असार २२, २०८३ सोमबार July 6, 2026

‘त्रिविका चुनौतीलाई अवसरमा बदल्ने मेरो पहिलो लक्ष्य गुणस्तरीय शिक्षा हो’ : उपकुलपति भोला थापा

‘त्रिविलाई विकेन्द्रीकरण गर्दै विद्यार्थीमैत्री सेवा विस्तार गर्छु’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

त्रिभुवन विश्वविद्यालय उच्च शिक्षामा ७० प्रतिशत विद्यार्थी संख्याको भार बोकेको देशकै जेठो र ठूलो विश्वविद्यालय हो। यही विश्वविद्यालयले सोमबार उपकुलपतिका रूपमा प्रा.डा. भोला थापालाई पाएको छ। काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति थापा पहिलोपटक त्रिवि नेतृत्वमा प्रवेश गरेका छन्। त्रिविमा शैक्षिक, आर्थिक र प्रशासनिक चुनौतीको चाङ छ। यही समयमा थापा उपकुलपति नियुक्त भएका छन्। उनै थापासँग नागरिककर्मी रुबी रौनियारले त्रिविका चुनौती र समाधान, शैक्षिक, भौतिक, आर्थिक र प्रशासनिक सुधारबारे गरेको कुराकानीको सम्पादित अंश।

त्रिविको नीति तथा कार्यक्रम बनाउने समयमा उपकुलपति नियुक्ति हुनुभयो; यसलाई कसरी अगाडि बढाउनुहुन्छ?

म फरक विश्वविद्यालयबाट त्रिविमा उपकुलपतिका रूपमा प्रवेश गरेको छु। त्रिविका सक्षम पूर्वनेतृत्व तथा कर्मचारीज्यूहरूले पहिल्यै शैक्षिक कार्यक्रम तय गर्नुभएको छ। यी कार्यक्रम गुणस्तरीय रहेको पाएँ। थप कार्यक्रम राख्नुपर्ने भए मेरो योगदान हुन्छ। सरकारको लक्ष्य र मेरो सोच दुवै साथ लिएर अगाडि बढ्छु। पूर्वउपकुलपतिज्यूहरूसँग दुई दिनदेखि छलफल गरिरहेको छु। पहिल्यै त्रिविमा राम्रो काम भएको छ। उहाँहरूको सुझावअनुसार काम गर्छु।

केयुको उपकुलपति हुनु र पाँच लाख बढी विद्यार्थी भएको त्रिविको उपकुलपति हुनुमा के फरक छ?

म केयुमा उपकुलपति हुँदा पनि सबैको साथ र सहयोग लिएर टिमवर्क गरेरै अगाडि बढेको थिएँ। केयुको चौतर्फी विकासमा दिनरात खटिएँ। यसले मेरो कार्यकाल उपलब्धिमूलक रह्यो। त्रिवि आफ्नै घरजस्तै लागेको छ। मेरो दक्षता, क्षमता, योग्यता र पूर्वपदाधिकारीका सझुावअनुसार त्रिविको समग्र उन्नतिमै खट्ने छु।

हाल त्रिविमा सिनेट, प्राज्ञिक परिषद् र कार्यकारी परिषद् छैन; यसमा केही तयारी छ कि?

त्रिविको सिनेट र प्राज्ञिक परिषद् बनाउने आफ्नै प्रक्रिया छ। त्रिवि कानुन र ऐनले व्यवस्था गरेअनुसार मिल्ने र सबैलाई स्वीकार्य हुने गरी चाँडो पूर्णताः दिने छु। केयु र त्रिविमा खासै फरक देख्दिनँ, तर एउटा फरक के छ भने पाँच लाख विद्यार्थी भएको त्रिविसँग जोडिन पाउँदा गर्व लागेको छ। त्रिवि आफैंमा गर्व गर्नलायक विश्वमै स्थापित संस्था हो।

त्रिविको भौतिक संरचनाको संरक्षणबारेमा यहाँको कस्तो भिजन छ?

पाँच लाख विद्यार्थी र यति ठूलो भौतिक संरचना भएको विश्वविद्यालय विश्वमा बिरलै हुन्छ। त्रिविको उपकुलपति भएसँगै मेरो पहिलो काम विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउनु हुने छ। त्रिवि आफैं स्थापित संस्था भएकाले त्यति धेरै मेहनत गर्नु पर्दैन। सल्लाहअनुसार होस्टेमा हैंसे गरी अगाडि बढ्छु। म छुट्टै विश्वविद्यालयको भए पनि सार्वजनिक विषयमा पहिल्यैदेखि चासो राख्दै आएको छु। त्रिविको कति वैध र कति अवैध सम्पत्ति छन्, यसबारे मेरो चासो छ। समितिले पनि काम गरिरहेको छ। सरकारको निर्देशनअनुसार त्रिविको सम्पत्ति संरक्षण गर्नु मेरो जिम्मेवारी हो।

त्रिविलाई विकेन्द्रीकरण गर्ने नीति कहाँ पुग्यो र प्रदेश संरचना कत्तिको सक्षम छ?

पूर्वउपकुलपति प्रा.डा. तीर्थ खनिया सरको प्रयासमा योजना र रणनीतिसहितको त्रिवि भिजन– २०३० तयारी अवस्थामा छ। देश संघीयतामा गएसँगै त्रिविको सांगठनिक संरचनालाई पनि प्रदेशसँग मिलाएर विकेन्द्रीकरणसँग जोडेर जानुपर्छ। विद्यार्थीलाई प्रदेशस्तरबाटै शैक्षिक प्रमाणपत्र, ट्रान्सक्रिप्ट, दीक्षान्त समारोहलगायतका व्यवस्था पनि प्रदेश स्तरबाटै गरिने छ। विद्यार्थीलाई सहज हुने गरी काम गर्ने छु।

स्ववियु संरचना हटाउने विषयमा के हुन्छ?

विश्वविद्यालयका विभिन्न निकायमा प्राध्यापक, कर्मचारी र विद्यार्थी प्रतिनिधित्व हुने विषयमा कन्जुस्याइँ हुने छैन। संसारका विश्वविद्यालयका सभामा विद्यार्थीको प्रतिनिधित्व हुन्छ, तर राजनीति क्रीडास्थल भने बनाइँदैन। सबैको उद्देश्य नै त्रिविमा गुणस्तरीय शिक्षा उपलब्ध गराउनु हो। विश्वविद्यालयमा विचारको बहस गर्न पाइन्छ, तर बल प्रयोग गर्न पाइँदैन, द्वन्द्व निम्तिन्छ। विद्यार्थी र प्राध्यापकले त्रिविको चिन्ता लिनुपर्छ। विद्यार्थी संगठन खारेजी वा हटाइनु सुदृढीकरणको अवसर पनि हो। त्रिविलाई विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउने मेरो लक्ष्य छ।

तपाईंले पदबहाली गरिरहँदा पेन्सनको माग गर्दै प्राध्यापक र कर्मचारी ८० दिनदेखि धर्नामा छन्, यसलाई कसरी सम्बोधन गर्नुहुन्छ?

प्राध्यापक र कर्मचारीका समस्यासँग म साक्षात्कार छु। आन्दोलनरत प्राध्यापक र कर्मचारीलाई पनि थाहा छ कि त्रिविको थैली कत्रो छ। त्रिविले पनि आफ्नो संस्थामा जीवन बिताउने प्राध्यापक र कर्मचारीको सामाजिक सुरक्षाबारे सोच्नुपर्छ। यस विषयमा म काम गर्ने छु। सामाजिक जीवन, स्थायित्व र सुरक्षा मेरो पनि जिम्मेवारी हो। सबैलाई मान्य हुने गरी उपकुलपतिको जिम्मेवारी निर्वाह गर्ने मेरो प्रमुख दायित्व हो। त्रिवि बनाउने सबैको जिम्मेवारी हो। यसकारण हामी टिमवर्कबाटै त्रिविलाई उठाउने काममा जुट्ने छौं। चुनौतीलाई अवसरका रूपमा लिएर सबैको सहकार्यमा अगाडि बढ्ने छु। नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बेलौरीका तीन स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान
२०८३ असार २२, सोमबार
अन्ततः आमिर खानले गरे ६१ बर्षमा तेस्रो बिबाह, अघिल्ला दुई बिबाहका बारेमा जान्नुहोस्
२०८३ असार २२, सोमबार
संबिधान संसोधनको नाममा संघीयतामा छेडखानी नगरियोस्ः श्रम संस्कृति पार्टी
२०८३ असार २२, सोमबार
‘हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै
२०८३ असार २२, सोमबार
कैलालीमा हिट एण्ड रन घटनामा भारतीय नागरिक पक्राउ
२०८३ असार २२, सोमबार
नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा
२०८३ असार २२, सोमबार
इङ्ल्यान्डलाई ७ विकेटले हराउँदै अस्ट्रेलियाले जित्यो सातौँ टी-२० विश्वकप
२०८३ असार २२, सोमबार