असोज ३, २०८३ शनिबार September 19, 2026

‘संविधानका विभेदकारी प्रावधान सच्याउन पुनर्लेखनसम्म जानुपर्छ’ : जसपा अध्यक्ष, उपेन्द्र यादव (अन्तवार्ता)

संविधान संशोधन वा पुनर्लेखन नभएसम्म हामी संविधान विरोधी नै रहन्छौँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

असोज ३ गते संविधान दिवस । संविधान दिवसलाई तपाईंहरूले कालो दिनका रूपमा मनाउने उद्घोष गरेको सुनियो, यो किन ?

संविधानलाई २/३ वटा चरणमा हेर्नुपर्छ । एउटा त, संविधान घोषणा हुनुभन्दा अगाडि संविधान सभामा भएको सहमतिहरू, अन्तरिम संविधानमा भएका सबै सहमतिलाई उल्टाएर अन्तै संविधान लेखेर छलफलनै नगराइकन संविधान सभाबाट घोषणा गराउने काम गलत थियो ।

दोस्रो, घोषणा गर्ने तरिका पनि गलत थियो । देशमा ठुलो जनसंख्या समानता, न्याय, अधिकार, पहिचान, प्रतिनिधित्वका कुरा उठाइरहेका थिए । ती माग, मुद्दालाई सम्बोधन गर्नुको सट्टा उल्टै तिनीहरूमाथि नै दमन गरियो, जनतामाथि गोली चलाएर संविधान घोषणा गरियो । यो तरिका गलत थियो ।

यस्तै, काठमाडौँमा २/४ जनाले खुसीयालीमा बत्ती बालेका थिए भने मधेसमा लाखौँ मानिसले कालो दिवस मनाएका थिए । अहिले त उतिबेला बत्ती बाल्नेले पनि संविधानको स्वामित्व लिन छाडे । जसले हिजो त्यसमा रिजर्भेसन राखे, कालो दिवस मनाए, तिनको पनि यो संविधान हुने कि नहुने ? तिनले आफ्नो संविधान भन्न कहिले पाउने ? एउटा गम्भीर प्रश्न र विभाजनको रेखा वैचारिक रूपले त्यहाँ छाडिएको छ । आन्दोलन गर्दा दमन भएपछि कालो दिवस मनाएका हुन् ।

यतिमात्र होइन, संविधान लेख्नेहरूले नै यो संविधान भनेको आधा खाली र आधामा पानी भएको गिलासजस्तो भनेका थिए । संविधान सभामा दर्ता भएका प्रस्तावहरू पनि छलफल भएन । दम्भमा संविधान घोषणा गरियो, जुनकुरा गलत थियो । त्यही भएर विरोध हुँदै आएको हो ।

संविधानमा कमी–कमजोरी छन् । केही विभेदकारी प्रावधान छन् । त्यसलाई संशोधन, परिमार्जन गर्ने र सच्याउने, त्यस्तै परे पुनर्लेखनसम्म जानुपर्छ । सबै समुदायको संविधान नबनाइकन कसरी देश चल्छ ? गम्भीर प्रश्न त्यहाँनिर छ ।

संघीयता छ, प्रदेशहरू अधिकारविहीन भएर लावारिस भएजस्तो छ । अहिले त जसले संविधान जारी गर्‍यो, उसले समेत स्वामित्व लिन नमानेको अवस्था छ । यो अवस्था अन्त्य गरेर संविधानको संशोधन, परिमार्जन र पुनर्लेखन गरेर सबै समुदायको हकअधिकार सुरक्षित गर्ने, सबैलाई न्याय हुने, सबैको प्रतिनिधित्व, सहभागिता हुनेगरी परिमार्जन गर्न जरुरी छ ।

विगतका वर्ष त अहिलेजस्तो संविधान दिवसको विरोध भएको सुनिएको थिएन । यो वर्ष अलिक बढी नै विरोध सुनियो नि ?

संविधान घोषणा भएको दिन नै कालोदिन मनाएको हो । जनताले संविधानलाई स्वीकारेकै छैन । अतिवादी चिन्तनमा जानु हुँदैन भनेर यसैमाथि टेकेर यसैलाई संशोधन गरेर सच्याउनका लागि मात्रै जनताले अवसर दिएको हो । यो वर्षमात्रै विरोध गर्न लागेको हो भन्नु गलत हुन्छ । कुनै वर्ष अलि कम सुनिएको होला, तर गर्न प्रत्येक वर्ष संविधान जारी भएको दिनलाई कालो दिवसको रूपमा मनाउने गरेका छौँ ।

विरोधस्वरुप तपाईंहरूले के–कस्ता कार्यक्रम गर्दै हुनुहुन्छ ?

असोज ३ गते वीरगंजको टाउन हलमा एकीकृत मोर्चाको भव्य कार्यक्रम गर्दैछौँ । त्यसमा संविधान संशोधन, परिमार्जन र पुनर्लेखन अर्थात् संविधानमा रहेका त्रुटि सच्याउनुपर्ने विषयमा व्यापक बहसको कार्यक्रम छ । कार्यक्रममा मोर्चा सम्मिलित कार्यकर्ता र अन्य प्रबुद्ध वर्गको सहभागिता रहनेछ । अन्य त्यस्तो कार्यक्रम केही छैन ।

केही दिन अघि तपाईंहरूको उपस्थितिमा जनकपुरमा भएको मोर्चाको कार्यक्रममा अहिलेको सरकारप्रति निकै आक्रामक रूपमा प्रस्तुत हुनुभयो । यो सरकार गठन भएको ६/ ७ महिना पनि भएको छैन । मोर्चामा आवद्ध अधिकांश शीर्ष नेताले सरकारको विरोध गरेको सुनियो, विरोधका लागि यति हतार किन ?

हामी कुनै आक्रामक छैनौँ । हामी त सरकारलाई सहयोग नै गर्छौैं भनिरहेका छौँ । तर सरकारले पनि जनताको पक्षमा काम गरेर देखाउनुपर्छ कि पर्दैन ? जब जनता नै पीडित हुन्छ, संघीयतालाई बलगर (बलियो) बनाउँछु भन्या हैन ? त्यसको आधारमा भोट लिने अनि अहिले संघीयतालाई नै समाप्त पार्छौं भन्ने ? प्रदेश नै खारेज गर्छौं भन्ने प्रस्ताव गर्ने जस्ता कन्ट्रोभर्सी कुरा गरेर हुँदैन । स्टन्ट गरेर देश बन्दैन । सरकारले चुनाव अघि आफूले गरेको प्रतिबद्धताहरू कार्यान्वयन गरोस् । जनताको आवश्यकता पूरा गरोस् ।

मुलुकको अहिले स्वास्थ्य, शिक्षा क्षेत्र, अर्थतन्त्र तहसनहस भएको छ । यसलाई सुधार्न सरकार अघि बढे हामी साथ दिन्छौँ । सुधार्दैन भने, देश उत्पीडित भयो भने चुप लागेर बस्ने कि प्रशंसा गर्ने ? तसर्थ, सरकारले जनताको हितमा काम गरोस् भन्ने हाम्रो चाहना हो ।

जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै तपाईंले नजिकिँदै गरेको चाडपर्व लगत्तै आन्दोलन गर्ने उद्घोष गर्नुभयो । त्यो आन्दोलन केका लागि ? आन्दोलनको स्वरुप कस्तो हुन्छ ?

पहिलो त सरकारलाई खबरदारी गर्ने हो । जनताको पक्षमा काम भएनन् । संघीय गणतन्त्रलाई संस्थागत गर्ने काम भएन । संवैधानिक निकायहरू शिथिल भएर गए । शक्ति एकठाँउमा केन्द्रित भयो, मन्त्रालयहरू विफल भएजस्तो अवस्थामा छ । हरेक क्षेत्रका जनता माथि कर र दर थोपरिएको छ । यस्ता कुरामा सुधार होस् भनेर हामी सचेतना कार्यक्रमबाट आन्दोलन सुरु गर्छौं ।

तर केही दिनअघि मोर्चाको कार्यक्रममा सडक आन्दोलन नै सुरु गर्ने भन्नुभएको थियो नि ?

तिहार, छठपछि हामी वैचारिक आन्दोलन, सचेतना कार्यक्रमलाई बढी महत्त्वका साथ अघि लान्छौँ । सडक आन्दोलनका कार्यक्रम अहिले तय भएका छैनन् । सरकारलाई घच्घच्याउने काम हो हाम्रो ।

यसअघिको संघीय निर्वाचनमा मधेसवादी दलहरू नराम्ररी पराजित भए । तपाईंको दल लगायत मधेसवादी दल यस्तो नाजुक अवस्थामा पुग्नुलाई विगतमा तपाईंहरू सत्ता स्वार्थमा बढी नै लिप्त भएको परिणामका रूपमा पनि कतिपयले औँल्याउने गरेका छन्, तपाईंलाई कस्तो लाग्छ ?

तपाईंहरूले पनि मिडियाहरूमा पढ्नु–सुन्नु नै भएको होला, यो चुनाव कसले गरायो, कुन शक्ति खेलिरहेको छ, कसले सिंहदरबार जलायो भन्नेबारे समाचार आइरहेकै छन् । अहिले त्योभन्दा बढी भन्ने ठाउँ के छ र ? हामीले हिजो राम्रो पनि गर्‍यौँ, नराम्रो पनि गर्‍यौँ होला, कतिपय काम सही पनि भयो होला, कतै गल्ती पनि भयो होला । तर त्यो कमजोरीमात्रै देखाएर अहिलेको समस्या हल हुन्छ त ? कमजोरी हामी सुधार्छौं, सरकारमा बसेकाहरूले देशको समस्या हल गरुन् त !

प्रदेश र स्थानीय तहको चुनाव आउन अब केही महिनामात्र बाँकी छ । चुनावसम्म आफ्नो हैसियत केही बढाउन सकिन्छ कि, जनताको मत जित्न सकिन्छ कि भनेर तपाईंहरू आन्दोलनमा उत्रिने भनिरहनु भएको त हैन ?

चुनाव भनेको अर्को पाटो हो । त्यो भइरहन्छ । मूलकुरा के हो भने जनताको समस्या हल हुन्छ कि हुँदैन ? व्यवस्था बदलियो तर जनताको अवस्था बदलिएन । जनताको अवस्था बदलिन्छ कि बदलिँदैन ? शिक्षा, स्वास्थ्यमा सुधार हुन्छ कि हुँदैन ? कृषिको आधुनिकीकरण हुन्छ कि हुँदैन ? कृषकले मलखाद पाउँछ कि पाउँदैन ? महँगी, कालाबजारी नियन्त्रण हुन्छ कि हुँदैन ? गरिब जनताले सहुलियतमा भोजन पाउँछ कि पाउँदैन ? उनीहरूको गाँस, बास र कपासको हक राज्यले प्रत्याभूति गराउँछ कि गराउँदैन ? विद्यालयमा विद्यार्थीले राम्रो पढाइ पाउँछ कि पाउँदैन ? अस्पतालमा गरिबले फ्रि उपचार पाउँछ कि पाउँदैन ? मुख्य कुरा त यो हो । चुनाव त आइरहन्छ, गइरहन्छ । एउटाले जित्छ, अर्को हार्छ, यो नियमित प्रक्रिया हो ।

प्रदेश सभा र स्थानीय तहको चुनावलाई लिएर जनता माझ जाँदा यसपटक के कस्ता मुद्दा लिएर जानुहुन्छ ?

जनताकै मुद्दा हाम्रा मुद्दा हुन्छन् । हामीले संघीय गणतन्त्रलाई राजनीतिक रूपले संस्थागत गरौँ, समावेशी लोकतन्त्रलाई संस्थागत गरौँ । कृषिको विकास, उद्योगधन्दाको विकास गरौँ । गरिबी, बेरोजगारी जनतालाई राहत दिउँ, समुदाय, भाषा, जाति संस्कृतिका आधारमा रहेका विभेद र असमानतालाई अन्त्य गरौँ ।

लोकतन्त्रलाई समावेशी लोकतन्त्र बनाउँ र सबैभन्दा ठुलो समस्या भनेको बेरोजगारी, गरिबी तथा शिक्षा–स्वास्थ्यको समस्या हो । यी समस्यालाई हल गर्ने दिशामा राज्यले पहल सुरु गर्नुपर्छ । युवालाई विदेश पठाएरमात्र हुँदैन । यो सरकार आए यता ४ महिनामा ७५ हजार नेपाली विदेशिएको छ । फर्काउने त झन् परको कुरा, पलायन हुने क्रम झनै बढेको छ । रातोपाटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरले दुःख दिएपछि‘तरुल’ खेती
२०८३ असोज ३, शनिबार
‘संविधानका विभेदकारी प्रावधान सच्याउन पुनर्लेखनसम्म जानुपर्छ’ : जसपा अध्यक्ष, उपेन्द्र यादव (अन्तवार्ता)
२०८३ असोज ३, शनिबार
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना
२०८३ असोज ३, शनिबार
संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड
२०८३ असोज ३, शनिबार
कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि वडा तहबाट सुरु
२०८३ असोज ३, शनिबार
पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
२०८३ असोज ३, शनिबार
आज कागे अष्टमी पर्व मनाइँदै
२०८३ असोज ३, शनिबार