रै एउटा समाधानमा पुग्नु उपयुक्त हुने भएकाले लोकतान्त्रिक विधिसहित अभियानमा लागेका हौं ।

पार्टी कमजोर भएको आत्मसमीक्षा मुख्य नेतृत्वले गर्नुपर्ने होइन र ? ताप्के तात्नुपर्नेमा बिंडमात्र तात्न थाल्यो नि !

मुख्य नेतृत्वले आत्मसमीक्षा गर्ने देखिएन । पार्टीको विधानलाई राम्रोसँग कार्यान्वयन गरिदिएको भए पनि हुनेथियो । विधानमा विभिन्न प्लेटफर्महरूको व्यवस्था गरिएको छ । जहाँ साथीहरू बसेर आफ्ना कुरा राख्न पाउने थिए । समस्या भेन्टिलेट हुन पाउने थियो । निदान पनि त्यसैभित्रबाट खोजिन्थ्यो ।

केन्द्रीय कार्यसमितिको बैठक ९ महिनादेखि बस्न सकेको छैन । महाधिवेशन भएको वर्ष बाहेक हरेक वर्ष महासमितिको बैठक बस्नुपर्ने विधानको व्यवस्था छ । महाधिवेशनको वर्ष गएर हामी अर्को वर्षमा हुँदा पनि महासमितिको बैठक बस्न सकेको छैन । कांग्रेसको जीवनमा पहिलोपटक नीतिका लागि तलदेखि बहस भएर छुट्टै महाधिवेशनको व्यवस्था गरियो । तलदेखि भएको छलफललाई प्रक्रिया मार्फत माथि ल्याउने त्यो नीति पारित गरेर गाउँ–गाउँ जाने प्रचलन यसपटक तोडियो ।

समयको चेपुवामा परेको हुनाले नेता अधिवेशनमा मात्रै टुग्याऔं । नीति अधिवेशन ६ महिनाभित्र गरौं भनेर केन्द्रीय समितिले निर्णय गर्‍यौं । ६ महिनामा गर्ने भनिएको नीति महाधिवेशन अर्को वर्ष कटेर जान लाग्दा समेत नीति महाधिवेशन बोलाइएको छैन । नीति माथि बहस, छलफल गर्न पाएका छैनौं । पार्टीका औपचारिक र वैधानिक प्लेटफर्महरूलाई क्रियाशील नगरिएका कारणले अब सिरक ओढेर बस्न सकेनौं । पार्टी सुधार्ने कर्तव्य सबैको हो । कसैले राम्रो काम सुरु गर्दा केही समस्या हुँदैन । त्यसकारण हामीले सुरु गर्‍यौं ।

रूपान्तरणको अभियान सुरु गर्ने सुन्नासाथ जिल्ला जिल्लाभरबाट राम्रो रेस्पोन्स आएको छ । केही दिनअघि मात्रै लुम्बिनी प्रदेशका केही ठाउँमा भएका कार्यक्रममा ठूलो संख्यामा साथीहरू आउनुभयो ।

कांग्रेसका साथीहरू उपस्थित हुने र जिज्ञासा राख्ने गर्नुभयो । रूपान्तरणको अभियानलाई योगदान गर्न तयार रहेको र पार्टी यथास्थानमा चल्न नसक्ने र चल्न नहुने भन्नुभएको छ ।

ताप्के पनि तातेको अवस्था छ । ताप्के छोएर हेरेका छैनौं र मात्रै हो । ताप्के १०० डिग्री भन्दा माथि तातेको छ । तातेको ताप्केमा एजेण्डाको वस्तु हालेर परिणाम पुर्‍याउने क्रममा छौं । साथीहरूले गर्नुभएको छलफलका आधारमा केही एजेण्डा सूचीबद्ध पनि गरेका छौं । छलफलका लागि प्रारम्भ गर्ने एजेण्डा हुन् । अरू विचार पनि सबै ठाउँबाट थपिन्छ । सातै प्रदेश र डायस्पोराबाट आएका सबै विचारलाई एकत्रित गरेर अभियानको खास अवधारणाका रूपमा ल्याउँछौं । त्यसलाई कार्यान्वयन गर्ने प्रक्रियामा जान्छौं ।

यो अभियान सुरु गर्दा तपाईंहरू एक पक्षको हुनुहुन्छ । संस्थापनइतरको भनेर तपाईंहरूको पहिचान छ । संस्थापनइतरका शीर्ष तहका नेताहरू पनि अभियानमा सम्मिलित हुनुहुन्न । अभियान सर्वस्वीकार्य कसरी हुनसक्ला र ?

अभियान धेरै पहिले योजना बनाएर सुरु गरिंदैन । एकदमै औपचारिक रूपमा पनि हुँदैन । केही साथीहरूको छलफल पछि यसरी जाने भनेर सुरु भएको हो ।

यो अभियान व्यक्तिको होइन । पार्टी सुधार र रूपान्तरण गर्ने विचारको अभियान हो । यो विचारमा सहमत हुने सबैको अभियान हो । अभियान सुरु गर्नका लागि वा कोअर्डिनेसन गर्न २÷४ जना साथीहरू चाहिएला । कोही न कोहीले भूमिका निर्वाह गर्ने मात्रै हो । गन्तव्यको विषयमा सबै साथीहरूको विचार समान छ । यदि कहीं कतै भ्रम छ भने सुल्झाउँदै जानेछौं ।

मूल कुरा कांग्रेसभित्र चाल, चेहरा र चरित्र सुधार नगरी नहुने अवस्थामा हामी पुग्यौं । त्यसका लागि एकताबद्ध भएर अघि बढ्न साथीहरूलाई अपील पनि गरेका छौं । साथीहरूलाई सँगसँगै लिएर पनि हिंड्दैछौं, लिएर जान्छौं ।

रूपान्तरण अभियान सुरु गर्नुपर्नेको कारण चेहरामा परिवर्तन पनि भन्नुभएको छ । चेहरा परिवर्तन भन्नुको अर्थ मूल नेतृत्वको परिवर्तन बुझिन्छ । त्यो सम्भव छ ?

सम्भव छ । कुनै पनि संस्थाको मूल अथोरिटी त्यसको अध्यक्ष तथा सभापति नै हुन्छ । कांग्रेस पार्टी प्रणालीमा सभापतिको व्यवस्था छ । पार्टीको अवस्था सोचेको भन्दा पनि प्रतिकूलमा आइपुग्यो भनेर सभापति स्वयंले बुझ्नुपर्दछ । कांग्रेस लोकतान्त्रिक धरोहर हो । पार्टी तथा सरकारको नेतृत्व गर्न साथीहरूले गरेको सहयोगलाई धन्यवाद भनेर अरूको लागि बाटो खाली गर्न सक्नुहुन्छ । जुन आदर्शका लागि यो पार्टी गठन भएको थियो, त्यसका लागि म मार्गप्रशस्त गर्छु भनेर सभापतिले स्वेच्छाले पद छोड्न सक्नुहुन्छ । नीति र नेतृत्व अधिवेशन गरेर अघि जान पनि सकिन्छ ।

अर्को, आम साथीहरूबाट यो–यो एजेण्डा आयो । ती कुरालाई मैले यसरी–यसरी कार्यान्वयन गर्छु । यो एजेण्डा बोकेर पार्टीलाई नयाँ ढंगले अगाडि लैजान्छु । आन्दोलन र अभियानले बोलेका कुराहरू अनुसार नै अब पार्टी रूपान्तरण हुन्छ । यति समयभित्र रूपान्तरण भएको अनुभूति गर्न पाउनुहुन्छ । त्यो समय मलाई दिनुस् भनेर सभापतिले भन्न सक्नुहुन्छ । सबै साथीहरूलाई आश्वस्त पार्नुभयो र विश्वास गर्ने वातावरण बन्यो भने त्यो पनि विकल्प हुनसक्छ ।

कांग्रेसभित्र कहिलेकाहीं विशेष महाधिवेशनको बहस उठ्छ । तपाईंहरू कार्यकर्तामाझ जाँदै गर्दा पार्टी विशेष महाधिवेशनमै जानुपर्छ भन्ने आवाज उठ्यो भने तपाईंहरू हस्ताक्षर अभियानमा लाग्नुहुन्छ ?

विशेष महाधिवेशन पार्टीमा भएकै विकल्प हो । जिल्ला–जिल्लामा छलफल गर्दा कसरी अघि जाने भन्नेमा हामी संवादकै क्रममा छौं । संवादमा जाँदा यही अन्तिम विधि हो भनेर आफैं धारणा बनाएर लाद्ने पक्षमा छैनौं ।

अगाडि बढ्दै जाँदा विधानमा दिएको त्यो विकल्प र व्यवस्थामा जाने कुरा हुन पनि सक्छ । विशेष महाधिवेशनको माग गर्दा त्यसका लागि महाधिवेशनका २५ प्रतिशत प्रतिनिधिको हस्ताक्षर आवश्यक पर्दछ । पारित गर्नलाई अझ ठूलो संख्यामा साथीहरू आवश्यक पर्दछ ।

त्यो परिस्थिति आउनुअघि नै सभापतिले यो अवस्थाको मलाई पनि महसुस भएको छ । पार्टीले जे जे निर्णय लियो, त्यसले सोचे अनुसारको परिणाम दिएन । पार्टी सुधार गर्नुपर्ने निष्कर्षमा म पनि पुगेको छु । तपाईंहरूले गरेको अपेक्षा अनुसारको परिणाम यति समयभित्र गरेर देखाउँछु पनि भन्न सक्नुहुन्छ । विश्वास दिलाउनुभयो भने त्यो पनि विकल्प हुनसक्छ ।

पार्टी नेतृत्वमा अर्को व्यक्ति आउने क्रम बगिरहने खोलाको निरन्तरता जस्तै भनेर म छोड्छु भन्न पनि सक्ने विकल्प उहाँका लागि छ । विधि प्रक्रिया अनुसार नेतृत्व छनोट गर्ने साथीहरूको चाहनालाई म साथ दिन्छु भन्न पनि सक्ने बाटो छ ।

अरू विकल्पमा छलफल गर्ने पार्टीको प्लेटफर्मको बैठक पनि बोलाइन भने पार्टी त रूपान्तरण गर्न कोही न कोही लाग्नुपर्‍यो । पार्टीका बैठक डाकेर त्यहाँ आएका एजेण्डामा छलफल गर्न सकिन्छ । उपयुक्त लागे त्यसमा पनि सहमत हुन सकिन्छ ।

कुनै पनि विकल्पमा छलफल नहुने र पार्टी झन् झन् कमजोर हुँदै गयो भने विशेष महाधिवेशन बाहेकको विकल्प देखिएन भनेर साथीहरूले भनेको अवस्थामा स्वाभाविक बाटो हुनसक्छ ।

पछिल्लो समय दुई महामन्त्रीले पार्टी सञ्चालनको पद्धतिलाई लिएर सभापति माथि प्रश्न उठाउनुभएको छ । उहाँहरूको असन्तुष्टि लगत्तै तपाईंहरूको अभियान घोषणा गर्नुभयो । यो अभियान महामन्त्रीहरूको असन्तुष्टिको उपक्रम हो ?

अभियान सबैसँग छलफल गरेर, अनुमति लिन गरौं कि नगरौं भनेर हुने कुरा होइन । उहाँहरूसँग रूपान्तरणको अभियान सुरु गर्छौं भनेर तयारी गरिएको पनि होइन । यथास्थितिमा चलाएर पार्टी हुँदैन । पार्टीमा व्यापक रूपान्तरण आवश्यक छ भनेर त्यसका लागि केही साथीहरूसँग औपचारिक÷अनौपचारिक छलफल गर्‍यौं । एउटा प्रक्रियामा अघि बढेका हौं ।

जुन किसिमको अभिव्यक्ति दुई महामन्त्रीबाट आयो त्यसले हामीलाई पनि आत्मबल बढेको छ । हामीले सोचेको वेभलेन्थ र पार्टी सभापति, उपसभापति, सहमहामन्त्रीहरूले सोचेको वेभलेन्थ मिल्दो रहेछ भन्ने भएको छ । त्यसले हामी उत्साहित भएका छौं ।

अभियान सुरु गरेपछि नेताहरूसँग भेटघाट पनि गरेका छौं । अभियान सफल हुन त सबैको साथ–सहयोग चाहिन्छ नै । सभापतिको समय पाए कुरा गर्न साथीहरूलाई जिम्मेवारी पनि दिएका छौं ।

दुई महामन्त्री र नेता शेखर कोइरालाले ‘अघि बढ पछाडि हामी छौं’ भन्नुभएको हो ?

हाम्रो एजेण्डामा उहाँहरूको असहमति छैन । जनस्तर, भुईं कार्यकर्तासम्म पुगेर यो स्तरको संवाद गर्ने र उनीहरूकै बीचबाट समाधानको बाटो खोज्ने अभियान हो । यो नै सर्वाधिक लोकप्रिय विधि हो । यो तरिकाबाट जनस्तरमा पुग्ने कुरालाई सबै नेताले सकारात्मक तरिकाले नै लिनुभएको छ । केही नेताहरूसँग भेट्दै पनि छौं ।

एक पक्षले कांग्रेसको रूपान्तरणको आवश्यकता देख्दा पार्टीभित्रको अर्को पक्षले यस विषयमा बोलेको सुनिंदैन । तपाईंहरू मात्रै एकपक्षीय तरिकाले जाँदा त्यसले ल्याउने प्रतिफलप्रति नै आशंका छ नि ?

एउटा पक्ष भन्ने कुरा नै यसमा रहेन । यो सर्वपक्षीय अभियान हो । कांग्रेस सुधार्ने र बलियो बनाउनुपर्छ भन्ने कुरामा भिन्न मत राख्ने साथीहरू मैले भेटेको छैन । कांग्रेस यथास्थितिमा चल्दा ठीक, जे जसरी चलेका छौं त्यो उत्तम र यसमा परिमार्जनको आवश्यकता छैन भन्ने कोही साथी भेटिएको छैन ।

कुन विधि, माध्यम, कुन कुन एजेण्डामा आ–आफ्ना तर्क होलान् त्यो स्वाभाविक हो, त्यसमै बहस गर्न जाँदैछौं । जति साथीहरूलाई भेटेका छौं, उहाँहरू सबै रूपान्तरणकै पक्षमा हुनुहुन्छ ।

उपनिर्वाचनको परिणामले कांग्रेस थप तर्सिएको छ । उपनिर्वाचन लगत्तै कांग्रेस कार्यकर्तामा पार्टी परित्याग गर्नेको लर्को लाग्यो । त्यसैलाई रोक्न यो रूपान्तरणको अभियान हो भनी आशंका पनि छ नि ?

कांग्रेसको क्षयीकरणलाई रोक्नुपर्दछ भन्ने कुरा हामी सबैको साझा बुझाइ हो । क्षयीकरण रोक्नका लागि के गर्ने ? भनी साथीहरूको राय लिएर खाका पनि बनाइरहेका छौं । कांग्रेसजनहरूको बीचमा पार्टीलाई बलियो बनाउने कार्यमा लागेका छौं ।

कोही पनि साथीहरूले आफूलाई असुरक्षित महसुस गर्नुपर्दैन । न्याय पाइँदैन कि भनेर छट्पटाउनुपर्दैन । वडादेखि केन्द्रसम्म थुप्रै साथी पार्टीको नेतृत्वमा पनि हुनुहुन्छ उहाँको कामलाई पनि पार्टीले गहिरोसँग निगरानी गर्छ । देश र जनताका पक्षमा कांग्रेसले काम गर्छ भनेर सुनिश्चितता गरेर जानुपर्छ भनेर हामी लागिसकेपछि कोही पनि दायाँबायाँ लाग्नुपर्दैन । कोही पनि साथी बिच्किनु वा भड्किनुपर्ने सवाल आउँदैन ।

यहीं रहेर कांग्रेसको भविष्य खोज्ने हो । कांग्रेसजनलाई न्याय यही भित्र दिने हो । जनताको हिजोको आशा कांग्रेसले पूरा गरेको हो । राणाशासन जनताको चाहना अनुसार कांग्रेसले फाल्यो । पञ्चायत व्यवस्थाको अन्त्य कांग्रेसको अगुवाईमा भयो । हतियारको राजनीति अन्त्य गर्न कांग्रेसले ठूलो जोखिम मोल्यो । पहिलो संविधानसभाले संविधान नदिइसकेपछि संविधान बनाउन पनि कांग्रेसकै नेतृत्व आवश्यक पर्‍यो । हिजोको समयमा राजनीतिक परिवर्तनका कुराहरू प्रमुख थिए । अब आर्थिक, सामाजिक, सुशासन प्राथमिकताका विषय हुन् ।

भ्रष्टाचार नहोस्, सदाचारी संस्कृतिलाई अघि बढाउनुपर्दछ भन्ने अहिले जनताको चाहना हो । कांग्रेसले त्यो पूरा गर्न नसक्ने त होइन । हिजोभन्दा कांग्रेसले आफूलाई अलिकति रूपान्तरित गर्नुपरेको छ । हिजोको ढर्रा र सोचले हिंडेर अब पुग्दैन । अहिलेको कांग्रेसको अभिभारा जनताको चाहना, लोकतन्त्र र संविधान माथि देखिएका चुनौती सामना गर्ने कांग्रेस बनाएर जाने हो । शंकर गिरी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया