असार ६, २०८३ शनिबार June 20, 2026

सर्वसम्मत नेतृत्वका लागि सबैभन्दा सजिलो र उपयुक्त मै हो भन्ने लाग्छ : घनश्याम भुषाल, (अन्तवार्ता)

जबजको मामला हाम्रो पार्टीमा समाधान भइसकेको छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

– महाधिवेशनका लागि नेतृत्वको दौडधूप चलिरहेको बेलामा झलनाथ खनाल निवास डल्लु पुग्नुभयो । के के कुराकानी भए ?

हामीले महाधिवेशन, महाधिवेशनका चुनौती र जिम्मेवारी, भावी नेतृत्वलगायतको विषयमा छलफल गरेका हौं ।

– भावी नेतृत्वमा उहाँ (झलनाथ)ले तपाईंलाई समर्थन गर्ने सहमति भएको हो ?

समर्थन कसले कसलाई गर्ने भन्दा पनि अहिले जुन विचार निर्माण गरेर टुंगोमा पुगेका छौं, अहिले जुन कार्यक्रम अघि सारेका छौं, अहिलेको कम्युनिष्ट आन्दोलनको रक्षा र विकासका लागि विचारहरूको सान्दर्भिकता र सुरक्षा गर्ने विषयमा हामीले कुराकानी गर्‍यौं । त्यसमा समान धारणा र मत छन् । यी विचार धारणा निर्माण गर्ने विषयमा हामी सँगसँगै छौं ।

मैले यो विषय आठौं महाधिवेशनमा पनि उठाएको थिएँ । नवौं महाधिवेशनमा जाँदाखेरि जेएन कमरेड पनि यसमा सहमत भइसक्नु भएको थियो । यो कुरा नवौं महाधिवेशनमा उहाँले नै पेस गरिसक्नु भएको थियो । त्यसकारण यो विचारसँग हामी सँगसँगै आएका छौं । यस विचारको लागि हामीले थप मेहनत गर्नुपर्ने भयो भन्ने विषयमा कुरा भयो ।

– भनेपछि नेतृत्वसहित एकै ठाउँमा उभिने सहमति भयो ?

नेतृत्वबारे धेरै छलफल गरेनौं । भावी नेतृत्वले अगाडिका दिनमा पनि यी विचारहरूलाई रक्षा गर्नुपर्छ, विकास गर्नुपर्छ भन्ने सहमति भएको छ । त्यहीअनुसार अघि बढ्छौं ।

– यो भेटपछि अब अध्यक्षमा तपाईंले उम्मेदवारी दिने पक्का भएको हो ?

त्यो त अलग कुरा छँदैछ । मैले उहाँहरूसँग इच्छा जाहेर गरेको छु । मैले मेरो इच्छा छ, मेरो योग्यता पनि पुगेको छ । यस अर्थमा मलाई सहयोग गर्नुस् । समर्थन गर्नुस् भनेको छु दुवै नेताहरूलाई ।

– माधव नेपाल आफैं नेतृत्वमा दोहोरिने दाउमा हुनुहुन्छ । तपाईंले इच्छा व्यक्त गर्दा कस्तो प्रतिक्रिया पाउनुभयो ?

उहाँले पनि छलफल गरौं भन्नुभएको छ । यो विषयमा छलफल जारी छ ।

– तपाईंले पार्टीको अध्यक्ष महाधिवेशनबाट सर्वसम्मत घोषणा हुने सम्भावना देख्नुभएको छ ?

सर्वसम्मत नेतृत्वका लागि सबैभन्दा सजिलो र उपयुक्त मै हो भन्ने लाग्छ ।

– माधव नेपाल नै दोहोरिने दाउमा भएकाले तपाईंको सम्भावना त कमजोर देखिन्छ नि ?

सर्वसम्मत नेतृत्वका लागि आमरुपमा जनमत छ । त्यो सर्वसम्मत भनेको विचार र सिद्धान्तको आधारमा सर्वसम्मत हो । त्यस्तो लिडरसिपको कुरा हो । यी सबै कुरालाई हेर्दा दुवै सिनियर कमरेडले मलाई समर्थन गर्दा सर्वसम्मत हुने सबैभन्दा सजिलो तरिका यही बाटो हो । त्यसो हुँदा प्रतिनिधिहरूको पनि आम रुपमा सहमति हुनुपर्छ भन्ने सेन्टिमेन्ट छ । त्यसैले सहमति हुने सबैभन्दा सजिलो उपाय यही हो । त्यस अर्थमा म बढी विश्वस्त छु ।

– तर, तपाईंमाथि पार्टीभित्रकै नेताहरूले विद्रोहको बेलामा साथ छाडेर अहिले बीचमा आएर नेतृत्व दाबी गर्‍यो भन्ने आरोप लगाइराख्नु भएको छ नि ?

साथ छाडेको, नछाडेको चाहिँ मैले जान्दिनँ । म जहाँसुकै रहें, म एउटा बेलाको मात्रै विद्रोही होइन । म त राजनीतिमा बीसौं वर्षदेखिको विद्रोही हुँ । त्यो गर्दा एक हप्ता, एक महिनाको विद्रोहको कुरै होइन यो ।

म जहाँ छु, विद्रोहकै कुरा गरिरहेको छु । यहाँ हुँदा होस् या नहुँदा । त्यसैले यो कुरा सामान्यतया राजनीतिक रूपले सचेत मान्छेले यस्तो कुरा गर्दैन अथवा मलाई देखिराखेको, जानिराखेको, बुझिराखेको मान्छेले यो कुरा गरेको छैन जस्तो लाग्छ ।

– पार्टीको दस्तावेज निर्माणमै पनि दुई शीर्ष नेताबीच मतभेद थियो । त्यसमा कुरा मिलिसकेको हो ?

सुरूमा थियो । अब हाम्रो समाजवादको कार्यदिशा हो कि जनताको बहुदलीय जनवादको भन्ने थियो । त्यो चाहिँ समाजवादकै कार्यदिशा हो भन्ने कुरामा पार्टीले टुंगो लगाइसकेको छ ।

– त्यो भनेको माधव नेपाल जबज छाड्न तयार हुनुभएको हो ?

यो माधव नेपालजीको मात्रै कुरा भएन । जो साथीहरू जबजको कार्यदिशा र त्यसको वरिपरि जे जति मान्यता थिए, त्यो सबै हाम्रो छलफलको दौरानमा समाधान भइसकेको छ । र, हामी अब जबजभन्दा अगाडि बढिसकेका छौं । समाजवादी कार्यदिशामा पार्टी गइसकेको छ । जबजको मामला हाम्रो पार्टीमा समाधान भइसकेको छ ।

– एमालेबाट विद्रोह गरेको औचित्य अझै नेकपा एसले पुष्टि गर्न नसकेको आरोप लाग्दै आएको छ । यो महाधिवेशनले त्यो पुष्टि गर्छ ?

विद्रोहको औचित्य पुष्टि हुन चाहिँ यसले गरेको संकल्प पूरा हुने हो । यसमा हामी प्रयत्नशील छौं । त्यो प्रयत्नमा हामी विद्रोहको औचित्य पुष्टि गर्ने दिशामा यो महाधिवेशनले आफ्नो कार्यक्रम र नेतृत्वमा तय गर्‍यो भने विद्रोहको औचित्य पुष्टि गर्छ । नेपाल प्रेशबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय स्वाभिमानविरुद्ध जाने शक्तिलाई एमालेमा स्थान छैन : महेश बस्नेत
२०८३ असार ६, शनिबार
संवाद, सहमति र लोकतान्त्रिक विधिबाटै नेतृत्व चयन गर्छौँ : रास्वपा महामन्त्री, कविन्द्र बुर्लाकोटी (अन्तवार्ता)
२०८३ असार ६, शनिबार
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
२०८३ असार ६, शनिबार
रास्वपाको महाधिवेशन प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी
२०८३ असार ६, शनिबार
नेकपा नेता महरा सक्रिय राजनीतिबाट बिदा
२०८३ असार ६, शनिबार
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
२०८३ असार ६, शनिबार
एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे
२०८३ असार ६, शनिबार