कार्तिक २०, २०८३ शुक्रबार November 6, 2026

रुस-युक्रेन युद्ध अन्त्य गर्न ठूलो सम्झौताको सङ्केत

युक्रेनका लागि सुरक्षा प्रत्याभूति र समग्र युरोपेली सुरक्षा संरचनाबारे छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रीभसँग ह्वाइट हाउसमा भेटवार्ता गरेपछि रुस–युक्रेन युद्ध अन्त्य गर्न चाँडै ठूलो सम्झौता हुनसक्ने बताउनुभएको छ । उहाँले प्रस्तावित सम्झौतामा युक्रेनसँगै सम्पूर्ण युरोपसमेत सहभागी हुनसक्ने सङ्केत गर्नुभएको छ ।

बिहीबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले यो सम्झौतामा युक्रेनभन्दा बाहिरका पक्षसमेत संलग्न हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यो एउटा ठूलो सम्झौता हुनेछ र यसमा युक्रेनभन्दा धेरै पक्ष सहभागी हुनेछन् । यसले सम्पूर्ण युरोपलाई समेत समेट्न सक्छ । यो ठूलो र सुन्दर सम्झौता हुनेछ तथा सबै पक्ष उत्साहित हुनेछन् ।”

यद्यपि, उहाँले प्रस्तावित सम्झौताका मुख्य प्रावधान, सहभागी हुने देशहरू तथा रुस र युक्रेनले गर्नुपर्ने सम्भावित सहमतिबारे विस्तृत जानकारी दिनुभएन । बिहीबार वासिङ्टन भ्रमणमा रहेका युक्रेनी प्रतिनिधिहरूसँग आफूले भेट नगरेको पनि उहाँले स्वीकार गर्नुभयो ।

रुसी विशेष दूत दिमित्रीभ र युक्रेनी अधिकारीहरूले रुसी नियन्त्रणमा रहेको युक्रेनी सहर ओलेस्कीमा छ दिनसम्म युद्धविराम कायम गराउन सहयोग पु¥याएको भन्दै प्रथम महिला मेलानिया ट्रम्पले आयोजना गर्नुभएको ह्वाइट हाउसको कार्यक्रममा सहभागिता जनाएका थिए । उक्त युद्धविरामका कारण सयौँ सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सम्भव भएको थियो ।

ट्रम्प र दिमित्रीभबीच भएको छुट्टै भेटवार्ताले युक्रेनको प्रत्यक्ष सहभागिताबिनै अमेरिका र रुसले व्यापक युरोपेली सुरक्षा व्यवस्थाबारे छलफल गरिरहेका छन् कि भन्ने प्रश्न उठाएको द वासिङ्टन पोस्ट ले जनाएको छ ।

यसैबीच, बिहीबार नै राष्ट्रपति ट्रम्पका विशेष दूत तथा ज्वाइँ जारेड कुशनरले ब्रसेल्समा युक्रेनी, नेटो र युरोपेली अधिकारीहरूसँग भेटवार्ता गर्नुभएको थियो । उहाँहरूबीच युक्रेनका लागि सुरक्षा प्रत्याभूति र समग्र युरोपेली सुरक्षा संरचनाबारे छलफल भएको थियो ।

नयाँ कूटनीतिक पहल नोभेम्बर १० र ११ मा संयुक्त अरब इमिरेट्सको अबु धाबीमा अमेरिका मध्यस्थतामा हुने रुस र युक्रेनका प्रतिनिधिबीचको वार्ताको पूर्वसन्ध्यामा अघि बढेको हो ।

कूटनीतिक प्रयास तीव्र भए पनि क्षेत्रीय नियन्त्रण र सुरक्षा प्रत्याभूतिजस्ता प्रमुख विषयमा रुस र युक्रेनबीच मतभेद कायमै छन् । यसैबीच, दुवै पक्षले हवाई तथा ड्रोन आक्रमण जारी राखेकाले युद्ध अन्त्यको सम्भावना अझै अनिश्चित देखिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश
२०८३ कार्तिक २०, शुक्रबार
स्विस राष्ट्रिय परिषद्का अध्यक्ष पेजलाई सभामुख अर्यालको बिदाइ भेट
२०८३ कार्तिक २०, शुक्रबार
शिक्षा नियमावलीको एघारौँ संशोधन प्रस्ताव कानुन मन्त्रालयमा पठाउने निर्णय
२०८३ कार्तिक २०, शुक्रबार
आगामी निर्वाचनसम्म मधेश सरकारमा सहभागी हुँदैनौँ : सीके राउत
२०८३ कार्तिक २०, शुक्रबार
एसिया कप क्रिकेट : नेपाल भारतसँग पराजित
२०८३ कार्तिक २०, शुक्रबार
रुस-युक्रेन युद्ध अन्त्य गर्न ठूलो सम्झौताको सङ्केत
२०८३ कार्तिक २०, शुक्रबार
विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण सङ्कलन सुरु
२०८३ कार्तिक २०, शुक्रबार