श्रावण २३, २०८३ शनिबार August 8, 2026

‘राप्रपाले जनतालाई धोका दियो, अब राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा जय नेपाल पार्टीले रेस्क्यु गर्छ’ : डा. धवलशमशेर राणा (अन्तवार्ता)

‘संवैधानिक राजा, प्रजातन्त्र र हिन्दु अधिराज्य हाम्रो लक्ष्य हो’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

–देशमा यति धेरै पार्टीहरु छन्, राजावादी पनि छन् । तपाईंको ‘जय नेपाल पार्टी’ किन चाहियो ?

प्रष्टै छ नि ! नेपाललाई पुनः हिन्दु अधिराज्य बनाउनुपर्छ भन्ने नेपाली जनताको चाहना हो । यो चाहना कसले यथार्थ बनाइदिने भन्ने हो । अहिलेसम्म राप्रपाले गर्नुपर्ने थियो, राप्रपाले गरेन ।

नेतृत्वको खाने दाँत र देखाउँने दाँत अलग–अलग देखियो । त्यसैले त्यो एजेन्डा जोगाउन र पुनः.स्थापित गर्न जय नेपाल पार्टी बनेको हो ।

–राप्रपामा बसेर सुधार नगर्ने, मैदान छोडेर आरोपित गर्नु उचित हुन्छ ?

यो मेरो आरोप होइन । मसहित आम नेपालीको अनुभूति हो कि राप्रपाको पटक–पटकको नेतृत्वले देखाउने एउटा गर्ने अर्कै गरे ।

नेपाली जनताले त दुई/तीन पटक राप्रपालाई ठाउँमा पुर्‍याएकै हो नि ! भोट दिएर ठाउँमा पुर्‍याएपछि नेपाली जनतालाई धोका दिएर सत्ताको चास्नीमा हराएको कुरा सत्य होइन र ?

–यत्रो समय बिताएको पार्टीबाट अलग हुने निर्णयमा कसरी पुग्नुभयो ?

गएको चुनावमा ९७ प्रतिशत उमेदवारको जमानत जफत भएपछि हाम्रो एजेन्डा नै धरापमा पर्‍यो भन्ने निष्कर्ष निकालियो ।

त्यहाँभित्रको अनियमितता र उकुसमुकस तथा झगडाको कुरा आफ्नै ठाउँमा छ ।

तर, एजेन्डा नै समाप्त हुन लागेपछि सनातन हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको एजेन्डालाई ‘रेस्क्यू’ गर्नका लागि हामी राप्रपाबाट बाहिर निस्किएका हौँ ।

–तपाईंहरुले देखेको अवको व्यवस्था कस्तो हो ?

हामी प्रस्ट छौं । संवैधानिक राजा, नेपालीका छोराछोरीले राजनीति गर्ने हो । राजाले राजनीति गर्ने होइन । राजसंस्था अविभावकीय भूमिका र घरमुली, एउटा अन्तिम रक्षकको रुपमा यो देशलाई चाहिन्छ ।

प्रजातन्त्र चाहिन्छ, राजनीतिक पार्टीहरु चाहिन्छन् । हिन्दु सापेक्ष सनातन हिन्दु अधिराज्य भनेका छौँ ।

–त्यतिमात्रै हुन् एजेन्डा ?

आर्थिक उन्नतिको पनि यो पार्टीको ठूलो योजना छ । यो राष्ट्रलाई एउटा समृद्ध राष्ट्र बनाउन सक्ने स्रोत साधन र भूउपयोग, भू–राजनीतिक र भौगोलिक अवस्थितिमा सुझबुझ पुर्‍याउन सक्ने र राष्ट्रप्रति इमान्दार नेतृत्वसहितको पार्टी आयो भने यो राष्ट्र समृद्ध राष्ट्र बन्न सक्ने सम्भावना छ ।

–यो पार्टीले राजा र राजा मान्ने परम्परागत शक्ति बाहेक जनताको कुन तप्कालाई प्रतिनिधित्व गर्छ ?

सनातन धर्मका पक्षधरहरु, राजसंस्था चाहनेहरु, भ्रष्टाचारविरुद्ध उभिनेहरु, संघीयता र गणतन्त्रका विपक्षीसहित सबै स्वाभिमानी नेपालीहरूलाई ‘जय नेपाल पार्टी’ले प्रतिनिधित्व गर्छ ।

–प्राप्तिको बाटो के हो ?

हामी बन्दुक उठाएर जंगल जाँदैनौं । मारकाट गरेर यसलाई फिर्ता गर्ने पनि होइन । यसका दुईवटा बाटो छन् – एउटा जनताको म्यान्डेट लिएर सदनबाट, अर्को जनताकै सहभागितामा सडकको शान्तिपूर्ण जनआन्दोलनबाट । प्राथमिकता भनेको प्रणालीलाई नै प्रयोग गरेर हाम्रो एजेन्डा, हाम्रो माग र हाम्रो आस्था पुनस्र्थापित गर्ने हो ।

–एकदमै छोटो आन्दोलनले परिवर्तन हुन्छ, त्यसका लागि केही दिन नभएर केही घण्टामै परिवर्तन हुन्छ भन्ने जेनजी आन्दोलनको निकट विगत छ । तपाईंहरु त्यसबाट प्रभावित हुनुहुन्छ ?

हामी नेपालीले नेपालीलाई मार्ने, काट्ने, कुटने, लुट्ने, र देशका आगो लगाउने तथा निजी तथा सरकारी सम्पत्ति ध्वस्त पार्ने पक्षधर होइनौं । अदालत जलाएर आत्मतुष्टि गर्नेहरुसँग हाम्रो तुलना नगरिदिनुहोला ।

–यो पार्टीमा देखिने पात्र तपार्ईं धवलशमशेर र दुर्गा प्रसाईं, यसको ‘व्याकअप’मा पूर्वराजा ज्ञानेन्द्र शाह हुन् ?

तमाम व्यक्तिहरु यसमा जोडिन खोजेका छन् । विभिन्न पार्टीमा काम गरिरहेकाहरुले यो पार्टीमा जोडिने इच्छा राखिरहेका छन् । यो पार्टीले आकार लिँदै गर्दा को–को यसमा जोडिन्छन् भन्ने तपाईंहरुले देखिहाल्नुहुनेछ । यो पार्टी राप्रपा छोडेकाहरुको मात्र बन्नै छैन ।

हामीले सनातन हिन्दु राष्ट्र र संवैधानिक राजासहितको प्रजातन्त्रको मुद्दा अघि सारेको हुँदा राजाबाट हामीप्रति सदभाव रहन्छ नै ।

–दुर्गा प्रसाईंले त राजा बन्न मन भए हामीसँगै सडकमा आउनुपर्छ भन्नुभएको थियो । तपाईंले पूर्वराजाको संलग्नता छैन भन्दा मानिसले पत्याउँछन् ?

कुन समयमा दुर्गाजीले के बोल्नु भयो त्यसको अर्थ हुन्न । अब यो पार्टीमा आइसकेपछि उहाँ यो पार्टीको विचार, सिद्धान्त र उद्देश्य हासिल गर्न लाग्नु हुनेछ । यो पार्टी प्रजातान्त्रिक प्रणालीमा चल्ने पार्टी हो ।

–तर दुर्गा प्रसाईंका बारेको टिप्पणी सुन्नुभएको छ ?

कसले के टिप्पणी गर्छन् त्यतातिर म जान चाहन्न । उहाँले बैंकबाट ऋण लिएर ठूलो हस्पिटल, क्यान्सर हस्पिटल, फाइभस्टार होटल, विद्यालय बनाउनुभएको छ, बनिरहेका पनि छन् ।

उहाँले हरेक तीन महिनामा ऋणको किस्ता बुझाएर सार्वजनिक पनि गरेको तपाईंले पनि देख्नुभएको होला ।

–तपाईं एउटा धर्मको देश बनाएर बाँकी धर्म र सम्प्रदायको सम्मान कसरी गर्नसक्नु हुन्छ ?

यसको उदाहरण मैले दुई दुईपटक निर्वाचित भएर काम गरेको नेपालगञ्ज गएर हेर्न सक्नुहुन्छ । त्यहाँ हरेक जाति जनजातिहरुको साथ थियो, सबै राजनीतिक दलहरुले साथ दिएका थिए ।

म एउटा सानो पार्टीबाट प्रतिनिधित्व गर्दै गर्दा पनि जनताले पत्याएको व्यक्ति हुँ । कुनै भ्रष्टाचार थिएन । अनि सबै धर्मको सम्मान रहेको सनातन हिन्दु राष्ट्र बनाएर विश्वमा एउटा समृद्ध राष्ट्र पनि बनाउन सकिन्छ भन्ने मेरो दृढ विश्वास छ ।

–यो पार्टी सञ्चालनको स्रोत के हो ?

यो एकदमै राम्रो प्रश्न सोध्नुभयो । हरेक राजनीतिक पार्टी सञ्चालनका लागि स्रोत आवश्यक हुन्छ र त्यो पारदर्शी हुनु पर्छ । यो प्रश्न नेपालका हरेक पार्टीलाई सोधिनु पर्छ ।

‘जय नेपाल पार्टी’ संचालनको स्रोत विश्वभरका सनातन हिन्दु राष्ट्र नेपाल देख्न चाहने आस्थावान व्यक्तिहरु हुन् । जसले हाम्रो पार्टीलाई स्वःस्फूर्त रुपमा गर्ने सहयोग हाम्रो पार्टीको मुख्य स्रोत हो । हामी त्यसलाई पारदर्शीतासहित उपयोग गर्नेछौँ ।

पहिले कमल थापासँग रहनुभयो, त्यसपछि राजेन्द्र लिङ्देनसँग । अहिले फेरि आफैँ अघि सर्नुभयो । राजेन्द्र लिङ्देनलाई हटाउन नसकेपछि आफैँ हट्नुभयो भन्छन् नि !

कमल थापालाई स्थापित गरेको सत्य हो । त्यसबेला राप्रपाले राजसंस्थाको मुद्दा छोडेपछि कमल दाइले राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा बोक्नुभयो, उहाँले हिम्मत देखाएपछि राप्रपा नेपालमा उहाँलाई साथ दिएकै हुँ । उहाँलाई शक्तिशाली बनाउन भूमिका खेलेकै हुँ ।

मैले उहाँको महामन्त्री र उपाध्यक्ष भएर काम गरेकै थिएँ । तर, जनताले विश्वास गरेर २५ सिट दिए । उहाँले जनतालाई नै धोका दिनुभयो । उहाँ गणतन्त्र ल्याउन निर्णायक भूमिका खेलेका प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बन्न गएर राप्रपा नेपाललाई ध्वस्त पार्नुभयो ।

त्यसपछि मैले लिङ्देनजीलाई नेतृत्वमा पुर्‍याएको हुँ । तर, पछिल्लो पटक जनताले दिएको विश्वास सत्तामै मिसाएर उहाँले पनि ध्वस्त पार्नुभयो ।

पार्टीमा पटक–पटक महाधिवेशनको मिति तोक्दै सार्ने र टार्ने अभियानबाट आफूलाई जोगाउने खेल खेल्नुभयो । तर, चुनावबाट एजेन्डा नै ध्वस्त हुने अवस्था देखेपछि रेस्क्युका लागि मैले यो बाटो रोजेको हुँ । त्यहाँको आन्तरिक लोकतन्त्रबारे अब म टिप्पणी गर्न चाहन्न । तस्बिर– हरिशजंग क्षेत्री/वार्हखरीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकाका २७ राज्यमा फैलियाे घातक ‘क्यान्डिडा ओरिस’ भाइरस
२०८३ श्रावण २३, शनिबार
‘राप्रपाले जनतालाई धोका दियो, अब राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा जय नेपाल पार्टीले रेस्क्यु गर्छ’ : डा. धवलशमशेर राणा (अन्तवार्ता)
२०८३ श्रावण २३, शनिबार
चलचित्र ‘गोलमाल ५’ मा अक्षयकुमार भिलेनको रूपमा देखिने
२०८३ श्रावण २३, शनिबार
आइपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
२०८३ श्रावण २३, शनिबार
तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त
२०८३ श्रावण २३, शनिबार
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
२०८३ श्रावण २३, शनिबार
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
२०८३ श्रावण २३, शनिबार